किरण खरेल सम्मानित, प्रतिसरा सायमि र बिष्णु राई  पुरस्कृत

इनेप्लिज २०८० चैत १३ गते २१:१५ मा प्रकाशित

२०८० चैत १३, काठमाडौं ।

वासु शशी स्मृति परिषद्ले आज नेपाल पर्यटन बोडको सभाकक्षमा आयोजना गरेको बासु शशीको ८८औं जन्मजयन्ती एवं सम्मान समर्पण कार्यक्रममा सुप्रसिद्ध गीतकार किरण खरेल, साहित्यकारहरु प्रतिसरा सायमि र प्रा.डा. बिष्णु राई सम्मानित र पुरस्कृत भएका छन् ।

परिषद्का अध्यक्ष गणेश रसिकको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पुरस्कृतहरुलाई कार्यक्रमका प्रमुख अतिथि दिव्य शताब्दी पुरुष वरिष्ठ चिकित्सक गौरीशङ्कर लाल दासले पुरस्कार समर्पण गरेका थिए ।

कार्यक्रममा “वासु शशी साहित्य सम्मान २०८०” बाट किरण खरेल सम्मानित भए । यसैगरी “वासु शशी साहित्य पुरस्कार २०८०” बाट प्रतिसरा सायमि र “कृष्ण सरस्वती साहित्य पुरस्कार २०८०” बाट प्रा. डा. बिष्णु राई पुरस्कृत भए ।

कार्यक्रममा परिषद्का सचिव प्रद्युम्न जोशीजीले स्वागत गर्नु भएको उक्त कार्यक्रममा सम्मानित र पुरस्कृत सर्जकहरुको परिचय कवि एवं चलचित्र निर्देशक प्रकाश सायमिले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि दिव्य शताब्दी पुरुष वरिष्ठ चिकित्सक गौरीशङ्कर लाल दास, अध्यक्ष गणेश रसिक, पुरस्कृत साहित्यकारहरु प्रतिसरा सायमि र डा. बिष्णु राईले आआफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा परिषद्का संरक्षक जुलुम बैद्य, कृष्ण – सरस्वती साहित्य पुरस्कारका संरक्षक सरस्वती जोशी, साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बिओटीका अध्यक्ष साहित्यकार पदम विश्वकर्माले अतिथि आसनग्रहण गरेका थिए ।

कार्यक्रममा वरिष्ठ आख्यानकार परशु प्रधानको स्मृतिमा एक मिनेट मौन धारण गरिएको थियो भने वासु शशी, कृष्ण जोशी र परशु प्रधानको योगदानको चर्चा पनि गरिएको थियो ।

प्रतिक्रिया