नर्थ क्यारोलिनामा होली पर्व सम्पन्न

इनेप्लिज २०८० चैत १३ गते १:२४ मा प्रकाशित

नर्थ क्यारोलिना, अमेरिका । फाल्गुण शुक्ल अष्टमीका दिन हर्षोल्लास र उमंगका साथ मनाइने पर्व होली अर्थात् फागु यहाँ पनि मनाइएको छ ।

आइतवार साँझ नेपालीहरुको बाक्लो बस्ती रहेको इलाका मोरिसभिलमा रंग र खुसी साटासाट गरी नेपालीहरुले यो पर्व मनाएका हुन् । नेपलिज सेन्टर फर नर्थ क्यारोलिनाको आयोजनामा सम्पन्न सो कार्यक्रममा बालबालिका, युवा र वृद्ध गरी करिब तीन सय जनाको उपस्थिति रहेको जनाइएको छ ।

आफ्ना सुखदुख साटासाट गरी यो पर्व रमाइलो गरी मनाइयो, नर्थ क्यारोलिनास्थित नेपालीहरुको संस्था एनसीएनसीका अध्यक्ष विकास शाक्यले भन्नुभयो । उहाँका अनुसार, उपस्थित व्यक्तिहरुले भरपूर मनोरञ्जन लिएका थिए । त्यस अवसरमा एनसीएनसीका पदाधिकारीका अतिरिक्त मोरिसभिल टाउनका मेयर टिजे काउली र काउन्सिल मेम्वर स्टिभ रावको पनि उपस्थिति थियो ।

सो अवसरमा नेपालको सुदूर पश्चिमेली भाकामा देउडा नृत्य पनि गरिएको थियो ।

म त प्रत्येक वर्ष जाने गरेको छु, यो पटक पनि निकै रमाइलो भयो होली खेलेर फर्केकी सुस्मा अधिकारीले भन्नुभयो ।

कोभिडको समयमा केही वर्ष बन्द भए पनि हाल आएर अमेरिकाका अधिकाँश स्थानमा होलीपर्व मनाइने गरिएको छ ।

प्रतिक्रिया