२९ मे – राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले संघीय निकायहरूलाई अबदेखि रोजगारी प्रक्रियामा जाति, लिङ्ग, जातीयता वा राष्ट्रिय उत्पत्तिका आधारमा कुनै पनि तथ्यांक प्रयोग नगर्न निर्देशन दिएको छ। यो कदम विविधता, समानता र समावेशी कार्यक्रमहरूको प्रयोग समाप्त गर्न ट्रम्पको पछिल्लो प्रयासको रुपमा हेरिएको छ।
जनवरीमा राष्ट्रपति ट्रम्पद्वारा हस्ताक्षर गरिएको कार्यकारी आदेशलाई स्पष्ट पार्ने उद्देश्यले मानव स्रोत प्रमुखहरूलाई पठाइएको निर्देशन अनुसार अब हरेक रोजगारी वा पदोन्नतिको निर्णय “श्रेष्ठता , योग्यता र जागिरसँग सम्बन्धित मापदण्डहरूमा मात्र आधारित हुनुपर्छ – जाति, लिङ्ग, धर्म वा राष्ट्रिय उत्पत्तिमा होइन।”
कार्यालय व्यवस्थापन तथा कर्मचारी कार्यालय (ओपिएम) को ज्ञापन (मेमो)मा भनिएको छ, “अबदेखि मानव स्रोत प्रमुखहरूले जाति, लिङ्ग, जातीयता वा राष्ट्रिय उत्पत्तिसम्बन्धी तथ्यांक तथा ‘कम प्रतिनिधित्व’ भन्ने अवधारणाको प्रयोग पूर्णतः बन्द गर्नुपर्नेछ।”
रोयटर्सका अनुसार ट्रम्प र उनका समर्थकहरूले यस्ता कार्यक्रमहरूलाई श्रेष्ठता विरोधी र स्वेत पुरुषहरूप्रति विभेदपूर्ण बताउँदै आएका छन्। तर विशेषज्ञहरू भन्छन्, यस्ता तथ्यांकहरू ऐतिहासिक अन्यायको मूल्यांकन र सुधारका लागि आवश्यक उपकरण हुन्।
साथै, सरकारी निकायहरूमा उत्कृष्टता , व्यवहारिक सीप, र अमेरिकी आदर्शप्रति प्रतिबद्धतामा आधारित युवाहरूलाई राज्य महाबिद्यालय, धार्मिक संस्था, व्यवसायिक विद्यालय र घर शिक्षण(होमस्कुलिङ) समूहहरूबाट भर्ती गर्न प्रोत्साहन दिइएको छ।
“अबदेखि प्रारम्भिक करियर अर्थात् जीवन वृति भर्ना देशभक्त अमेरिकीहरूमा केन्द्रित हुनुपर्छ जो संविधान र कानुनी शासनको इमानदारीपूर्वक पालना गर्छन्,” ज्ञापनमा भनिएको छ।
प्रतिक्रिया