अध्यावधिक गरिएको : रुसमा आतंकबादी आक्रमणमा मृत्यु हुनेको संख्या ३ बालबालिका सहित १३७ पुग्यो , ६२ जनाको शव पहिचान

इनेप्लिज २०८० चैत ११ गते १८:०३ मा प्रकाशित

अध्यावधिक गरिएको : रुसमा आतंकबादी आक्रमणमा मृत्यु हुनेको संख्या ३ बालबालिका सहित १३७ पुगेको रुसी अनुसन्धान समितिले जनाएको छ ।

रुसी अनुसन्धान समितिले बिधुतिय प्रणाली( अनलाइन )मा जारी गरेको विज्ञप्तिको अनुसार “आतंकवादी हमला भएको ठाउँमा १३७ जनाको शव फेला परेको छ, जसमध्ये तीन बालबालिका छन्।”

समितिले अहिलेसम्म ६२ शवको पहिचान भइसकेको जनाएको छ । “बाँकी पीडितहरूको लागि उनीहरूको पहिचान स्थापित गर्न आनुवंशिक परीक्षणहरू भइरहेको छ,” विज्ञप्तिमा भनिएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत शुक्रबार मस्को क्षेत्रको क्रोकस नगर सङ्गीत सभकक्ष (सिटी कन्सर्ट हल)मा भएको घातक हमलामा मारिएकाहरुको सम्झनामा आइतबार मैनबत्ती बालेका छन् ।

पुटिनले गोलाबारी पछि गहिरो शोक व्यक्त गर्दै यसलाई “बर्बर आतंकवादी कार्य” को संज्ञा दिए । सिएनएनका अनुसार ३०० भन्दा बढी “विशेषज्ञहरू” र १५४ वटा उपकरणहरू हाल क्रासनोगोर्स्क मस्को क्षेत्रको क्रोकस नगर सङ्गीत सभा स्थलमा रहेका छन् ।

उद्धारकर्ताहरूले ४०० घन मिटरभन्दा बढी संरचना भत्काइसकेको मन्त्रालयले बताएको छ । विभागको सिधा सम्पर्क (हटलाइन)मा १,६०० भन्दा बढी दूरभाष (कल)हरू प्राप्त भइसकेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया