आख्यानकारका रुपमा चर्चित साहित्यकार परशु प्रधानको अवसानप्रति नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल(ईन्जा)ले गहिरो दु:ख व्यक्त गर्दै समबेदना सन्देश प्रकाशित गरेको छ ।
ईन्जाव्दारा प्रकाशित समबेदना सन्देशमा देशले एक अनमोल श्रष्टा गुमाएको उल्लेख गर्दै नेपाली भाषा साहित्यको संरक्षण संबद्र्धन र प्रचार गर्न परशु प्रधानले पुर्याउनु भएको योगदानको विश्वभर रहेको नेपाली समुदायले उच्च सम्मान गरेको उल्लेख गरिएको छ ।
लामो समय निजामति सेवामा कार्यरत साहित्यकार प्रधानले स्थानीय विकास,सूचना तथा सञ्चार र गृह मन्त्रालयमा सेवा गर्नु भएको थियो । कुनै बेला खोटांग जिल्लाको प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो । पछि सूचना विभागको महानिर्देशकसम्मको निजामति जिम्मेवारी निर्वाह गर्नु भएको थियो । साझा प्रकाशन र राष्ट्रिय समाचार समितिमा पनि सेवा गर्नु भएको थियो । साहित्यमा कथा लेखन परशु प्रधानको प्रमुख विधा थियो । उहाँले थुप्रै आख्यान र कविताहरु पनि प्रकाशन गर्नु भएको छ । भनिन्छ साहित्यकार प्रधानका २५० भन्दाबढी कथा एवम वालकथाहरु प्रकाशित छन ।
रत्नश्री स्वर्ण पदकलगायत धेरै पदक तथा पुस्कारव्दारा सम्मानित साहित्यकार प्रधानले परिवारमा धेरै सदस्यहरुलाई भाषा र साहित्यको सेवामा लाग्न प्रेरित गर्नु भएको छ । उहाँको श्रीमति कल्पना प्रधान बाल साहित्यमा स्थापित नाम हो भने छोरा प्रतीक प्रधान नेपाली पत्रकारितामा अग्रपंतिकोे नाम हो । प्रतीक र प्रतिबोध उहाँका दुई छोराहरु र प्रतिमा न्यौपाने एवम प्रतिछाया जोशी छोरीहरु छन । बरिष्ठ साहित्यकार शैलेन्द्र साकार पनि प्रधानका सहोदर भाई हुनुहुन्छ ।
नेपालको भोजपुरमा वि.सं.२०००मा जन्मनुभएका प्रधान आफ्नो १६ बर्षको उमेरदेखि नेपाली भााषा साहित्यको सेवामा समर्पित हुनुन्थ्यो । ८० बर्षको उमेरमा चैत्र ५ गते सोमबार उहाँको देहान्त भएको थियो । आज मंगलबार पशुपति आर्यघाटमा साहित्यकार प्रधानको अन्तिम दाह संस्कार गरिएको छ ।
परिवारले आफ्ना जिम्मेवार अविभावक गुमाएको, साहित्य जगतले एक श्रष्टा गुमाएको देशले एक अमूल्य रत्न गुमाएकोमा गहिरो दुख प्रकट गर्दै ईन्जाले दिबंगत श्रष्टा प्रधानप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ भने शोकाकुल परिवारजनमा हार्दिक समबेदना प्रकट गरेको छ ।
प्रतिक्रिया