इन्द्रवंशा छन्दकाे अभ्यास गर्दै छन्दमा टुक्का कविता लेखन कार्यक्रम सम्पन्न !

इनेप्लिज २०८० चैत ३ गते ९:५० मा प्रकाशित

काठमाडौँ,

टुक्का साहित्य समाजकाे आयाेजनामा २०८० फागुन २६ गते “छन्दमा टुक्का कविता लेखन श्रृङ्खला-९७” सम्पन्न भएकाे छ। ” छन्दमा टुक्का अभ्यासशाला ” मा सञ्चालन भएकाे उक्त कार्यक्रममा छन्द प्रशिक्षक रामशरण न्याैपानेले प्रशिक्षण गर्नु भएकाे थियाे । अभ्यासमा विश्वका विभिन्न स्थानहरूबाट १४ नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण टुक्का साहित्य समाजका अध्यक्ष तथा परिकल्पनाकार ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे ।

विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकासगरी नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ छन्दमा टुक्का कविता लेखन अभ्यास श्रृङ्खला सञ्चालन भइरहेकाे छ । यस श्रृङ्खलाका सहभागीहरूले वार्णिक छन्द अन्तर्गत इन्द्रवंशा छन्दकाे अभ्यास गर्दै टुक्का कविताहरू सिर्जना गरेका थिए।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईँ तथा प्रशिक्षक न्याैपानेले प्रयाेगवादी काव्यिक उपविधा टुक्का कवितामा छन्दकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि छन्दमा काव्य सिर्जना गर्न प्रेरित गर्दै नेपाली भाषा साहित्यकाे जगेर्ना गर्ने प्रयास गरिएकाे जानकारी गराउदै उत्साहपूर्वक सहभागी भई इन्द्रवंशा छन्दमा सुन्दर टुक्का कविताहरू सिर्जना गर्नुभएका सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

~~~~~~~~~~~~~~~~~~
::::: इन्द्रवंशा छन्द :::::
~ गण त त ज र
~ गण सङ्केत : २२१ २२१ १२१ २१२
~ ५ अक्षरमा छोटो विश्राम
~~~~~~~~~~~~~~~~~~

अभ्यासका क्रममा सङ्कलन भएका इन्द्रवंशा छन्दमा सिर्जना गरिएका केही टुक्का कविताहरू
[१]
१.
खाने डकार्ने जति मार्ग रोक्दछन्
भोकाहरूले अब देश बोक्दछन् ।
२.
हाँसो खुसी नै जन देशको गयो
त्यो मन्त्रदाता गुरु अन्तको भयो ।
✍️ रामशरण न्यौपाने
भक्तपुर
[२]
घेरेर चारैतिर अन्धकारले
बेरिन्छ पीडा मुटुमा अपारले ।
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी ।
[३]
१.
हेर्दै सभाको त निसान फेरिँदा 
स्वार्थी भएका जन हेर घेरिँदा ।
२.
लोभी थियौ पो हुन दासमा गयौ
सोच्नै  सकेनौ र त बेसुरा भयौ ।
✍️ बेदु न्यौपाने
काठमाडाैँ
[४]
पीडा सबैमा छ हुँदैन त्यो दफा
कोही कसैको पनि जिन्दगी सफा ।
✍️ आर्त अकुलीन
कैलाली
[५]
बोलेर मात्रै, त कहाँ हुने सब
फेरेर हेरौँ,अनुहार याे अब ।
✍️ दीपा समभाव
काठमाडौँ
[६]
आफन्त छोडेर प्रदेश लागियो
सन्तान भाकेर हुँदैन भागियो ।
✍️ अम्बिका अधिकारी
झापा बिर्तामोड
[७]
१.
माया बसालाैँ हितको छ साथमा
राखेर साक्षी बरु ईश माथमा ।
२.
चाखेर छाेड्ने कुविचार राजमा
लाेभी खराबी नबसेर काजमा ।
✍️ रामप्रसाद पुरी
बादेल, खाेटाङ ।
[८]
१.
देखिन्छ क्या सुन्दरता वनैभरि
हेर्दै  रमेकी  सुन केशरी परी ।
२.
छन् शान्त प्यारा वनकन्दरा अति
यो जिन्दगीको जग थाम मालती ।
✍️ विवश पारदर्शी
झापा
[९]
१.
नेता विना देश हुने भयो चट
जो जो भए सेठ बने नि लम्पट ।
२.
सक्ला युवा रोक्न भनेर देशमा
आशा थियो त्यो सकियो निमेषमा।
✍️ पद्मा काश्यप पाण्डे
मोरङ
[१०]
लेख्दै छु टुक्का कविता म छन्दमा
रम्दै छु साहित्य विधा सुगन्धमा ।
✍️ अमृता रामदाम
चितवन
[११]
१.
खाली कुरामै कति अल्झने यसै
टुङ्गो लगाऔँ खत भेट्दछौँ जसै ।
२.
शङ्का छ तिम्रो मनमा नमेटिने
आगो जलेको भुसमा नदेखिने ।
✍️ वसन्त अनुभव
घोराही, दाङ
[१२]
१.
भ्राताहरूले अब देश पाल्दछन्
स्वार्थी र लुच्चा,सुदखोर फाल्दछन् ।
२.
बाठा हुँ भन्छन्,ठग दुष्ट देशमा
डस्दै रमेका,पशु साँड भेषमा ।
✍️ होम प्रसाद नेउपाने
धरान,सुनसरी।
[१३]
नेपाल जल्दा चुपचाप बस्दछन्
कुर्सी छ प्यारो कति जाल कस्दछन् ।
✍️ सुस्मिता अधिकारी
काठमाडौँ
[१४]
दागी छ ज्यादा किन भिर्नु च्यादर
सौन्दर्य छोपिन्छ सँगी खुला गर ।
✍️ कमला देवकोटा
पाल्पा

::::: जय टुक्का! जय साहित्य!! :::::

प्रतिक्रिया