प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाएका छन्

बेद प्रसाद घिमिरे २०८० फागुन ३० गते १०:३९ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाएका छन्। बुधबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभामा विश्वासको मतका लागि पेश गरेको प्रस्तावको पक्षमा १५७ मत र विपक्षमा ११० मत खसेको हो। प्रतिनिधिसभामा २६८ जना उपस्थित थिए। एक जना सांसदले मत दिन्न भन्ने पक्षमा आफ्नो मत जाहेर गरे। प्रधानमन्त्री प्रचण्डलाई नेकपा एमाले,माओवादी केन्द्र,रास्वपा,जसपा,नेकपा एकीकृत, नागरिक उन्मुक्ति र तीनजना स्वतन्त्र सांसद ( प्रभु साह,अमरेश कुमार सिंह र योगेन्द्र मण्डल) ले विश्वासको मत दिएका हुन्।

कांग्रेस,राप्रपा,लोसपा,जनमत,नेमकिपा र राष्ट्रिय जनमोर्चाले मत दिएनन्। प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक विश्वासको मत पाएका हु्न्। प्रचण्डले यसअघि २६ पुस २०७९ मा पहिलो पटक र ६ चैत्रमा दोस्रो पटक विश्वासको मत लिएका थिए। पहिलो पटक बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले प्रचण्डलाई मत दिएका थिए। दोस्रो पटक बैठकमा उपस्थित २६२ सांसदमध्ये १७२ जनाले मत दिएका थिए। फागुन २१ गते नयाँ सत्ता समीकरण बनेपछि नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन्। सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। गत २०७९ पुस १० गते कांग्रेसको गठबन्धन तोडेर एमाले नेतृत्वको गठबन्धनबाट प्रधानमन्त्री नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले १४ महिनामा तेस्रो पटक विश्वासको मत लिएका हुन्।

प्रतिक्रिया