दुबईमा ११४ औं अन्तर्राष्ट्रिय नारी दिवस मनायो

लालबहादुर ढेंगा, दुबई, युएई २०८० फागुन २८ गते २२:२७ मा प्रकाशित

-लालबहादुर ढेंगा, दुबई, युएई

दुबई । गएको १० मार्च आईबारका दिन दुबईस्थित पिङ्की रेष्टुरेण्टमा नेपाली समाज युएईले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको पावन अवसर पारेर “समाजमा महिलाको भूमिका” भन्ने शिर्षकसंगै एउटा प्रतियोगिता कार्यक्रम विधिवत रुपमा सम्पन्न गरेको छ । युएईमा कार्यरत नेपाली दिदीबहिनीहरुको नेतृत्व, क्षमता र बिकास अभिबृद्धि गर्ने उदेश्यले यो कार्यक्रम गरेको हो ।

उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाली समाज युएईका प्रमुख सल्लाहकार गोविन्द ढकाल रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता सोही समाजका अध्यक्ष बेदप्रसाद अर्यालले गर्नु भएको थियो । अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी र पत्रकारहरु रहेका थिए । महासचिव केदार कुंवरले संचालन गरेको औंपचारिक कार्यक्रममा महिला उपाध्यक्ष मुना सापकोटाको स्वागत मन्तव्य रहेको थियो ।

अन्तर्राष्ट्रिय स्तरमा होस् या राष्ट्रिय स्तरमा हरेक क्षेत्रमा महिलाहरुको भूमिकासंगै योगदान पनि रहेको पाईन्छ । आजको आधुनिक जीवन शैलीमा महिलाहरुलाई कानुनी रुपदेखि अन्य विभिन्न ठांउमा पहिलो प्राथमिकता दिएको देख्न सकिन्छ । नारी नै ममताको सागर हो, घर परिवार चलाउने नै नारी हो भनेर पनि हामीले भन्ने या सुन्ने गर्दछौ । दुबईमा नेपाली समाज युएईले नारी दिवसको अवसरमा प्रशस्त दिदीबहिनीहरुको मनको पीडालाई बाहिर ल्याएर समाजमा कसरी बाच्नु पर्दछ भन्ने जनचेतना फैलाएको प्रत्यक्ष देखियो । खासगरी महिलाहरुको हकमा हरेक महिनामा एक पटक यस्ता खालका जनचेतना मुलक कार्यक्रम गरियो भने भोलीका दिनहरुमा महिलाहरुको समस्या केहि हदसम्म न्यून हुन्थ्यो कि ?
प्रतियोगिता कार्यक्रमलाई कार्यक्रम संयोजक तथा उपाध्यक्ष रामबाबु न्यौपानेले क्रमबद्ध रुपमा संचालन गर्नु भएको थियो । जस्मा १९ जना दिदीबहिनीहरुले भाग लिनु भएको थियो । संयोजकमा निमेष गिरी, सदस्यहरुमा लक्ष्मण खनाल र कमल गिरी रहेको निर्णनायक मण्डलले ४ जनालाई विजयी घोषित गरेको छ । जस्मध्ये प्रथम स्थानलाई गुल्मी सेवा समाज युएईकी उपाध्यक्ष सरस्वती पौडेलले कब्जा गर्नु भएको छ भने दित्रीय स्थानमा सुश्मा सुनार र तृतीय स्थानमा दीपा सुवेदीले हात पारेकी छिन् । त्यसैगरी शान्तवना स्थान भने सानी नानी एन्जल बिष्टले जितेकी छिन् । विजयी हुनेहरुलाई पुरस्कार र प्रमाण–पत्र दिएका छन् । साथै अन्य भाग लिनेहरुलाई पनि प्रमाण–पत्र दिएर हौसला बढाएको छ । कार्यक्रममा चिया नास्ताको पनि राम्रो व्यवस्थापन गरिएको थियो ।

प्रतिक्रिया