राष्ट्रिय सभाको रिक्त अध्यक्ष पदको निर्वाचन भोलि प्रधानमन्त्री प्रचण्डका भाइ नारायण दाहाल र युवराज शर्माको प्रतिस्पर्धा

बेद प्रसाद घिमिरे २०८० फागुन २८ गते ०:२४ मा प्रकाशित

राष्ट्रिय सभाको रिक्त अध्यक्ष पदको निर्वाचन २९ फागुनमा हुँदै छ । आज (सोमबार) उम्मेदवारी दर्ता र भोलि (मंगलबार) निर्वाचन हुने कार्यतालिका सार्वजनिक भइसकेको छ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएपछि अध्यक्षको निर्वाचन हुन लागेको हो ।

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन तोकिएपछि राजनीतिक दलले उम्मेदवार चयन गरेका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी बैठकले नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ हुन् ।

दाहाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका थिए । उनको पदावधि २०८४ सालसम्म छ । यसअघि नै सत्तारूढ दलका बीचमा भएको शक्ति बाँडफाँटमा राष्ट्रिय सभाको अध्यक्ष माओवादी केन्द्रको भागमा परेको थियो । राष्ट्रिय सभा उपाध्यक्ष रहेकी उर्मिला अर्याल अध्यक्ष हुने चर्चा भए पनि उनलाई माओवादीले उम्मेदवार बनाएन । अर्याल माओवादी केन्द्रबाटै उपाध्यक्ष भएकी थिइन् ।

उता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षका लागि युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार बसेको कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । शर्मा लुम्बिनी प्रदेशबाट २०७८ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।

कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको सचिवालयका निजी सचिव केशवराज जोशीले शर्मालाई उम्मेदवार बनाउने निर्णय भएको बताए । यसअघि कृष्णप्रसाद सिटौलालाई अध्यक्षका रूपमा चर्चा गरिएको थियो । तर, सत्ता गठबन्धन छोडेर माओवादी केन्द्र एमालेसँग गठबन्धन गरेपछि शर्मालाई उम्मेदबार बनाउने निर्णय गरेको हो । तत्कालीन सत्तारूढ गठबन्धन भएका बेलामा सिटौलालाई उम्मेदवार बनाउने चर्चा गरिएको थियो ।

आइतबार नै बसेको राष्ट्रिय सभा बैठकमा सभाको अध्यक्षता गरेकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन २९ फागुनमा हुने तोकेकी थिइन् । उनले निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गर्न संघीय संसद्का महासचिवलाई निर्देशनसमेत दिइन् ।

‘राष्ट्रिय सभा नियमावली २०७५ को नियम ७ बमोजिम राष्ट्रिय सभाको अध्यक्ष पदको निर्वाचनका लागि २९ फागुन २०८० मंगलबारको दिन तोकेको छु,’ बैठकमा बोल्दै उपाध्यक्ष अर्यालले भनिन्, ‘साथै नियमावलीबमोजिम संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई अध्यक्ष पदको निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गर्न निर्देशन दिन्छु ।’

यसअघि आइतबार नै बसेको राष्ट्रिय सभाको कार्यव्यवस्था समितिको बैठकले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गरेको राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सार्ने प्रस्ताव अस्वीकृत भएको थियो

प्रतिक्रिया