परशुराम श्रेष्ठ स्मृति अन्तर मा वि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

इनेप्लिज २०८० फागुन १० गते ०:३२ मा प्रकाशित

गोरखा, फागुन ८, २०८०, राष्ट्रिय प्रजातन्त्र दिवस तथा लक्ष्मी मा वि गाइखुरको ७१औं वार्षिक उत्सव तथा अभिभावक दिवसको उपलक्ष्यमा श्री परशुराम-शारदा श्रेष्ठ प्रतिष्ठानको सह आयोजनामा परशुराम श्रेष्ठ स्मृति अन्तर मा वि द्वितीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भयो। पालुङ्गटार नगरपालिकाका १० माध्यमिक विद्यालयहरुको विद्यार्थीहरूले भाग लिएको उक्त प्रतियोगितामा श्री अमर ज्योति जनता मावि लुईंटेल प्रथम, श्री जनता मा वि आँपपिपल द्वितीय, आयोजक लक्ष्मी माविले तृतीय स्थान हासिल गरे भने युनाइटेड बोर्डिङ स्कूलले सान्त्वना पुरस्कार प्राप्त गरे।

हाजिरी जवाफ प्रतियोगिताको पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि पालुङटार नगर पालिकाका उपमेयर बन्दना पाण्डेले स्व.परशुराम श्रेष्ठले सो माध्यमिक विद्यालयको स्थापना कालदेखि अनवरत २४ वर्षसम्म प्रधानाध्यापक भई पुर्याउनु भएको योगदानको चर्चा गर्दै यस्तै समर्पित विद्वानहरूले शिक्षाको ज्योति घर घर पुर्याउनु भएको स्मरण गर्नुभयो। यस्तो ईतिहास बोकेको विद्यालयको भविष्य सुनिश्चित गर्नु आफ्नो, स्थानीय जनता र नगरपालिकाको पनि दायित्व भएको बताउनुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु श्रेष्ठले अग्रजले देखाएको शिक्षाको बाटोमा अनवरत हिड्नु अपरिहार्य रहेको बताउनुभयो भने प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र श्रेष्ठले विभिन्न कालखण्डमा योगदान दिई शिक्षण पेशालाई राष्ट्रकै मर्यादित पेशा बनाउने स्व. श्रेष्ठ जस्तो ब्यक्तित्वलाई समाजले कहिल्यै भुल्न सक्दैन भन्ने उल्लेख गर्नुभयो। कोही कसैले ईतिहास मेटाउने चेष्टा गरे ठूलो भूल हुने समेत बताउनुभयो।

प्रतिष्ठानका उपाध्यक्ष रन्जन श्रेष्ठले बाद्यबादन यन्त्र र वर्षभरिको विद्युत तथा तथा खानेपानी खर्च र सचिव हितकाजी श्रेष्ठले विद्यालयकाे सरसफाईको र सहयोगी कर्मचारीको पोशाक खर्च समेत आ-आफ्नो व्यक्तिगत रूपमा प्रायोजन गर्ने घोषणा गर्नुभयो। सचिव श्रेष्ठले नगरपालिकासँगको सहकार्यमा नगरपालिकाभरिका सम्पूर्ण विद्यालयहरूलाई सहभागिता गराई यस्तै वौद्धिक प्रतियोगिताहरू भविष्यमा पनि अनवरत गराउने प्रतिबद्धता गर्नुभयो।

फाल्गुण ६ गते शुरू भएको तीन दिने वार्षिक उत्सव तथा अभिभावक दिवस फाल्गुण ८ गते एक भव्य समारोहका साथ समापन गरियो। पहिलो दिन विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरिएको थियो भने दोस्रो दिन हाजिरी जवाफ प्रतियोगिता संचालन गरिएको थियो। तेस्रो तथा अन्तिम दिन विद्यालयको वार्षिक उत्सव तथा अभिभावक भेला समारोह सो नगरपालिकाका मेयर विवस चिन्तनको प्रमुख आतिथ्यमा शुभारम्भ भएको थियो।

सो अवसरमा विशेष अतिथि वार्ड नम्बर ९ का वडाध्यक्ष तथा सामाजिक समितिका संयोजक श्री भेजराज पाण्डेले परशुराम श्रेष्ठ स्मृति छात्रवृत्ति कक्षा ११ का सरस्वती लम्साल र विपिन थापा तथा कक्षा १२ का सपना मग्राती र साजन गुरूङलाई हस्तान्तरण गर्नुभयो।

सोही समारोहमा वार्ड नं ६ का वडाध्यक्ष चेतनारायण गुरुङले स्व. परशुराम श्रेष्ठले शिक्षा र स्थानीय क्षेत्र विकासका लागि दिनुभएको योगदानको चर्चा गर्नुभयो। विभिन्न विद्यालयहरुका प्रधानाध्यापकहरू, जनप्रतिनिधिहरू र विभिन्न व्यक्तित्वहरू समेतले स्व. परशुराम श्रेष्ठको योगदानको उच्च मुल्यांकन गर्दै हाल परशुराम-शारदा श्रेष्ठ प्रतिष्ठानले शिक्षा क्षेत्रमा थालेको कार्यको प्रशंसा गरे।

अभिभावक भेला समारोहको सभापतिको आसनबाट राजु श्रेष्ठले गोरखा जिल्लाको मात्रै नभई राष्ट्रीय ईतिहास समेत बोकेको यस विद्यालयको सर्वांगीण विकास नयाँ ढङ्गले अगाडि बढाईने र सो कार्यमा विद्यालयका भूतपूर्व बिद्यार्थीहरु समेतले हातेमालो गर्न थालिसकेको बताउनु भयो। निकट भविष्यमा यस विद्यालयमा सीपमूलक व्यावसायिक प्राविधिक शिक्षा समेत संचालन गर्ने उद्देश्य रहेकाे बताउनुभयो।

विद्यालय प्रधानाध्यापक राजन भट्टराईले वार्षिक प्रतिवेदन पेश गरेका थिए भने सोही दिन विद्यालय हातामा सरस्वतीको मूर्ति र विद्यालय संस्थापक मध्येका स्व. याम प्रसाद कोइरालाको सालिक समेत पारिवारिक उपस्थितिमा अनावरण गरिएको थियो।

प्रतिक्रिया