साहित्यकार विश्वराज अधिकारीलाई पत्र

सञ्जय साह मित्र २०८० फागुन ३ गते १:०७ मा प्रकाशित

श्री विश्वराज अधिकारी,

अभिवादन ।

जीवनको लामो समय सम्पूर्ण ऊर्जासहित साहित्यमा खर्चेका तपाईँ नेपाली र बज्जिका भाषाको साहित्यका एक ऊर्जावान साधक हुनुहुन्छ । जीवनयात्रालाई सार्थकता दिन स्वान्तः सुखायभन्दा आफूलाई राम्रो लागेको अरुलाई फाइदा पुग्ने साहित्यकर्ममा पनि निरन्तर क्रियाशील हुनुहुन्छ । साहित्यका विभिन्न विधामा साहित्य सिर्जना गर्नुका साथै यहाँले साहित्यकारलाई प्रोत्साहन दिने तथा तिनका साहित्यिक यात्रालाई अझ उन्नत बनाउन पनि उत्तिकै क्रियाशील हुनुहुन्छ । तपाईँ आफ्नो ऊर्जाकै कारणले देश तथा विदेशमा साहित्यिक मनहरुसम्म आदरका साथ आसन ग्रहण गर्न सफल हुनुभएको छ । यो निकै ठूलो आर्जन हो र यसलाई जीवनको एउटा सफलताको सार्थकता मान्नु सर्वथा उचित देखिन आउँछ ।

आज यहाँसित दुई चार कुरा सार्वजनिक गर्न चाहन्छु । म हेटौँडामा कुराकानी साप्ताहिकको सम्पादक रहँदा साहित्यकार रमेशमोहन अधिकारी र मेरो समझदारीमा एउटा साहित्यिक स्तम्भ चलेको थियो । यसमा कुनै साहित्यकारका रचना पढेपछि तिनको नाममा चिठी लेखिन्थ्यो, सुझाव दिइन्थ्यो, आलोचना गरिन्थ्यो । पाठकीय दृष्टिकोण राख्दा साहित्यकारहरुबीच सम्बन्ध स्थापित हुन्थ्यो । सम्भव भएसम्म अर्का साहित्यकारले पनि प्रत्युत्तर, धन्यवाद वा रचनागर्भ पनि प्रेषित गर्दथे । नयाँ साहित्यकारलाई यसबाट धेरै जानकारी प्राप्त हुन आउँथ्यो । यसलाई निकै रुचिपूर्वक पढ्ने काम हुन्थ्यो । यसको आफ्नै छाप रहेको थियो । अहिले जब यो पत्र लेख्दैछु तब करिब दुई दशक पहिलेको उक्त स्तम्भको सम्झना भने आइरहेको छ ।

हरेक वर्ष तपाईँका कृतिहरु प्रकाशित भइरहेका छन् । कृतिहरु साहित्यिक तथा समालोचनात्मक, अनुसन्धानपरक, अनुवाद तथा टिप्पणी र गैरसाहित्यिक कृति पनि रहने गरेका छन् । साहित्यिक सिर्जनामा कविता, कथा, लघुकथा, गीत आदि विधा उपविधाका रहने गरेका छन् । यहाँका कविताहरु पृथक शैलीमा हुने गरेका छन् र यहाँ आफ्ना रचनालाई सोझै कहिलेकाहीँ सामाजिक सञ्जालमा सार्वजनिक गर्ने गर्नु भएको पनि छ । निरन्तर फुटकर रचनाहरु विभिन्न पत्रपत्रिका, अनलाइन, आफ्नै ब्लग तथा अन्य माध्यममा आइरहेका छन् । यहाँका रचनामाथि प्रतिक्रिया आउँछन्, सामाजिक सञ्जालको स्टेटसमाथि पनि प्रतिक्रियाहरु आउँछन् । यस्ता प्रतिक्रियाहरुका साथै पुस्तक र रचनाको अन्य किसिमले समीक्षा हुँदा यहाँलाई पनि उत्साह लागेको हुुनुपर्छ, जाँगर बढेको हुनुपर्छ र नयाँ सिर्जनाको लागि प्रोत्साहन गरेको हुनुपर्छ । यद्यपि यहाँ यस्तो उचाईमा पुगिसक्नु भएको छ कि यहाँलाई प्रोत्साहन दिँदा मात्र प्रोत्साहित हुने वा कसैले कुनै प्रतिक्रिया नै दिएनन् भने हतोत्साहित हुने हुनुहुन्न । आफ्नो कर्ममा तन्मयताकासाथ जुटिरहन यहाँलाई कसैले भनिरहनु पर्दैन होला । यहाँको अभ्यन्तरमा विराजमान साहित्यसेवाको भावनाले दिइरहेको ऊर्जाबाट आफैँ आलोकित भई आफैँ ऊर्जावान् बनिरहेको दुनियाँले देखिरहेको छ ।

तपाईँँको एउटा कार्य अत्यन्त स्तुत्य छ । अन्यथा नलिनु होला । तपाईँले स्रष्टा साँझ अमेरिकामार्फत लगभग हरेक हप्ता कुनै एक कृतिको सार्थक परिचर्चा कार्यक्रम जे संचालन गरिरहनु भएको छ, यसले सर्जक, पाठक तथा स्रोता र परिचर्चामा सहभागी सबैलाई विधा, विषय, कृति तथा विधाका तत्व र अन्य क्षेत्रमा पारंगत बनाउने काम गरिरहेको छ । सबैभन्दा बढी लाभान्वित कृतिकार भइरहेका छन् । कृतिकारसँगै नवसर्जक वा जिज्ञासु सर्जकहरुले अत्यन्त फाइदा लिइरहेका छन् । आफूलाई खारिरहेका छन् । यसको अप्रत्यक्ष फाइदा यो पनि देखिएको छ कि धेरै सर्जकलाई अन्य सर्जकहरुसित चिनजान भइरहेको छ । साहित्यिक प्रवृत्ति तथा विधागत पहिचान गराउन पनि यसले सफल भइरहेको छ । तपाईँलाई लाग्ला, मैले सुरुआत गरिसकेको छु यसकारण कर्मकाण्डीय शैलीमा यसलाई पूरा गर्दा पनि केही हुँदैन तर कसैलाई यो कर्मकाण्डीय लागेको छैन । यसमा तपाईँले गरिरहेको परिश्रमले सबैलाई सोच्न नै लगाउँछ, परिश्रम गर्न लगाउँछ । तपाईँको कार्यक्रमले सहभागी सबैलाई केही न केही दिएरै पठाउँछ ।

कार्यक्रमको कति शृङ्खला पुग्यो ? यो तपाईँलाई पनि थाहा नहोला । निष्काम कर्म गर्नेलाई यस्ता गिन्तीका कुरादेखि के मतलब ? कार्यक्रम कहिलेदेखि सुरु भयो ? ठ्याक्कै तिथिमिति पनि तपाईँलाई सम्झना होला नहोला । कार्यक्रम कुन उद्देश्य लिएर पहिलोपटक आरम्भ गरिएको थियो होला ? यस्ता कुरामा तपाईँलाई पनि अहिले मतलब नहोला र जो सहभागी हुन्छ र कार्यक्रमलाई उपलब्धिमूलक भनी ठान्छन्, तिनीहरुलाई पनि नहुन सक्छ । हरेक शृङ्खलालाई विशेष बनाउन तपार्इँले खेलिरहनु भएको भूमिकाले यो स्पष्ट पार्दछ कि यो कार्यक्रम आफैँमा महत्वपूर्ण भइरहेको छ । साँच्चि, तपाईँ त्यस जूम मिटिङमा अहिलेसम्म खर्च गर्नुभएको सबै समयलाई एक ठाउँमा हिसाब गर्नुस् त कति समय बचत गर्नु भएको छ ? एउटा मिटिङका लागि मिटिङ कम्तीमा एक घन्टा अतिरिक्त काम गरिरहनु भएको पनि यसमा थप्नु होला । मलाई लाग्छ, त्यसका लागि तपाईँले खर्च गर्नुभएको समय संग्रहले कैयौँ महाकाव्य लेखिन सक्छ, कैयौँ उपन्यास सिर्जना हुन सक्छ र कैयौँ अनुुसन्धानात्मक समालोचनात्मक ग्रन्थहरु सिर्जना हुन सक्छन् । यसको मूल्य यत्तिमै सीमित छैन । जुन चेतनाको विस्तार भएको छ, उक्त चेतनाले दिने प्रतिफल चाहिँ कुन लिटर वा मिटरमा नापिन्छ ? सिर्जनामा सुधारको दुरीले कुन हिमालय आरोहण गरिरहेको छ भन्ने तथ्यलाई कसै गरी पनि नाप्न सजिलो हुँदैन विश्वराज सर ।

आदरणीय विश्वराज सर, मैले फुर्काउन खोजेको होइन तर तपाईँकै शब्दावलीमा कहिलेकाहीँ सम्बन्धित व्यक्तिको प्रशंसा गर्दा आत्मसन्तोष प्राप्त हुन्छ र अझ अगाडि बढ्ने प्रेणना प्राप्त भइरहन्छ । यो कुरा कहिलेकाहीँ मलाई पनि राम्रो लाग्छ । कहिलेकाहीँ कुन अर्थमा भने तपाईँले भनेजस्तै म तेस्रो विश्वमा छु । मेरो ठाउँ वा जिल्ला चाहिँ देशकै सबैभन्दा बढी निरक्षरता दर भएको जिल्ला हो । यहाँ शिक्षित मानिसको संख्या कति नै होलान् जो इमानदारीपूर्वक समाजको लागि सोच्दछ र यस समाजमा नै बसेर जीवनयापन गर्दछ । साहित्यको क्षेत्रमा मैले भोगेको कुरो यस सन्दर्भका दृष्टान्तार्थ प्रस्तुत गर्दैछु । एक दुई जनालाई प्रोत्साहन गर्न खोजें, निकै राम्रो भनेर सहयोग गरें । नाम कमाउने क्षेत्रमा आफू पछाडि रहेर अगाडि बढाएँ तर के देखियो भने कतिपय ठाउँमा त मेरै आलोचना गर्न थाले । यत्तिसम्म पनि एक जनाले भने कि तिनले नै निर्देशन गरेर म केही लेख्छु अन्यथा मलाई त्यो आउँदैन । उनको नाम आजभोलि कुनै पत्रपत्रिकामा छापिँदैन र साहित्यिक कार्यक्रममा पनि अनुहार देखिँदैन । अर्का एक पात्र छन् जसले नाम पहिलोचोटि मैले नै पत्रिकामा छापेको थिएँ, निरन्तर अगाडि बढाउने काम गरेको थिएँ । उनमा मेरो श्रम, समय, मानसिकता तथा केही हदसम्म अर्थको पनि लगानी थियो । एउटा राम्रो कार्यक्रममा सहभागिताको लागि अवसर दिने कामको बन्दोवस्त उनलाई थाहा नै नदिई मिलाएँ । त्यहाँ गएर उनले मेरो धुवाँधार विरोध गरेको आफैँले सुनें । म त्यहाँ छु भन्ने उनले चालै पाएका थिएनन् । समयको खोलो बगिरहन्छ । अहिले उनलाई चिन्न पनि छाडिसके । यी दुई पात्रको नामोल्लेख गरिनँ तर यहाँले राम्ररी चिनेको तथा अहिले तपाईँले पनि बिर्सिइसकेको हुुनुपर्छ ।

तपाईँले जूम प्रविधिमार्फत नेपाली साहित्यलाई विश्वव्यापी पु¥याउन तथा विश्वका विभिन्न देशमा रहेका सर्जकलाई एउटा मञ्च दिन खेलिरहनु भएको भूमिका तथा यसमार्फत नेपाली साहित्यलाई पुगिरहेको योगदानको स्वतः स्फूर्त खासै चर्चा भइरहेको पाइँदैन । तपाईँले गरिरहेको यस साहित्य सेवाबाट कोही गौरवान्वित पनि भइरहेको यहाँलाई अनुभव हुनुपर्छ । जसको कृतिको परिचर्चा हुन्छ, उनले त सम्मान पाइरहेका हुन्छन्, वास्तवमा यो वास्तविक सम्मान नै हो । कृतिको पठन विद्वतजन्बाट हुन्छ, विश्लेषण विद्वान्हरुले गर्छन् । यसबाट कृतिको कमी र कमजोरी मात्र सार्वजनिक हुँदैन अपितु लेखनको लागि बलियो मार्गनिर्देश पनि हुन्छ । कृतिको चर्चा विश्वको कुना कुनासम्म पुग्दछ । परिचर्चामा सहभागी हुनेले उक्त कृतिबारे आफ्नो स्थायी धारणा बनाउन सफल हुन्छन् । एउटा कार्यक्रमको तयारी, सञ्चालन तथा समयमा समापन गर्न शारीरिक तथा मानसिक रुपले भइरहेको तपाईँको सबै किसिमको व्ययलाई कहाँबाट कसरी पो मूल्यांकन सम्भव होला ?
तपाईँले पछिल्लो समयमा बज्जिका भाषाको कार्यक्रम पनि सुरु गर्नुभएको छ । यसलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाउनु भएको छ । बज्जिका मातृभाषी पनि करोडौँको संख्यामा छन् । भारतमा पनि तपाईँको कार्यक्रमको निकै सम्मान छ बज्जिका साहित्यकारहरुमा । कार्यक्रमको समाचार सयभन्दा बढी शेयर पाउँछन् मिडियाबाट । बज्जिकाको समाचार भएकोले मात्रै शेयर भएको पक्कै होइन, बज्जिकासेवी अधिकारीले सात समुद्रपारिबाट गरेको सेवाको सम्मान भएको हो । बज्जिका भाषाको साहित्यलाई विश्वव्यापी बनाउने अभियानको यो अंगको सार्थकताले तपाईँको सम्मानमा उच्च वृद्धि गरेको छ । तपाईँको कार्यक्रमले बज्जिकाको पनि सम्मान बढेको बज्जिका साहित्यकार तथा भाषासेवीहरुले अनुभूति गरिरहेका छन् । सहभागी हुन नसक्नेले जब समाचारबाट थाहा पाउँछन् तब तिनलाई भएको पछुतो रोक्न नसकेर आफूलाई नै आलोचना गर्न पुगेको सुनिन्छ । बज्जिका भाषामा सुरु गर्नुभएको यस यात्राले तपाईँको जीवनको एउटा उद्देश्यमा अझ नजिकको सहायक बन्ने विश्वास रहेको छ ।

एक अध्यापक र घरमुलीको हैसियतको सम्पूर्ण भूमिका निर्वाह गरेर तपाईँले गरिरहेको जूम प्रविधिको यो साहित्यिक पत्रकारिता कोरोना कालमा निकै मौलाएको थियो तर अहिले भने ती सब खहरेको भेल झैँ सुकेका छन् । निकै कम मात्र चलेका छन् । तपाईँ तिनै कममा पर्नुहुन्छ । तपाईँको प्रगाढ दृढता, अविराम लगनशीलता तथा स्तुत्य कर्मठतालाई उच्च सम्मान गर्दै अहिलेलाई पत्र लामो हुन लागेकोले आफूलाई रोक्न चाहन्छु । तपाईँको जीवन लक्ष्यमाथि पाइला टेक्ने बन्न सकोस् । जय साहित्य ।

तपाईँको कर्मलाई कदर गर्ने

एक आम मनुवा ।

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया