युएसएमएलईको नेपालस्थित केन्द्र खारेज पछि भर्जिनिया संसदका उम्मेदवार एड्रियन पोखरेलद्वारा अमेरिकाको मुख्यालयमा पत्राचार

इनेप्लिज २०८० माघ २७ गते ०:४६ मा प्रकाशित

युनाइटेड स्टेट्स मेडिकल लाइसेन्सिङ एग्जामिनेशन (युएसएमएलई) ले नेपालस्थित आफ्नो परीक्षा केन्द्र खारेज गरे पछि अमेरिकी प्रतिनिधि सभाका लागि १० औं कांग्रेस जिल्ला भर्जिनियाबाट उम्मेदवारी दिएका नेपाली मूलका एड्रियन पोखरेलले अमेरिकाको फिलाडेल्फियाको मुख्यालयमा पत्राचार गरेका छन् ।

उम्मेदवार पोखरेलले फेब्रुअरी ९ शुक्रबारका दिन अमेरिकाको पेन्सेलभेनिया राज्यको फिलाडेल्फिया स्थित सचिवालयमा युएसएमएलईको नेपालस्थित केन्द्र खारेज गरेको बिषयलाई उठान गर्दै पत्र पठाएका छन् ।

उनले म नेपालमा (युएसएमएलई )परीक्षा सञ्चालन गर्ने केन्द्र खारेजीको बिषयमा सम्बोधन गरेका छन् । उक्त पत्रमा उनले खारेजीको कारण नेपाली चिकित्सा पेशेवरहरूको प्रतिष्ठामा नकारात्मक असर पारेको उल्लेख गरेका छन् ।

उनले आफू भर्जिनियाको १० औं कङ्ग्रेसनल जिल्लाबाट डेमोक्र्याटिकको उम्मेदवारको रूपमा मैदानमा उत्रिएको जनाउदै भर्जिनियाको १० औं कङ्ग्रेसनल जिल्लाका नागरिकहरूको ध्यानाकर्षण गर्दै युएसएमएलइले गरेको क्रियाकलाप प्रति दुख व्यक्त गर्दै निन्दा गरेका छन् ।

उनले यी मुद्दाहरूमा छलफल गर्न र सुधारात्मक उपायहरूको रूपरेखा बनाउनको लागि तुरुन्त वार्तालाप गर्न आग्रह समेत गरेका छन् ।

करिव २ हप्ता अगाडी नेपालस्थित युएसएमएलई परीक्षा केन्द्रमा अनियमितता भएको र परीक्षार्थीहरू असामान्य तरिकाले परीक्षामा सहभागी भएको भन्दै केन्द्र नै खारिज गरिएको थियो ।

युएसएमएलईले माघ १७ (जनवरी ३१ ,२०२३ )का दिन बुधवार सूचना जारी गर्दै नेपालस्थित केन्द्रमा सहभागी हुने अधिकांश परीक्षार्थीले राम्रो अङ्क ल्याएर उत्तीर्ण हुने गरेको पछाडीको कारण पत्ता लगाउन अनुसन्धान गरिएको र त्यसमा अनियमितता भएको पाइएको जनाएको थियो ।

युएसएमएलई कार्यक्रमले नेपालसँग सम्बन्धित असामान्य परीक्षा प्रदर्शनको ढाँचा पहिचान गरेको तथा परीक्षाको परिणामहरूको वैधतामाथि नै चुनौती उत्पन्न हुने भएको पाइए पछि केन्द्र नै खारेज गरिएको बताएको थियो ।

नेपालस्थित युएसएमएलईको नेपालस्थित केन्द्र खारेज पछि अमेरिका जान चाहने चिकित्सकहरूलाई ठूलो समस्या भएको छ । करिव ३ दशक देखि संचालन हुदै आएको युएसएमएलई परीक्षा दुई हप्ता अगाडी खारेजीमा परेको हो ।

उम्मेदवार एड्रियन पोखरेलको एक प्रति ईनेप्लिज सँग सुरक्षित रहेको छ ।

प्रतिक्रिया