काठमाडौँ,
टुक्का साहित्य समाजकाे आयाेजनामा २०८० माघ २० गते “छन्दमा टुक्का कविता लेखन श्रृङ्खला-९२” सम्पन्न भएकाे छ। ” छन्दमा टुक्का अभ्यासशाला ” मा सञ्चालन भएकाे उक्त कार्यक्रममा छन्द प्रशिक्षक रामशरण न्याैपानेले प्रशिक्षण गर्नु भएकाे थियाे । अभ्यासमा विश्वका विभिन्न स्थानहरूबाट १२ नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण टुक्का साहित्य समाजका अध्यक्ष तथा परिकल्पनाकार ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे ।
विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकासगरी नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ छन्दमा टुक्का कविता लेखन अभ्यास श्रृङ्खला सञ्चालन भइरहेकाे छ । यस श्रृङ्खलाका सहभागीहरूले वार्णिक छन्द अन्तर्गत श्येनिका छन्दकाे अभ्यास गर्दै टुक्का कविताहरू सिर्जना गरेका थिए।
कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईं तथा प्रशिक्षक न्याैपानेले प्रयाेगवादी काव्यिक विधा टुक्का कवितामा छन्दकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि छन्दमा काव्य सिर्जना गर्न प्रेरित गर्दै नेपाली भाषा साहित्यकाे जगेर्ना गर्ने प्रयास गरिएकाे जानकारी गराउदै उत्साहपूर्वक सहभागी भई श्येनिका छन्दमा सुन्दर टुक्का कविताहरू सिर्जना गर्नुभएका सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।
~~~~~~~~~~~~~~~~~~
::::: श्येनिका छन्द :::::
~ गण : र ज र लघु गुरु
~ गण सङ्केत : २१२ १२१ २१२ १२
~ ५ अक्षरमा विश्राम
~~~~~~~~~~~~~~~~~~
अभ्यासका क्रममा सङ्कलन भएका श्येनिका छन्दमा सिर्जना गरिएका केही टुक्का कविताहरू
[१]
१.
राष्ट्रवादका कुरा ठुला गरे
स्रोत भ्रष्टले घिचे भुँडी भरे ।
२.
वीरको बिँडो नथामिने भयो
देश भासमा थचारिदै गयो । रामशरण न्यौपाने
भक्तपुर
[२]
रङ्गियाै तिमी उडेर प्रेममा
एक्लिएँ यता म छैन छेममा । ताराप्रसाद चापागाईँ
धुनिबेसी
[३]
बुझ्नु काम धेर गर्नु सामना
देशको छ प्रेम साथ कामना । आर्त अकुलीन
कैलाली
[४]
टाउको दुखेर ओखती बुझौँ
जिन्दगी फसेछ केगरी सुझौँ । अम्बिका अधिकारी
झापा बिर्तामोड
[५]
१.
भागदौड यो चलेछ तालमा
राष्ट्रघातको कठोर छालमा।
२.
रक्त क्रान्तिमा मरेर झुम्दछन्
घोर भ्रान्तिमा विदेश घुम्दछन्।
३.
रम्छ देश यो अखण्ड नै सदा
सिर्फ स्वर्थमा नबन्नुहै गदा । विवश पारदर्शी
झापा
[६]
१.
हाँस्छ यो हिमाल साथमा भरे
हातले छुने विचार नै गरे ।
२.
चन्द्रझैँ मुहार टल्किदै गयो
सूर्यकै समान तेजिलो भयो । बेदु न्यौपाने
काठमाडाैँ
[७]
१.
देशमा नयाँ बिहान आउला
कोपिला मुना,सुवास छाउला ।
२.
हातमा कुटो, किसानको हलो
अन्न पातले, हराभरा खलो ।
३.
झुल्किँदै उषा,हिमाल टल्किँने
पोखरी कुवा र ताल झल्किँने । होम प्रसाद नेउपाने
धरान, सुनसरी ।
[८]
१.
देश बन्छ यो समानता गरे
साथ हुन्न जो विभेदमा परे ।
२.
देशभित्र यो मधेस गाँसियोस्
मानचित्रमा गुराँस टाँसियोस् । भगवती दवाडी
दमक, झापा
[९]
१.
छैन गाँस रोज भर्न पेटमा
छन् सबै युवा विदेश गेटमा ।
२.
देश यो विनाश बन्छ खण्डमा
मौनता जहाँ रहन्छ दण्डमा । पद्मा काश्यप पाण्डे
मोरङ
[१०]
१.
खोज शान्तिको हुँदैछ हर्दम
क्रान्ति हाँक्दछौँ भने धमाधम ।
२.
को छ खै यहाँ बसी रमाउने
भाग्दछन् युवा कहाँ समाउने ।
३.
धर्मकर्मको कुरा गयो पर
पाप कर्मले गिजोलिए घर । चूडा निर्भीक
गोरखा, हालः काठमाडाैँ ।
[११]
बैगुनीहरू जताततै भए
धूर्त छन् सबै हराउँदै गए । अमृता रामदाम
चितवन
[१२]
१.
रङ्ग यो नयाँ भरेर आँतमा
खै कता गयाै तिमी त रातमा?
२.
जालमा चरा परे सरी सब
रागमा डुबेँ यहाँ म लाै अब। दीपा समभाव
काठमाडौँ
::::: जय टुक्का! जय साहित्य :::::
प्रतिक्रिया