चिलीको जंगलमा लागेको डढेलोमा परी कम्तीमा ९९ जनाको मृत्यु , आपतकालिन अवस्था घोषणा

इनेप्लिज २०८० माघ २१ गते २२:४८ मा प्रकाशित

चिलीको जंगलमा लागेको डढेलोमा परी कम्तीमा ९९ जनाको मृत्यु भएको छ भने मृतकको संख्या अझै बढ्न सक्ने आशंका रहेको अधिकारीहरुले बताएका छन् । जङ्गलमा भएको आगलागीमा देशभरि नै मृत्यु भएको हो । सिएनएन चिलीले दिएको विवरण अनुसार आइतवार दिउँसो सरकारी कानुनी चिकित्सा सेवालाई उद्धृत गर्दै अधिकारीहरूले मर्नेहरूको संख्या बढ्न सक्ने चेतावनी दिएका छन्।

भिना डेल मार र भल्पराइसो जस्ता तटीय शहरहरू धुवाँले निसासिएको र मध्य क्षेत्रहरूमा बस्ने मानिसहरू आफ्नो घर छोड्न बाध्य भएकाले आपतकालिन अवस्था घोषणा गरिएको छ।

नेशनल डिजास्टर प्रिभेन्सन एण्ड रेस्पोन्स सर्भिस( राष्ट्रिय प्रकोप रोकथाम र प्रतिक्रिया सेवा )का निर्देशक अल्भारो होर्मजाबलका अनुसार देशभर १६१ सक्रिय आगलागीको चपेटामा परेका छन्। अग्निनियन्त्रकहरूले ती १०२ वटा आगोलाई नियन्त्रणमा लिएका छन् । हाल ४० वटासँग संघर्ष गरि रहेका र १९ वटा निगरानीमा छन्।

राष्ट्रपति गेब्रियल बोरिकले आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रभावित क्षेत्रहरूको भ्रमण गरेपछि मृत्यु हुनेको संख्या “उल्लेखनीय रूपमा बढ्ने” र आगलागी पीडितहरूको लागि सोमबार र मंगलबार राष्ट्रिय शोकको दिन घोषणा गरेका छन् ।

अहिलेसम्म ३२ जना व्यक्तिहरू पहिचान गरिएको छ।

भल्पराइसो क्षेत्रका गभर्नर रोड्रिगो मुन्डाकाका अनुसार अधिकारीहरूले आगो नियन्त्रणमा ध्यान केन्द्रित गर्न भिना डेल मार, क्विल्पुए, भिल्ला अलेमाना र लिमाचे सहरहरूमा कर्फ्यू (निषेधाज्ञा )जारी राखेका छन् ।

क्विल्पुका नगर प्रमुख भ्यालेरिया मेलिपिलनले सिएनएन चिलीलाई यस क्षेत्रमा “सम्भवतः सबैभन्दा ठूलो” आगलागी भएको र नगरपालिकाका करिब १,४०० घरमा क्षति पुगेको बताए।

चिलीको राजधानी स्यान्टियागो लगातार तातो, सुख्खा तापक्रम ३३ डिग्री सेल्सियस (९१.४ डिग्री फारेनहाइट) भन्दा माथि वृद्धि भए पछि आगलागी भएको हो।

कम्तिमा एक व्यक्तिलाई जङ्गलमा लागेको आगो सम्बन्धमा हालसम्म पक्राउ गरिएको छ। प्रहरीका अनुसार ती व्यक्ति मध्य चिलीको ताल्का शहरमा रहेको आफ्नो घरमा धातुको टुक्राहरू जोड्ने काम (वेल्डिङ)को काम गरिरहेको बेला दुर्घटनावश आगो नजिकैको घाँसे मैदानमा फैलिएको सिएनएन चिलीले समाचार प्रसारण गरेको जनाएको छ ।

संदिग्धलाई आइतवार तालकामा उपस्थित गराइने मौले अभियोजकको कार्यालयले जनाएको छ।

प्रतिक्रिया