केन्याको राजधानीमा बिहीबार अबेर राति भएको आगलागीमा परी कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य २९८ जना घाइते भएका अधिकारीहरूले जनाएका छन् ।
नैरोबीको एम्बाकासी छिमेकको म्राडी क्षेत्रमा राति ११ः३० बजे ग्यास विष्फोटको कारण आगलागी भएको बताइएको छ । केन्या प्रहरी सेवाको एक विज्ञप्ति अनुसार घाइतेहरूलाई बाहिर निकालेर शहरका विभिन्न अस्पतालहरूमा लगिएको छ।
केन्या रेडक्रस सोसाइटीको स्वामित्वमा रहेको निजी एम्बुलेन्स (रुग्णवाहिनी)सेवा, आकस्मिक सेवाका अनुसार अन्य दर्जनौंले घटनास्थल मै चिकित्सा उपचार पाएका छन् ।
घर र गोदाममा लागेको आगोलाई नियन्त्रणमा लिइएको र घटनास्थल सुरक्षित गरिएको प्रहरीले जनाएको छ ।
केन्या रेडक्रसका अनुसार अहिलेसम्म विस्फोटका कारण आफ्नो परिवारबाट अलग भएका २१ बालबालिकालाई आफ्ना अभिभावकसँग पुनर्मिलन गरिएको छ।
घटनाको अनुसन्धान जारी छ र सरकारले पीडितहरूलाई सहयोग गर्न रगत र वस्तुहरू दान गर्न मानिसहरूलाई आह्वान गरिरहेको एबिसीन्यूजले जनाएको छ ।
प्रतिक्रिया