अमेरिकाको आणविक प्रस्ताव इरानले अस्वीकार गर्ने तयारी, तेहरानको चासो बेवास्ता गरिएको कूटनीतिक आरोप

इनेप्लिज २०८२ जेठ २१ गते ११:५९ मा प्रकाशित

इरानले अमेरिकाको नयाँ आणविक प्रस्ताव अस्वीकार गर्ने तयारी गरेको इरानी वरिष्ठ कूटनीतिज्ञले सोमबार बताएका छन्। उनले यो प्रस्तावलाई “शुरुवातमै अस्वीकार्य” भन्दै तेहरानका हितहरूलाई बेवास्ता गरिएको आरोप लगाए।

“इरानले अमेरिकाको प्रस्तावप्रति नकारात्मक जवाफ तयार गर्दैछ, जुन प्रत्यक्षरूपमा अस्वीकारको संकेत हो,” उक्त कूटनीतिज्ञले रोयटर्सलाई जानकारी दिए।

शनिबार ओमानका विदेशमन्त्री सैयद बद्र अलबुसैदीको छोटो तेहरान भ्रमणका क्रममा अमेरिकी प्रस्ताव इरानलाई बुझाइएको थियो। उनी तेहरान र वासिङ्टनबीच मध्यस्थता गरिरहेका छन्।

इरानी विदेशमन्त्री अब्बास अराक्ची र राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व विशेषदूत स्टिभ विटकोफबीच पाँच चरणको वार्ता भए पनि प्रमुख अवरोधहरू कायमै छन्।

सबैभन्दा ठूला विवादहरूमा अमेरिकाले इरानलाई युरेनियम संवर्द्धन पूर्णरूपमा बन्द गर्न र हालको संवर्द्धित युरेनियम भण्डार पूर्ण रूपमा विदेश पठाउन माग गर्नु हो।

इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि भएको दाबी गर्दै आएको छ । र , पश्चिमी राष्ट्रहरूको आणविक हतियार बनाउने आरोप अस्वीकार गर्दै आएको छ।

“प्रस्तावमा इरानी भूमिमा युरेनियम संवर्द्धनमा अमेरिकी अडान यथावत छ, र प्रतिबन्ध हटाउने विषयमा स्पष्टता छैन,” कूटनीतिज्ञले बताए।

अराक्चीले इरानले चाँडै औपचारिक प्रतिक्रिया दिने बताए।

प्रतिक्रिया