कराँची झ्यालखानाबाट २१६ कैदी भागे, भूकम्पको बहानामा ठूलो भागदौड — एकको मृत्यु, ७८ पुनः पक्राउ

इनेप्लिज २०८२ जेठ २१ गते १६:३८ मा प्रकाशित

कराँची, पाकिस्तान (३ जुन २०२५) — पाकिस्तानको कराँचीस्थित मालिर जेल( झ्यालखाना)मा भूकम्पको कम्पनपछि कैदीहरूलाई अस्थायी रूपमा बाहिर निकाल्दा २१६ जना भागेका छन्। एक कैदीको गोलीहानी मृत्यु भएको छ भने तीन सुरक्षाकर्मी घाइते भएका छन्।

सिन्ध प्रान्तका राजधानी कराँचीस्थित मालिर जेलबाट राति मध्यरात नजिकै सुरु भएको भागदौड भूकम्पको कम्पनपछि भएको थियो। जेल अधिकारीहरूले बताएअनुसार, कैदीहरूलाई आँगनमा लगिएको थियो र त्यहीबेला एक समूहले प्रहरीमाथि आक्रमण गर्दै हतियार खोसेर गोली चलाएका थिए ।

प्रहरी अधिकारी काशिफ अब्बासीका अनुसार, हालसम्म ७८ जना भागेका कैदीहरू पुनः पक्राउ परेका छन्। “भागेका कुनै पनि व्यक्ति आतंकवादी वा आतंक मामिलामा सजाय वा मुद्दामा थिएनन्,” उनले स्पष्ट पारे।

मालिर कारागारका सुपरिवेक्षक अर्शद शाहका अनुसार भागेका कैदीहरू छेउको आवासीय क्षेत्रतर्फ भागे। प्रहरी र स्थानीय बासिन्दाहरूले मस्जिदका ध्वनीप्रशारण( माइक)बाट सूचना प्रवाह गरी भागेका कैदीहरूलाई पक्राउ गर्न सहयोग मागेका थिए।

सिन्धका मुख्यमन्त्री मुराद अली शाहले सॅचारमाध्यम मार्फत भागेका कैदीहरूलाई आत्मसमर्पण गर्न आह्वान गर्दै भने, “अहिलेसम्म उनीहरू साना अपराधमा मात्रै मुछिएका थिए, तर भागेको आरोपमा उनीहरूलाई आतंकवादी आरोप लाग्न सक्छ।”

हाल स्थिति नियन्त्रणमा आइसकेको जनाइएको छ र बाँकी कैदीहरूको खोजी जारी छ।

प्रतिक्रिया