तीन दिनको नरसंहार: राहत लिन गएका दर्जनौं प्यालेस्टिनीहरू गाजामा इजरायली गोलीबारीमा मारिए

इनेप्लिज २०८२ जेठ २१ गते ११:०१ मा प्रकाशित

गाजाको रफाहस्थित राहत वितरण स्थलमा लगातार तेस्रो दिन इजरायली सेनाको गोलीबारीमा परी दर्जनौं प्यालेस्टिनी नागरिकहरू मारिएका छन्। प्यालेस्टिनी स्वास्थ्य मन्त्रालय र नासेर अस्पतालका अनुसार मंगलबार बिहान मात्रै कम्तीमा २७ जनाको ज्यान गएको छ भने कैयौं घाइते भएका छन्।

टेल अल–सुल्तान क्षेत्रमा खाद्य सहायता लिन गएका नागरिकहरूलाई इजरायली सेनाले लक्षित गर्दै गोली चलाएको स्वास्थ्य अधिकारीहरूको बताए । तर इजरायली सेनाले भने केही व्यक्तिहरू निर्धारित बाटो छाडेर अगाडि बढेपछि चेतावनी स्वरूप गोली चलाएको दाबी गरेको छ।

सिएनएनले जनाए अनुसार श्रब्यदृश्य(भिडियो)मा देखिए अनुसार कैयौं घाइतेहरू बिरामी बोक्ने डोली (स्ट्रेचर)मा राखेर नासेर अस्पताल ल्याइएको छ। अस्पतालका निर्देशक डा. मार्वान अल-हाम्सले अस्पताल अत्यधिक भारमा परेको जनाउँदै भने, “गहन सघन कक्ष (आईसीयू)मा कोही मरेपछि मात्र अर्को बिरामी राख्ने ठाउँ हुन्छ।” उनका अनुसार अधिकांश घाइतेहरूको शरीरको माथिल्लो भागमा गोली लागेको छ।

घटनास्थल रफाहको अल-आलाम नजिकै भएको हो, जहाँ अघिल्लो दुई दिन पनि यस्तै गोलीकाण्ड भएको थियो।

गाजा मानवता प्रतिष्ठानले सहायता वितरणस्थल बिहान ५ बजे खोल्ने घोषणा गरेको भए पनि केहीबेरपछि बन्द गरिएको जनाइएको थियो। यद्यपि अन्ततः २१ वटा माल बाहक खाद्यान्न बाँडिएको बताइएको छ।

११ सातादेखिको इजरायली नाकाबन्दीपछि गाजामा भोकमरीको स्थिति गम्भीर बन्दै गएको छ। राहतका लागि पुग्ने नागरिकहरूमाथि गोली चलिनु अन्तर्राष्ट्रिय मानवअधिकारको गम्भीर उल्लङ्घन हो।

प्रतिक्रिया