अमेरिकाद्वारा लाल सागरमा व्यापारिक जहाज डकैती गर्ने यमनमा हुथी विद्रोहीविरुद्ध चौथो पटक हमला

इनेप्लिज २०८० माघ ४ गते १२:२० मा प्रकाशित

अमेरिकाले लाल सागरमा व्यापारिक जहाज डकैती गर्ने यमनमा हुथी विद्रोहीविरुद्ध चौथो पटक हमला गरेको सिएनएनले जनाएको छ ।

तीन अमेरिकी अधिकारीहरू र अमेरिकी केन्द्रीय नियोग (कमाण्ड)का अनुसार अमेरिकाले यमनमा हुथीहरू विरुद्ध अर्को चरणको हमला गरेको छ । अमेरिकाले एक हप्ता भन्दा कम समयमा इरान समर्थित विद्रोही समूहलाई चौथो पटक प्रहार गरेको हो ।

अमेरिकाले अन्तर्राष्ट्रिय ढुवानी समुन्द्री मार्गहरूमा आक्रमण गर्न प्रयोग हुने १४ वटा हुथी क्षेप्यास्त्रहरूलाई निशाना बनाएको सेन्टकम (सिइएनटिओएम) ले बुधबार राति एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

दुई अमेरिकी अधिकारीहरूका अनुसार टमाहक क्षेप्यास्त्रहरू अमेरिकी नौसेनाको जहाजहरू र एक निर्देशित क्षेप्यास्त्र पनडुब्बीबाट प्रक्षेपण गरिएको थियो।

“हामी निर्दोष नाविकहरूको जीवन रक्षा गर्न कारबाही जारी राख्नेछौं र हामी सधैं हाम्रा मानिसहरूको रक्षा गर्नेछौं,” अमेरिकी केन्द्रीय नियोगका सेनापति माइकल “एरिक” कुरिल्लाले भने।

अमेरिकी आक्रमणहरु हुथीहरू विरुद्धको शृङ्खलाबद्ध कार्यहरू हुन् । यी आक्रमण मध्य पूर्वमा बढेको तनाव र गाजामा इजरायल-हमास युद्ध यस क्षेत्रमा फैलिन सक्ने डरको बीचमा आएका छन्। केही घण्टा अघि हुथीहरूले यस हप्ता दोस्रो पटक अमेरिकी स्वामित्वमा रहेको र संचालित जहाजमा आक्रमण गरेका थिए ।

“यी आक्रमणहरू आतंकवाद र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन र जीवन, विश्वव्यापी ब्यापारको लागि ठूलो खतराको स्पष्ट उदाहरण हो र यसले मानवीय सहायताको पुर्याउनेलाई खतरामा पार्छ,” एक अमेरिकी वरिष्ठ प्रशासन अधिकारीले गत मंगलबार पत्रकारहरूलाई भने।

प्रतिक्रिया