“शालिनी” छन्दकाे अभ्यास गर्दै छन्दमा टुक्का कविता लेखन कार्यक्रम सम्पन्न!

इनेप्लिज २०८० पुष २६ गते १०:५९ मा प्रकाशित

काठमाडौँ,
टुक्का साहित्य समाजकाे आयाेजनामा २०८० पुस २१ गते “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-८८” सम्पन्न भएकाे छ। ” छन्दमा टुक्का अभ्यासशाला ” मा सञ्चालन भएकाे उक्त कार्यक्रममा छन्द प्रशिक्षक रामशरण न्याैपानेले प्रशिक्षण गर्नु भएकाे थियाे । अभ्यासमा विश्वका विभिन्न स्थानहरूबाट १६ नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण टुक्का साहित्य समाजका अध्यक्ष तथा परिकल्पनाकार ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे ।

विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकासगरि नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ छन्दमा टुक्का कविता लेखन अभ्यास श्रृङ्खला सञ्चालन भइरहेकाे छ । यस श्रृङ्खलाका सहभागीहरूले वार्णिक छन्द अन्तर्गत शालिनी छन्दकाे अभ्यास गर्दै टुक्का कविताहरू सिर्जना गरेका थिए।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईं तथा प्रशिक्षक न्याैपानेले प्रयाेगवादी नव काव्यिक विधा टुक्का कवितामा छन्दकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि छन्दमा काव्य सिर्जना गर्न प्रेरित गर्दै नेपाली भाषा साहित्यकाे जगेर्ना गर्ने प्रयास गरिएकाे जानकारी गराउदै उत्साहपूर्वक सहभागी भई शालिनी छन्दमा सुन्दर टुक्का कविताहरू सिर्जना गर्नुभएका सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

~~~~~~~~~~~~~~~~~~
::::: शालिनी छन्द :::::
~ गण : म त त गुरु गुरु
~ गण सङ्केत : २२२ २२१ २२१ २२
~ ४ अक्षरमा विश्राम
~~~~~~~~~~~~~~~~~~

अभ्यासका क्रममा सङ्कलन भएका शालिनी छन्दमा सिर्जना गरिएका केही टुक्का कविताहरू
[१]
१.
खानेबेला एउटै हुन्छ लोली
गर्नेबेला काम बस्छन् नबोली।
२.
भोका नाङ्गा धेर छन् देशवासी
खोलाजस्तै बग्छ त्यो अर्थराशि।
✍️ रामशरण न्यौपाने
भक्तपुर
[२]
१.
नेपालीमा चेतना दीप राम्रो
छाए बन्ला देश यो स्वर्ग हाम्रो।
२.
जिम्मेवारी काँधमा धेर भारी
बाँच्नै गाह्राे कर्मलाई सकारी ।
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी
[३]
१.
लाम्चा आँखा चट्ट राम्रो छ बान्की
साह्रै राम्री के छ तिम्रो त खान्की ।
२.
पैसा कौडी छैन खाली छ खल्ती
कर्मै खोटो  हैन मेरो  त गल्ती ।
३.
बाँझो बारी जोत्न गाह्रो छ नानी
छोरो खाडी पुग्छ दुःखै नमानी ।
✍️ गुणनिधि घिमिरे
अमेरिका
[४]
१.
घामै लाग्यो पूर्वमा ज्योति छायो
न्यानो न्यानो याम पो झट्ट आयो ।
२.
अग्ला अग्ला शैल छन् ताज हाम्रो
सेता सेता टाकुरा लाग्छ  राम्रो ।
✍️ डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा. -६, दोलखा ।
[५]
१.
दाना नाना ओतका निम्ति छाना
मान्छेका छन् धेर स्वार्थी निसाना।
२.
धर्ती सारा व्याप्त पैसा छ नारा
पैसाको नै मन्त्र जप्दै छ सारा ।
३.
सेवा, मैत्री स्नेह सद्भाव सारा
बिस्तारै ती लाग्न थाले किनारा ।
✍️ पद्मा काश्यप पाण्डे
मोरङ
[६]
१.
कस्तो राम्रो देश नेपाल मेरो
होचा अग्ला शैलको देख्छु घेरो।
२.
खोला नाला झर्दछन् नागबेली
रम्छन् प्राणी नृत्यको खेल खेली ।
✍️ विवश पारदर्शी
झापा
[७]
सारा नेता खन्चुवा हुन् कि जस्तो
आनीबानी दृश्यमा देख्छु त्यस्तो।
✍️ म्यामराज राई
भाेजपुर
[८]
१.
हुन्छन् रोप्दा अन्नबाली धरामा
बारी बाँझो हुन्छ तिम्रो गरामा ।
२.
प्यारा बच्चा भोकभोकै भएका
बाबा आमा बाहिरै छन् गएका ।
✍️ भगवती दवाडी
दमक, झापा
[९]
१.
झन्डै तिम्रा ती कुरामा हराएँ
आफ्नै ठानी जोडले पो कराएँ ।
२.
नेता हाम्रा छन् असाध्यै सिपालु
कस्छन् घाँटी बन्न खोज्छन् दयालु ।
✍️ वसन्त अनुभव
घोराही, दाङ
[१०]
हेर्दाहेर्दै  लौ बिरानो भएको
आफ्नै मान्छे देख्छु टाढा गएको ।
✍️ शोभा आचार्य गौतम
काठमाडौँ
[११]
सोझा छन् भोको धनी बन्छ बाङ्गो
के भो के भो देश हाम्रो छ नाङ्गो।
✍️ बिके मुखिया
दार्जिलिङ भारत।
[१२]
धेरै प्यारो लाग्छ त्यो सौम्य काया
दायाँ बायाँ देख्छु माया र छाया ।
✍️ आर्त अकुलीन
कैलाली
[१३]

पापी होलान्, दुष्ट होलान् पराई
हिँड्लान् खेद्दै, टट्टु भाँडो गराई ।
✍️ होम प्रसाद नेउपाने
धरान, सुनसरी।
[१४]
ताला चाबी लाउँछौ साथ छैनौँ
पीडा पार्यौ राम प्रेमी कि हैनौँ ?
✍️ मनोहरी पौडेल
गैडाकोट १
[१५]
लामो यात्रा, छैन बस्ने छहारी
फन्को मारी घुम्छ ब्रह्माण्ड भारी।
✍️ सुस्मिता अधिकारी
काठमाडौँ
[१६]
हामी जागे देश बन्नेछ हेर
भागे जाला देशको शान्ति खेर ।
✍️ कमला  देवकोटा
पाल्पा

::::: जय टुक्का! जय साहित्य!! :::::

प्रतिक्रिया