“रथोद्धता” छन्दकाे अभ्यास गर्दै छन्दमा टुक्का कविता लेखन कार्यक्रम सम्पन्न !

इनेप्लिज २०८० पुष १९ गते ११:१७ मा प्रकाशित

काठमाडौँ,
टुक्का साहित्य समाजकाे आयाेजनामा २०८० पुस १४ गते “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-८७” सम्पन्न भएकाे छ। ” छन्दमा टुक्का अभ्यासशाला ” मा सञ्चालन भएकाे उक्त कार्यक्रममा छन्द प्रशिक्षक रामशरण न्याैपानेले प्रशिक्षण गर्नु भएकाे थियाे । अभ्यासमा विश्वका विभिन्न स्थानहरूबाट १४ नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण टुक्का साहित्य समाजका अध्यक्ष तथा परिकल्पनाकार ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे ।

विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकासगरि नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ छन्दमा टुक्का कविता लेखन अभ्यास श्रृङ्खला सञ्चालन भइरहेकाे छ । यस श्रृङ्खलाका सहभागीहरूले वार्णिक छन्द अन्तर्गत रथोद्धता छन्दकाे अभ्यास गर्दै टुक्का कविताहरू सिर्जना गरेका थिए।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईं तथा प्रशिक्षक न्याैपानेले प्रयाेगवादी नव काव्यिक उपविधा टुक्का कवितामा छन्दकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि छन्दमा काव्य सिर्जना गर्न प्रेरित गर्दै नेपाली भाषा साहित्यकाे जगेर्ना गर्ने प्रयास गरिएकाे जानकारी गराउदै उत्साहपूर्वक सहभागी भई रथोद्धता छन्दमा सुन्दर टुक्का कविताहरू सिर्जना गर्नुभएका सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

~~~~~~~~~~~~~~~~~~
::::: रथोद्धता छन्द :::::
~ गण : र न र लघु गुरु
~ गण सङ्केत : २१२ १११ २१२ १२
~ ३ र ७ मा विश्राम
~~~~~~~~~~~~~~~~~~

अभ्यासका क्रममा सङ्कलन भएका रथोद्धता छन्दमा सिर्जना गरिएका केही टुक्का कविताहरू
[१]
१.
देख्छ विश्व कविले घरै बसी
लेख्छ काव्य रसिला घुँडा धसी।
२.
पुत्र छन् अधिकका विदेशमा
भार वृद्ध जनको छ केशमा।

✍️

 रामशरण न्यौपाने
भक्तपुर
[२]
१.
फेर याे मुलुककाे मुखाकृती
नासिदै छ सबकाे कलाकृति ।
२.
त्रस्त भाे हरघडी यही मन
देखिए मतलबी सबै जन ।

✍️

 ताराप्रसाद चापागाईँ
धुनिबेसी
[३]
१.
भ्रष्ट छन् मुलुकमा अचम्मका
खन्चुवा विकल  पेट टम्मका ।
२.
चुस्दछ्न् रगत ती सधैँभरि
आर्तले सहनु पो कसोगरी ?

✍️

 वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
[४]
१.
बन्दुके बल बडो बनीबनी
मारदैछ जनता गनीगनी ।
२.
पड्किंदा पटटटै युवा ढले
बज्रपात हुनगो मरे गले ।

✍️

 बिबश पारदर्शी
झापा
[५]
१.
पीरको समय बाँडने हुने
मृत्युको सहर काटने छुने।
२.
आउँदै सरर साउती गरी
लेखने खरर नोटमा सरी ।

✍️

 अम्बिका अधिकारी
झापा बिर्तामोड
[६]
१.
काम छैन गतिलो, कुरा ठुला
बन्न खोज्छ सुकिलो,झुसे मुला।
२.
चोर हुन् उडुस खाटमा बसी
चुस्दछन् रगत ती कुना पसी।
३.
कर्म गर्न सजिलो,भए उठौँ
ध्यानमा मन गए, सबै जुटौँ।

✍️

 होम प्रसाद नेउपाने
धरान, सुनसरी
[७]
सान्त्वना दिन सके विचारमा
क्रोधको वहन घट्छ द्वारमा ।

✍️

 खग्रास
[८]
आजको समय पूर्वको घडी
ढल्कियो दिन उसै विना कडी।

✍️

 जमुना आचार्य
सिन्धुपाल्चोक
[९]
१.
शस्त्र अस्त्र भय त्रासमा परी
काम माम अनि मिल्छ के गरी ?
२.
छैन रोज थिर कामको जहाँ
द्वन्द्व जीवन र मृत्युको त्यहाँ।

✍️

 पद्मा काश्यप पाण्डे
मोरङ
[१०]
१.
तालको कमल झैँ तिमी सदा
आखिरी किन टिपे यदाकदा ?

✍️

 आर्त अकुलीन
कैलाली
[११]
१.
दीपको समय साँझमा थियो
रातको नियम  बाल्दथेँ दियो ।
२.
आसको मुलुक दासमा परे
खासमा कुशल व्यर्थमा मरे ।

✍️

 भगवती दवाडी
दमक, झापा
[१२]
१.
छन्द यो बुझिलिए रथोद्धता
ज्ञान सिन्धु भन त्यो गयो कता ।

शुद्ध भाव मनको कता गयो
लोकको अब त दुर्दशा भयो ।

✍️

 गुणनिधि घिमिरे
अमेरिका
[१३]
देख्छु मार जनता विकासमा
पुग्नु छैन बिचरा निकासमा ।

✍️

 तारा घिमिरे स्वेच्छा
सङ्खुवासभा, खांदबारी ३
[१४]
राख ध्यान पथमा, सधैँभरि
छोड मोह पदको, उसै गरी।

✍️

 सुस्मिता अधिकारी
काठमाडाैँ

::::: जय टुक्का! जय साहित्य!! :::::

प्रतिक्रिया