जापानमा शक्तिशाली ७.५ को भूकम्प र सुनामीको चेतावनी , कम्तिमा १४ वटा साना पराकम्पन

इनेप्लिज २०८० पुष १६ गते १३:०४ मा प्रकाशित

जापानमा शक्तिशाली ७.५ म्याग्निच्युड (परिमाण) को भूकम्प गएको छ भने सुनामीको चेतावनी दिईएको छ ।
जापानी प्रधानमन्त्री फुमियो किशिदाले पश्चिमी जापानमा सोमबारको ७.५ परिमाण(म्याग्निच्युड)को भूकम्पपछिको क्षतिको आँकलन गर्न अधिकारीहरूले काम गरिरहेको बताएका छन् ।

संयुक्त राज्य अमरिकाको भूगर्भ सर्वेक्षण र जापान मौसम विज्ञान सँस्थाका अनुसार सोमबार दिउँसो पश्चिमी जापानमा ए५ परिमाणको भूकम्पले सुनामीको चेतावनी दिएको छ ।

१० किलोमिटर (६ माइल) गहिराईमा रहेको भूकम्प साँझ ४ बजेर १० मिनेटमा गएको थियो । संयुक्त राज्य अमरिकाको भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समय अनुसार इशिकावा प्रमुख प्रशासकको अनमिजुबाट ४२ किलोमिटर (२६ माइल) उत्तरपूर्वमा भूकम्प गएको हो ।

जापान मौसम विज्ञान सँस्था (एजेन्सी)ले पश्चिमी जापानको तटीय क्षेत्रहरूमा सुनामीको चेतावनी जारी गरेको छ।

संयुक्त राज्य अमरिकाको भूगर्भ सर्वेक्षण (युएसजिएस)का अनुसार ७.५ म्याग्निच्युडको भूकम्प गएको केही मिनेटपछि पश्चिमी जापानमा ६.२ परिमाणको शक्तिशाली पराकम्पन गएको छ ।

६.२ म्याग्निच्युडको पराकम्पन १० किलोमिटर (६ माइल) गहिराईमा थियो र अपरान्ह ४:१८ मा गएको थियो।

जापानको कान्साई इलेक्ट्रिकले सोमबार पश्चिमी जापानमा शक्तिशाली भूकम्प गएको क्षेत्रमा आणविक संयन्त्रहरूमा कुनै असामान्यता नभएको बताएको छ।

शक्तिशाली भूकम्पपछि पश्चिमी जापानमा धेरै पराकम्पन गएको बताइएको छ । जापानमा ७.५ परिमाणको भूकम्पपछि पूर्वी रुसी शहर भ्लादिभोस्तोक, नाखोदका र सखालिन टापुमा सुनामीको खतरा घोषणा गरिएको रुसी सरकारी सञ्चार माध्यम टास ले सोमबार जनाएको छ।

जापानका मुख्य मन्त्रिमन्डल सचिव योशिमासा हयाशीले सोमबार दूरदर्शन (टेलिभिजन)मा सम्बोधन गर्दै सुनामीको चेतावनीमा रहेका क्षेत्रका मानिसहरूलाई उच्च जमिनमा जान सल्लाह दिए।

जापानी सार्वजनिक प्रसारक एनएचकेका अनुसार इशिकावा प्रान्तको वाजिमा शहरले करिब १.२ मिटर (३.९ फिट) को सुनामी छाल आएको विवरण दिएको छ । छालहरू साँझ ४:२१ बजेतिर आएको बताइएको छ। जापानको पश्चिमी तटमा रहेका अन्य क्षेत्रहरूमा तोयामा शहर, काशिवाजाकी, कानाजावा बन्दरगाह, तोबिसिमा टापु र साडो टापु लगायतमा १ मिटरभन्दा कम सुनामीको छाल आएको खबर दिइएको समाचार सिएनएनले जनाएको छ ।

जापानको इशिकावा प्रान्तका ३२,५०० भन्दा बढी घरहरू बिजुलीविहीन भएका छन् । पश्चिमी जापानको तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ र ७.५ परिणामको भूकम्पपछि मानिसहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

भूकम्प गएपछि जापानको शिन्कानसेन बुलेट ट्रेन( सर्वाधिक तीब्र गतिमा दौडने रेलगाडी )का केही सेवाहरू बन्द गरिएका छन् । शक्तिशाली भूकम्प गएपछि आगामी तीन दिनदेखि एक हप्तासम्म शक्तिशाली परकम्पहरू जारी रहन सक्ने चेतावनी दिएका छन्।

मानिसहरूलाई सम्भावित भवनहरू भत्किने र भारी कम्पनहरू देखिएका क्षेत्रमा सम्भावित पहिरोबाट सावधान रहन आग्रह गरिएको सिएनएनले बताएको छ ।

युएसजिएसका अनुसार ७.५ परिमाणको भूकम्प गएको क्षेत्र नजिकै कम्तिमा १४ वटा साना पराकम्पन गएको बताइएको छ ।

जापानको इशिकावा प्रान्तमा रहेको सुजु शहरका अधिकारीहरूले सिएनएनलाई सोमबारको भूकम्पपछि भवनहरू क्षतिग्रस्त भएको र घाइतेहरूको विवरण आएको बताएका छन्।

सुजु प्रहरीले घरमा फसेको धेरै विवरण आई रहेको र प्रहरी र दमकलले अवस्था नाप्ने प्रयास गरिरहेको जनाएको छ ।

केही चिकित्सकहरूले सोमबार भूकम्पबाट घाइते भएका बिरामीहरूको उपचार गर्न नसकेको सिएनएनले जनाएको छ । उनीहरु क्षतिग्रस्त सडकहरूले काममा यात्रा गर्न असमर्थ रहेको इशिकावा प्रान्तको सुजु शहरका स्वास्थ्य अधिकारीहरूले बताए । पश्चिमी जापानका सडकहरूमा ठूला दरारहरू, यातायात सेवाहरू अवरुद्ध र पूर्वाधारमा व्यापक क्षति पुर्‍याएको तस्बिरहरु सामाजिक संजालमा राखिएका छन् ।

प्रतिक्रिया