ब्रह्मपुत्रको विशाल बगरमा मोहन सुवेदीको कविता सङ्कलन “सुगन्धी माटो” को लोकार्पण 

इनेप्लिज २०८० पुष १४ गते १६:२२ मा प्रकाशित

तेजपुर ,असम : ३० डिसेम्बर ,२०२३ सन

आज पुष्पलाल स्मृति अध्ययन गोष्ठी, तेजपुर, असमको एउटा विशेष बैठकमा असमका वरिष्ठ कवि मोहन सुवेदीको कवितासङ्कलन ” सुगन्धी माटो ” पाठकवर्गलाई समर्पित गर्दै लोकार्पण गरिएको छ । ब्रह्मपुत्रको फराकिलो बगरमा, तेजपुरको कलियाभुमुरा पुलको नजिक खुल्ला आकाशमुनि अनुष्ठित बनभोजको आयोजनसितै गोष्ठीको सभामा यस कृतिको लोकार्पण गर्नुहुन्छ वरिष्ठ साहित्यकार तथा गोष्ठीका संस्थापक अध्यक्ष प्रा. जयनारायण लुइँटेलज्युले । ब्रह्मपुत्रको विशाल बगरमा विशेषरुपले आयोजन गरिएको त्यस अनुष्ठानमा गोष्ठीका सबै स्थायी सदस्य – सदस्या साथै उहाँहरूका परिवारका अन्य सदस्यहरूको पनि उपस्थिति थियो।

गोष्ठीका मूल सचिव मुक्ति लुइँटेलज्युको आह्वानमा तथा गोष्ठीका अध्यक्ष मोहन सुवेदीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा कृतिमाथि छोटो समीक्षा गर्नुहुन्छ समालोचक प्रा.कमल सेढाईंज्युले । कविता सङ्ग्रहमा समकालीन विभिन्न विषय र प्रवृत्तिमाथि लेखिएका बाउन्न ओटा कविता सङ्गृहीत छन् । कृतिमाथि आदरणीय श्री लोकनाथ उपाध्याय,नवप्रभा अधिकारी, लावण्य देवी ,कमला देवी, महिम आचार्य आदि साहित्यकारहरूले आ-आफ्नो वक्तव्य राख्नुभयो। सङ्ग्रहित कविताहरूमा समकालीन समाजमा हराउँदै गएको मानवीय मूल्यबोध साथै आर्थ-सामाजिक, सांस्कृतिक र राजनैतिक विकृति र विसङ्गतिको बारेमा सम्प्रेषणीयरुपमा समावेश भएको पाईन्छ। विगत चार दशकदेखि निरन्तर कविता लेख्दै आएका भारतेली नेपाली साहित्यका वरिष्ठ कवि मोहन सुवेदीको यो चौथो काव्यकृति हो। सुवेदी प्रकाशन, लङ्का, असमको भएर पूर्वायन प्रकाशन, गुवाहाटीले प्रकाशित गरेको र आकर्षणीय कलेवरसहित ८० पृष्ठ रहेको यो कृतिको मूल्य २००.०० रूपियाँ राखिएको छ।

प्रतिक्रिया