“उपेन्द्रवज्रा” छन्दकाे अभ्यास गर्दै छन्दमा टुक्का कविता लेखन कार्यक्रम सम्पन्न

इनेप्लिज २०८० पुष ४ गते २२:२६ मा प्रकाशित

काठमाडौँ,


टुक्का साहित्य समाजकाे आयाेजनामा २०८० मङ्सिर २९ गते “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-८५” सम्पन्न भएकाे छ। ” छन्दमा टुक्का अभ्यासशाला ” मा सञ्चालन भएकाे उक्त कार्यक्रममा छन्द प्रशिक्षक रामशरण न्याैपानेले प्रशिक्षण गर्नु भएकाे थियाे । अभ्यासमा विश्वका विभिन्न स्थानहरूबाट १७ नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण टुक्का साहित्य समाजका अध्यक्ष तथा परिकल्पनाकार ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे ।

विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकासगरि नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ छन्दमा टुक्का कविता लेखन अभ्यास श्रृङ्खला सञ्चालन भइरहेकाे छ । यस श्रृङ्खलाका सहभागीहरूले वार्णिक छन्द अन्तर्गत उपेन्द्रवज्रा छन्दकाे अभ्यास गर्दै टुक्का कविताहरू सिर्जना गरेका थिए।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईं तथा प्रशिक्षक न्याैपानेले प्रयाेगवादी नव काव्यिक उपविधा टुक्का कवितामा छन्दकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि छन्दमा काव्य सिर्जना गर्न प्रेरित गर्दै नेपाली भाषा साहित्यकाे जगेर्ना गर्ने प्रयास गरिएकाे जानकारी गराउदै उत्साहपूर्वक सहभागी भई उपेन्द्रवज्रा छन्दमा सुन्दर टुक्का कविताहरू सिर्जना गर्नुभएका सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

~~~~~~~~~~~~~~~~~~
::::: उपेन्द्रवज्रा छन्द :::::
~ गण ज त ज गुरु गुरु
~ गण सङ्केत- १२१ २२१ १२१ २२
~ ५ अक्षरमा विश्राम
~~~~~~~~~~~~~~~~~~

अभ्यासका क्रममा सङ्कलन भएका उपेन्द्रवज्रा छन्दमा सिर्जना गरिएका केही टुक्का कविताहरू
[१]
१.
बढेर जाडो, सजियो कछाड
छ गाउँभित्रै, हिँउको पहाड।
२.
लुके लुकाए, अति केसलाई
ठुलाबडामा, छ अहो बधाई!।
✍️ रामशरण न्यौपाने
भक्तपुर
[२]
१.
भएछ माया विष झैँ कसाेरी?
स्वभाव जागेर अहो! अघाेरी ।
२.
जगाउँथ्यो अग्नि कहाँ कुनामा?
ठिही सहेको युगको सुदामा।
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी
[३]

विशेषता हो हुनुपर्छ जाडो
सकिन्छ यी पौष र माघ चाँडो ।

घना भएका सब पात झर्छन्
वसन्त लाग्दा तब मख्ख पर्छन् ।

चिसो र गर्मी ऋतु मास बित्छन्
गईन्छ आफैँ यमराज जित्छन् ।
✍️ चूडा निर्भीक
लिगलिग सिम्पानी
पालुङ्गटार २ गोरखा ।
[४]
१.
नसोध व्यर्थै घर गाउँ मेरो
छ स्वर्ग भन्दा पनि दिव्य घेरो।
२.
अकास देखी तल शैल फेरो
हिमाल अग्लो दरबार मेरो ।
✍️ विवश पारदर्शी
झापा
[५]
१.
उँचाे छ टोपी शिर माथि हाम्रो
निशान हाम्रो बुझ माथ राम्रो।
२.
फर्केर   आफूतिर  हेर भाइ
बुझिन्छ आफ्नो सब मार्गलाई ।
✍️ गुणनिधि घिमिरे
अमेरिका
[६]
१.
प्रसन्न तिम्रो जब रूप देख्छु
उठेर बस्दै लघुकाव्य लेख्छु ।
२.
बढेर जाडो तन यो सुसेल्छ,
छिरेर भित्रै मुटु सङ्ग खेल्छ ।
३.
सहन्न जाडो तन अग्नि खोज्छ
भएर   छाडा  रजशुक्र  रोज्छ ।
✍️ वसन्त अनुभव
घोराही, दाङ
[७]
१.
किसान रोप्छन्,तब फल्छ धान
हुँदैन  भोको , जब पुग्छ खान।
२.
बनेर सानो,गर काम राम्रो
मिलेर बस्ने,परिवार हाम्रो।
✍️ होम प्रसाद नेउपाने
धरान, सुनसरी ।
[८]
१.
नबोक पीडा अनि बोझ भारी
अजेय योद्धा उठ जोस पारी ।
३.
अजस्र धारा गर प्रेम गाढा
वियोगले मानिस हुन्छ टाढा ।
३.
गरेर माया अब देशलाई
खुसी समेटौँ सब दाजुभाइ ।
✍️ पद्मा काश्यप पाण्डे
मोरङ
[९]
बनेछ आहा  घर बार हाम्रो
मिलाइ राखे कति खुल्छ राम्रो ।
✍️ शोभा आचार्य गौतम
काठमाडौँ
[१०]
१.
चलाख बन्दै भज ईश भाेला
तरिन्छ राम्रो भव लाख खाेला ।
२.
हतास आफैं नहुने त जानी
तलास  धेरै गर  बन्न ज्ञानी ।
✍️ रामप्रसाद पुरी
बादेल, खाेटाङ
[११]
१.
कठोर हुन्छन् किन राष्ट्र नेता
जुटेर सोधौं  हिँड लौ सुचेता ।
२.
जिमी  लछार्छन्  निठुरी रमाई
किसान रुन्छन् नि निया नपाई ।
✍️ बाबुराम गौतम
गुल्मी
[१२]
१.
गएछ हेर्दै पर त्यो पँधेरो
भएछ एकै छिनमा अँधेरो।
२.
बुझेन रत्ती मनसाय हेर
उसै भयो जीवनमा अबेर।
✍️ बेदु न्यौपाने
काठमाडाैँ
[१३]
नरोक व्यर्थै अब पाउ मेरो
म डुल्छु धर्ती सब मार्छु फेरो।
✍️ जमुना आचार्य
सिन्धुपाल्चोक
[१४]
सुनेर भाषा,ममता र आशा
दुवै पलायो मनभित्र खासा।
✍️ मन्दिरा सेढाई
मलेखु, धादिङ
[१५]
विशाल डोरी,किन छुट्छ माया
परेर कालो, दिल भित्र छाया ।
✍️ धनुष न्यौपाने
गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला
[१६]
हरेक बेला  गर बात नानी
बनेर साहै रसिलाे र ज्ञानी ।
✍️ कृष्ण धामी
बझाङ
[१७]
मिलेर बस्ने छ स्वभाव हाम्रो
मनै छ ठुलो र मिजास राम्रो।
✍️ अच्युत घिमिरे
सर्पाङ, भुटान🇧🇹

::::: जय टुक्का! जय साहित्य!! :::::

प्रतिक्रिया