बजगाईंको “कागजको मन्त्री”को परिचर्चा सम्पन्न

इनेप्लिज २०८० मंसिर २५ गते ०:०९ मा प्रकाशित

१० डिसेम्बर, लन्डन

बेलायत निवासी डायोस्पोरिक साहित्यकार कृष्ण बजगाईंको सोह«ो कृति तथा पाँचौं लघुकथासङ्ग्रह ‘कागजको मन्त्री’को परिचर्चा भर्चुअल कार्यक्रम गरी सम्पन्न भएको छ ।

स्रष्टा साँझ अमेरिकाले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न समालोचकहरुले कृतिका बारेमा चर्चा गर्नु भएको थियो । समालोचक डा. शेखरकुमार श्रेष्ठले बजगाईंका कथामा राजनीतिक र सामाजिक विषयका आएका कुरा बताउँदै लघुकथा मार्फत विकृति र विसंगती माथि प्रहार गरिएको छ भन्नु भयो ।

लघुकथामा पहिलो पिएच्डी गर्नु हुने डा. पुष्करराज भट्टले बजगाईंका लघुकथा वर्णनात्मक र संवादात्मक दुबै शैली रहेको बताउँदै पात्र र परिवेशलाई विम्बका माध्यमले प्रस्तुत गर्नु भएको कुरा बताउनु भयो ।

लघुकथामा पिएचडी गर्नु हुने अर्का वक्ता डा. हरिप्रसाद भण्डारीले बजगाईंका लघुकथाको प्रारम्भ र अन्त्य एकदम प्रभावकारी रहेको बताउनु भयो । उहाँले बजगाईंका लघुकथामा प्रवासी नेपालीले भोग्नु परेको पीडा पनि आएको छ भन्नु भयो ।

गोरखापत्रका पूर्व सम्पादक तथा लघुकथा समाजका सस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले लघुकथालाई स्थापित गराउन अभियन्ताका रुपमा कृष्ण बजगाईं सक्रिय रहेको कुरा बताउनु भयो । उहाँले कागजको मन्त्री लघुकथासङ्ग्रहका लघुकथा पाठकको भित्री मनसम्म प्रवेश गरेर स्थायी प्रभाव छाड्न सक्षम रहेको बताउनु भयो ।

सहप्राध्यापक डा विदुर चालिसेले बजगाईका लघुकथाका ट्विस्टिङ आकर्षक रहेको बताउँदै उहाँले कथामा नयाँ शब्दको व्युत्पत्ति गराएर कथामा रोचकता ल्याउने उहाँको विशेषता रहेको बताउनु भयो ।

प्रा.डा. कपिल लामिछाने बजगाईंका लघुकथा लेखनमा वैचारिकरुपमा प्रष्ट रहेको बताउनु भयो । आग्रहबाट टाढा रहेका कथा लेख्ने बजगाईका कथाले समाजमा विग्रह गराउँदैनन्, उहाँ यर्थाथको नजिक रहेर कथा लेख्नु हुन्छ, प्रा.डा. लामिछानेले भन्नु भयो ।

सहप्राध्यापक खेमराज पोखरेलले बजगाईंको लघुकथा नेपाल सरकारले पाठ्यक्रममा राखेर पढाई भइरहेकाले त्यसबाट उहाँको लघुकथाका स्तरको बारेमा अनुमान गर्न सकिने बताउनु भयो । बजगाईंका लघुकथा लेखन अरुको भन्दा फरक प्रकृतिको रहेको छ भन्नु भयो । पाठकहरुले उहाँका लघुकथामा अझ बढि डायोस्पोरिक कथाहरुको अपेक्षा गरेको बताउनु भयो ।

कार्यक्रमका सभापति प्रा.डा. भूपप्रसाद धमलाले कागजको मन्त्री लघुकथासङ्ग्रहका लघुकथा प्रभावकारी रहेको बताउँदै त्यसको अझ गहनरुपमा समालोचना हुनु पर्ने बताउनु भयो ।

साहित्यकार तथा प्राध्यापक विश्वराज अधिकारीले संचालन गर्नु भएको उक्त कार्यक्रममा साहित्यकार राजेन्द्र अर्याल र इन्दिरा देवकोटाले पनि बोल्नु भएको थियो ।

नेपाली साहित्य लेखन र सम्पादनमा सक्रिय कृष्ण बजगाईंल विगत सोह« वर्षदेखि प्रकाशित हुँदै आएको समकालीन साहित्य डटकम नामक साहित्यिक वेब पत्रिका र विगत छ वर्षदेखि नेपाली भाषा साहित्यको अनुसन्धानमूलक जर्नल ‘प्रवासन’को प्रधान सम्पादक हुनुहुन्छ । साहित्यकार बजगाईंका एक लघुकथा नेपाल सरकारको कक्षा १२ को अनिवार्य नेपालीको पाठ्यक्रममा र अर्को लघुकथा म्यान्मार(बर्मा)को नेपाली विद्यालयको कक्षा ९ मा पढाई हुन्छन् । यसै गरि सरकारी र नीजि विद्यालयको विभिन्न तहमा उहाँका २१ वटा बालकथा पाठ्यक्रममा समावेश भएर पढाई भइरहेका छन् भने उहाँका ४ वटा नियात्रा नेपालका ४ वटा विश्वविद्यालयको स्नातक तहमा पढाई हुन्छन् ।

प्रतिक्रिया