कविता संग्रह ‘वधु मञ्जरी’ विमोचन

इनेप्लिज २०८० मंसिर २१ गते २:३९ मा प्रकाशित

कवि देवीप्रसाद मिश्रको कविता संग्रह ‘वधु मञ्जरी’ विमोचन भएको छ । भक्तपुर बुढ्यौली साहित्य समाजले एक कार्यक्रमको आयोजना गरी कवि मिश्रको कविता संग्रह ‘वधु मञ्जरी’ विमोचन गरेको हो । १२ जना कवि एवम् साहित्यकारहरूले कविता संग्रह विमोचन गरेका थिए ।

विमोचन कार्यक्रममा सहभागीहरूले ‘वधु मञ्जरी’ खण्डकाव्य बुहारीको केन्द्रीयतामा आधारित रहेको बताउँदै समाज रूपमान्तरणमा कला र साहित्यको महत्वपूर्ण भूमिका रहने भन्दै कविता संग्रहले आजको समाजको यथार्थ चित्रण गरेको दाबी गरे ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार मुकुन्द शर्मा चालिसेले आदिकवि भानुभक्त आचार्यले दुईसय वर्षअघि वधू शिक्षा लेखेर त्यस समयको सामाजिक परिवेशमा बुहारीले राख्नुपर्ने सजगता र गर्नुपर्ने कर्तव्य सिकाएकमा अहिले समय, समाज धेरी परिवर्तन भइसकेको बताए ।


‘वधु मञ्जरी’ खण्डकाव्यले आदिकविको समय भन्दा दुईसय वर्ष पछाडिको आजको समाजको चित्रण गरेको बताउँदै उनले भने, “अहिले युग फेरिएको छ । हाम्रा पारिवारिक सोचाई भिन्न हुँदै गएका छन् । कविवरले वधू
मञ्जरीलाई नयाँ आलोकमा उतार्नु भएको छ ।’

कार्यक्रमामा छन्द कविताका अभियन्ता एवम् समिक्षक प्रा. डा. देवी नेपालले कृतिमा उल्लेख भएका दुईसय चौरासी श्लोकमा सबैभन्दा बढी सार्दुल विक्रिडीत छन्दको प्रयोग भएको बताउँदै उक्त कविताहरूमा बुहारीलाई उपदेश मात्र नभएर कविको बुढ्यौली समेत प्रवेश भएको बताए ।

उनले भने, “खण्डकाव्य उपदेशक मात्र नभएर जीवनबोध गराउने सन्दर्भले समेत भरिएको छ । जीवनलाई हेर्ने सन्दर्भमा अन्त्यन्तै सुन्दर पक्षहरु समेटिएका छन् ।”

‘ऋषितुल्य मानिसले जीवनको उपदेशमा शिक्षालाई बढी महत्व दिने’ सन्दर्भ उल्लेख गर्दै नेपालले ‘जीवन बोध गरेको मानिसले चै जीवन र समाजको यथार्थ बोध गराउने उनको भनाई छ ।

कार्यक्रममा एजिङ नेपालका अध्यक्ष एवम् ब्यङ्ग कवि कृष्णमुरारी गौतम (चट्याङ्ग मास्टर), चन्द्रयुग महाकाव्यका रचनाकार कवि एवं साहित्यकार, कवि चन्द्रप्रसाद न्योपाने, साहित्यकार एवं कवि भक्तबहादुर नेपाली, हास्यकलाकार मनोज गजुरेल, समीक्षक अरुण बहादुर खत्री ‘नदी’ कवि एवम् आख्यानकार माधव बिडारी लगायतले कवि देवीप्रसाद मिश्रलाई कृति प्रकाशन गरेकोमा बधाई दिएका थिए ।

ओरेन्टल पब्लिकेसनका संचालक हरि गौतमको सभापतित्वमा सम्पन्न भएको विमोचन कार्यक्रममा वरिष्ठ साहित्यकार मुकुन्द शर्मा चालिसे, छन्द अभियन्ता एवं समीक्षक प्रा.डा. देवी नेपाल, भक्तपुर बुढ्यौली साहित्य समाजका अध्यक्ष कविराज घिमिरे, समाजका उपाध्यक्ष दीनानाथ पोख्रेल, प्रा.डा. मदन बहादुर सिंह, लेखक एवम् साहित्य सितल गिरी, कवि लुमणिप्रसाद खनाल, उपन्यासकार माया शर्मा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम जीवनाथ अधिकारीले सञ्चालनमा गरेका थिए ।

प्रतिक्रिया