“द्रुता” छन्दकाे अभ्यास गर्दै छन्दमा टुक्का कविता लेखन कार्यक्रम सम्पन्न!

इनेप्लिज २०८० मंसिर २० गते २३:१६ मा प्रकाशित

काठमाडौँ,

टुक्का साहित्य समाजकाे आयाेजनामा २०८० मङ्सिर १६ गते “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-८३” सम्पन्न भएकाे छ। ” छन्दमा टुक्का अभ्यासशाला ” मा सञ्चालन भएकाे उक्त कार्यक्रममा छन्द प्रशिक्षक रामशरण न्याैपानेले प्रशिक्षण गर्नु भएकाे थियाे । अभ्यासमा विश्वका विभिन्न स्थानहरूबाट १५ नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण टुक्का साहित्य समाजका अध्यक्ष तथा परिकल्पनाकार ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे ।

विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकासगरि नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ छन्दमा टुक्का कविता लेखन अभ्यास श्रृङ्खला सञ्चालन भइरहेकाे छ । यस श्रृङ्खलाका सहभागीहरूले वार्णिक छन्द अन्तर्गत द्रुता छन्दमा पुन:अभ्यास गर्दै टुक्का कविताहरू सिर्जना गरेका थिए।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईं तथा प्रशिक्षक न्याैपानेले प्रयाेगवादी नव काव्यिक उपविधा टुक्का कवितामा छन्दकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि छन्दमा काव्य सिर्जना गर्न प्रेरित गर्दै नेपाली भाषा साहित्यकाे जगेर्ना गर्ने प्रयास गरिएकाे जानकारी गराउदै उत्साहपूर्वक सहभागी भई द्रुता छन्दमा सुन्दर टुक्का कविताहरू सिर्जना गर्नुभएका सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

~~~~~~~~~~~~~~~~
::::: द्रुता छन्द :::::
~ गण : र य ज गुरु
~ गण सङ्केत : २१२ १२२ १२१ २
~ ५ अक्षरमा विश्राम
~~~~~~~~~~~~~~~~

अभ्यासका क्रममा सङ्कलन भएका द्रुता छन्दमा सिर्जना गरिएका केही टुक्का कविताहरू
[१]
१.
भ्रष्टले चुसे, देश व्यापक
बन्दछन् सबै, लोक दर्शक।
२.
प्रेममा ठुला, घात देखिए
ती वियोगका, काव्य लेखिए।

✍️

 रामशरण न्यौपाने
भक्तपुर
[२]
देखियाे सबै जाल फैलने
हाे कि खै कसाे प्रेम मैलने ।

✍️

 ताराप्रसाद चापागाईँ
धुनिबेसी
[३]
चोर बस्दछन् साधु भेषमा
यो कला नयाँ हैन देशमा।

✍️

 म्यामराज राई
भोजपुर
[४]
१.
दुःख दिन्छरे दुष्ट आउँदै
छुद्र चालले बात लाउँदै !
२.
घातकी बनी  डस्छ बेसरी
देश मासदै खान्छ के गरी ?

✍️

 विवश पारदर्शी
झापा
[५]
१.
साथमै थियो ठुस्स ठुस्कियो
लात्तले दियो दाँत खुस्कियो ।
२.
मस्त खानको बात गर्दथ्यो
छट्टु खन्चुवा पात्र पर्दथ्यो ।

✍️

 गुणनिधि घिमिरे
अमेरिका
[६]
१.
काम क्रोधले, खन्छ खाडल
छुद्र शब्दले झर्छ झन् तल ।
२.
आज के दिने,भोलि के लिने
सोच गर्नु है, प्रेम गाँसिने।

✍️

 होम प्रसाद नेउपाने
धरान, सुनसरी ।
[७]
१.
घात छन् बढी प्रेम शब्दमा
थप्छ घ्यू अझै दाह दग्धमा ।
२.
चोर छन् सबै भ्रष्ट चित्रका
श्वेत  देखिने  दुष्ट भित्रका ।

✍️

 वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
[८]
हुर्कँदा कुसंस्कारका मुना
बन्छ देश नङ्ग्याउने टुना।

✍️

 पद्मा काश्यप पाण्डे
मोरङ
[९]
आज हेर है, भूतको सरी
भोलिको  बिया , सारथी गरी ।

✍️

 धनुष न्यौपाने
गुठीचौर गाउँपालिका ०४ बिगारे
जुम्ला
[१०]
आलसी पना त्याग हे युवा
दुष्टको खुसी पारि द्यौ भुवा ।

✍️

 बाबुराम गौतम
गुल्मी
[११]
१.
ज्ञानका कुरा ले यहाँ गुन
एकता सबैमा हुँदा सुन ।
२.
पाप कर्मले देश मासियो
दुष्ट ता यहाँ हेर झाँगियो ।

✍️

 बेदु न्यौपाने
काठमाडौँ
[१२]
छत्र ओड्दथे खेतमा पनि
घाम तातिने  गर्छ है भनी ।

✍️

 दुर्गा प्रसाद सिग्देल
बिर्तामाेड
[१३]
१.
धानको भकारी छ पालमा
पस्कने र खाने छ गालमा ।
२.
साथको भरोसा न चालमा
चर्चितै भिरेको त छालमा ।

✍️

 जमुना आचार्य
सिन्धुपाल्चाेक
[१४]
भर्दछौ भकारी किसानले
दिन्छ त्यो खुसी,सान धानले।

✍️

 शोभा आचार्य गौतम
काठमाडौँ
[१५]
भ्रष्टले चुसे, देश बेसरी
दर्द लोकको हर्नु के गरी?

✍️

 गम्भीर दुवाडी
गजुरी धादिङ्ग

::::: जय टुक्का! जय साहित्य !! :::::

प्रतिक्रिया