सञ्जय साह मित्रको ‘बरहथवा परिचय र महानन्द झा’ कृति लोकार्पित

इनेप्लिज २०८० मंसिर १७ गते १७:१३ मा प्रकाशित

रौतहट

रौतहटमा बसेर भाषा र साहित्यका साथै अनुसन्धानमा सक्रिय रहेका सञ्जय साह मित्रको अठारौँ कृतिको रुपमा ‘बरहथवा परिचय र महानन्द झा’ सार्वजनिक भएको छ । सर्लाहीको बरहथवामा आयोजित एक समारोहका बिच पूर्व रक्षामन्त्री तथा साँसद हरि उप्रेतीका साथै बज्जिका भाषा विकास परिषद् नेपालका अध्यक्ष शिवचन्द्र साह, बज्जिका साहित्यकार बिन्दा साहनी, बरहथवाको विकासमा अद्वितीय भूमिका खेलेका ज्येष्ठ नागरिक महानन्द झा, पुराना स्वास्थ्यकर्मी मदन झा, पूर्व प्रमुख जिल्ला अधिकारी तथा जिशिअ राम बिलास राय, राजेश कपाडिया, ठागा ठाकुर, बुधन दास, काशी घिमिरे, तीर्थराज घिमिरे, राम लोहित सिंह, पूर्व वडाध्यक्ष सञ्जय गुप्तासहित विभिन्न वडाध्यक्षहरुले संयुक्त रुपमा लोकार्पण गरेका हुन् ।
बरहथवाका पुराना स्वास्थ्यकर्मी मदन झाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व रक्षामन्त्री माननीय हरि उप्रेतीले ‘बरहथवा परिचय र महानन्द झा’ का सोधार्थी सञ्जय साह मित्रलाई दोसल्ला ओढाएर फूलको माला लगाई सम्मानपत्रले सम्मानित गरेका छन् । साथै लेखक मित्रलाई प्रमुख अतिथि उप्रेतीले दश हजार एक सय रुपैयाले पुरस्कृतसमेत गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै माननीय हरि उप्रेतीले आर्थिक रुपले केही कमजोर भए पनि नेपाल संस्कृतिमा सम्पन्न रहेको बताएका छन् । हाम्रा ऋषि मुनिहरु पुगेको ठाउँमा अहिले आएर बल्ल विज्ञान पुगिरहेको बताउँदै उप्रेतीले हाम्रै देशमा सबै सांस्कृतिक सम्पदा रहेकाले अरुको संस्कार र संस्कृतिलाई भित्र्याउनु गलत रहेको टिप्पणी गरेका छन् । भौगोलिक, भाषिक तथा सांस्कृतिक विविधता भएको देशको रुपमा नेपाल आदिकालदेखि संस्कृतिमा सम्पन्न रहेको स्पष्ट पारेका छन् ।

आफू बरहथवामा नै जन्मेको भए पनि बरहथवाको इतिहासको बारेमा अब थाहा पाउने बताउँदै उप्रेतीले कृतिकार मित्रलाई सम्मानित गर्दा आफूलाई गर्व अनुभूति भएको बताएका छन् ।

कार्यक्रममा तीर्थराज घिमिरे, रामलोभित सिंह, डा. सियाराम महतो कुशवाहा, राजेशप्रसाद गुप्ता लगातले मन्तव्य व्यक्त गर्दै बरहथवाको विकासमा महानन्द झाको भूमिका अत्यत्त विशिष्ट रहेको बताउँदै कृतिको प्रकाशन गरेर अनुसन्धानकर्मी सञ्जय साह मित्रले बरहथवाप्रति गुन लगाएको बताएका छन् ।

कार्यक्रममा कृतिकार मित्रले बरहथवाको सामान्य इतिहास आएको र अझ खोजअनुसन्धान जारी रहेको बताउँदै कृति अध्ययन गरेर सुझाव दिनको लागि आग्रह गरेका छन् । बरहथवाको विकासले आफूलाई तानेको र खोजतर्फ केन्द्रित गरेको बताउँदै लेखक मित्रले कृतिलाई प्रकाशन गरेर बजारमा ल्याइदिने आकृति क्रियसन हेटौँडा र सञ्चालक राम अविकासलाई धन्यवाद दिएका छन् । मित्रका यसअघि रौतहट परिचय, नेपालमा बज्जिका भाषा, बज्जिका व्याकरण, छठ पबनी ः उद्भव र विस्तार, बज्जिका भाषाको इतिहास, बज्जिका र मिडिया अनुसन्धानमूलक कृति प्रकाशित छन् । यसै गरी नेपाली र बज्जिका भाषामा विभिन्न विधाका पुस्तक प्रकाशित हुनुका साथै मित्रका बज्जिका भाषाका पाठ्यपुस्तक सर्लाही र रौतहटमा पठनपाठन भइरहेका छन् । मित्र दर्जनौँ पुरस्कार र सम्मानका साथै उपाधिबाट पनि सम्मानित रहेका छन् ।

बरहथवास्थित सियान पार्टी प्यालेसमा आयोजित कार्यक्रममा बरहथवाका पुराना जानकारहरुको सहभागिता रहेको थियो । अमेरिकामा रहेका इन्जिनियर डा. विजय झाले संयोजन र स्वागत गरेको कार्यक्रमको संचालन बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष साहित्यकार किशुनदयाल श्रीकृष्णले गरेका थिए ।

प्रतिक्रिया