युवराज भण्डारीको ‘भावनाको तस्वीर’ बजारमा

इनेप्लिज २०८० कार्तिक २१ गते १:४० मा प्रकाशित

कवि तथा गजलकार युवराज भण्डारीको तेस्रो कृति गजलसङ्ग्रह ‘भावनाको तस्वीर’ बजारमा आएको छ । लेखनमा लामो समयदेखि सक्रिय भण्डारीको यो पहिलो गजलसङ्ग्रह हो । यस सङ्ग्रहमा उनका १०१ गजल सङ्गृहीत छन् । पेशाले इन्जिनियर भण्डारीका अन्य प्रकाशित कृतिहरू ‘अर्को कर्नाली (कवितासङ्ग्रह, २०८०) र ‘नारीको आवाज’ (तिजका गीतसङ्ग्र्रह, २०४७) हुन् ।

‘भावनाको तस्वीर’ गजलसङ्ग्रहमा अग्रज गजलकार बूँद राना र अनेसास केन्द्रीय कार्यसमिति अध्यक्ष गोवर्द्धन पूजाले भूमिका लेखेका छन् ।

भूमिकामा गजलकार बूँद राना लेख्छन् –
“गजलकार भण्डारीका गजलमा विचारको सुन्दर सम्प्रेषण छ भने गजल संरचना र यसका अनुशासनलाई उनले इमानदारीपूर्वक पालना गरेका छन् । उनको कथन मौलिक र सूत्रात्मक छ, अनि कल्पनाशीलता प्रखर छ ।”

“भावनाको तस्वीर’ यस्तै-यस्तै विषयमा लेखिएका गजलहरूको बनेको छ । यो तस्वीर केवल गजलकार भण्डारीको मात्र भावनाको तस्वीर नबनेर आम पाठकको मनको तस्वीर बनेको छ । समसामयिक विषय बस्तुलाई आफ्नो सिर्जनाको रङले रङ्ग्याएर समयानुकूल आकर्षणको जलप लगाउन सक्नु गजलकारको खुबी हो ।” भूमिकाको क्रममा कवि तथा गजलकार गोवर्द्धन पूजाले लेखेका छन् ।

प्रवासमा रहेर पनि नेपाली साहित्य सिर्जनामा अनवरत रूपले सक्रिय डुम्रिबेसी, तनहुँ निवासी युवराज भण्डारी हाल क्यानडामा छन् । साहित्यका विविध विधामा कलम चलाउँदै आएका भण्डारीका विभिन्न पत्रपत्रिकामा दर्जनौँ फुटकर रचना प्रकाशित हुँदै आइरहेका छन् । यसका साथै उनका आधा दर्जन गीत पनि रेकर्ड भइसकेका छन् ।

गजलकार भण्डारीको ‘भावनाको तस्वीर’ भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । यस कृतिको मूल्य रु. २५० रहेको छ ।

प्रतिक्रिया