काठमाडौँ,
टुक्का साहित्य समाजकाे आयाेजनामा २०८० कार्तिक ११ गते “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-७९” सम्पन्न भएकाे छ।
“छन्दमा टुक्का अभ्यासशाला ” मा सञ्चालन भएकाे उक्त कार्यक्रममा छन्द प्रशिक्षक रामशरण न्याैपानेले प्रशिक्षण गर्नु भएकाे थियाे । अभ्यासमा १६ सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण टुक्का साहित्य समाजका अध्यक्ष तथा परिकल्पनाकार ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे ।
विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकासगरि नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ छन्दमा टुक्का कविता लेखन अभ्यास श्रृङ्खला सञ्चालन भइरहेकाे छ । यस श्रृङ्खलाका सहभागीहरूले वार्णिक छन्द अन्तर्गत चम्पकमाला (रुक्मवती) छन्दमा अभ्यास गर्दै टुक्का कविताहरू सिर्जना गरेका थिए।
कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईं तथा प्रशिक्षक न्याैपानेले प्रयाेगवादी नव काव्यिक उपविधा टुक्का कवितामा छन्दकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि छन्दमा काव्य सिर्जना गर्न प्रेरित गर्दै नेपाली भाषा साहित्यकाे जगेर्ना गर्ने प्रयास गरिएकाे जानकारी गराउदै उत्साहपूर्वक सहभागी भई चम्पकमाला (रुक्मवती) छन्दमा सुन्दर टुक्का कविताहरू सिर्जना गर्नुभएका सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।
~~~~~~~~~~~~~~~~~~
::::: चम्पकमाला (रुक्मवती)छन्द :::::
~ गण : भ म स गुरु
सङ्केत- २११ २२२ ११२ २
~ ५ अक्षरमा विश्राम
~~~~~~~~~~~~~~~~~~
अभ्यासका क्रममा सङ्कलन भएका चम्पकमाला (रुक्मवती) छन्दमा सिर्जना गरिएका केही टुक्का कविताहरू
[१]
१.
युद्ध बढेको, विश्व छ साथी
त्रास छ ज्यादा, मानव माथि।
२.
शान्त शरद्को, मौसम जाग्यो
पर्व अनेकौँ, आउन लाग्यो। रामशरण न्यौपाने
भक्तपुर
[२]
१.
चम्पकमाला छन्द भनेको
हुन्छ दशोटा वर्ण गनेको ।
२.
अक्षर गन्दै शब्द जनाऊ
चम्पकमाला छन्द बनाऊ । गुणनिधि घिमिरे
अमेरिका
[३]
१.
युद्ध गरेरै छेक्छु सिमाना
ज्यान बचाई ताक्छु निसाना ।
२.
मार्न तयारी मर्न तयारी
व्यर्थ घमण्डी हुन्छ सिकारी । ताराप्रसाद चापागाईँ
धुनिबेसी
[४]
१.
प्रेम बसाए मन्दिर भित्र
कोर्नु सुनौलो सुन्दर चित्र ।
२.
आज सुनौलो प्रेमिल बास
बुझ्नु सबैका अन्तर खास नवशिला
बेलबारी-२,लालभित्ती, मोरङ।
[६]
१.
सुन्दर मेरो देश हिमाली
नाँच्दछ अग्ला शैल उचाली।
२.
गौरवशाली शक्ति छ मेरो
वीर बनेरै फाँड्दछु सेरो ! विवश पारदर्शी
झापा
[६]
१.
चाड त मान्यौँ हर्ष नि छायो
खर्च बढाई सङ्कट पायो ।
२.
प्रेम भरी उल्लास जगायौँ
हर्ष खुसीले दु:ख भगायौँ । पद्मा काश्यप पाण्डे
पथरी मोरङ
[७]
१.
काम गराए,दाम हराए
वर्ग बनाए, दास गराए।
२.
मानव चोला,उठ्नु न बस्नु
पागल कोठा,भित्र नपस्नु । होम प्रसाद नेउपाने
धरान, सुनसरी ।
[८]
१.
झल्मल पारौं दीप म बाली
भन्दछु झन्डा बोक उचाली।
२.
देश नबेचौँ भेष नबेचौँ
वीर तिमी हौ जीवन लेखौँ। अमृता रामदाम
भरतपुर, चितवन
[९]
१.
के छ त साथी खेल र पाती
मेल भएको खास छ जाती ।
२.
घाम र पानी छल्न मिलेका
वर्ष दिनैको काम खिलेका । जमुना आचार्य
सिन्धुपाल्चोक
[१०]
हेर न साथी, शक्ति चढेर
क्या! विधि चिन्ता, युद्ध बढेर। म्यामराज राई
भाेजपुर
[११]
चाड मनाए कर्ज गरेर
दीनहरूले आँसु छरेर । बाबुराम गौतम
गुल्मी
[१२]
१.
सुन्दर आहा उच्च हिमाल
छैन त हाम्रो देश कमाल ?
२.
आगत तिम्रो मङ्गल रीमा,
छैन खुसीको निश्चित सीमा । वसन्त अनुभव
दाङ
[१३]
कर्म नगर्दा दाम हरायो,
दिक्क छ चोला त्रास करायो। अच्युत घिमिरे
सर्पाङ, भुटान
[१४]
शत्रु चिनेनौ ,मित्र बनायौ
देश विरोधी ,चाल चलायौ। सुस्मिता अधिकारी
काठमाडौँ
[१५]
१.
फूल फुलेको भीर र पाखा
कोकिल बोल्छे सुन्दर भाखा ।
२.
जान त खोज्दै छौ परदेश
छैन बनेको सुन्दर भेश । बेदु न्यौपाने
काठमाडौँ
[१६]
भीड युवाको दूर हुँदैछ
रिक्त हुँदा यो देश रुँदैछ। इन्दिरा देवकोटा
कपिलवस्तु न पा ३
::::: जय टुक्का! जय साहित्य!! :::::
प्रतिक्रिया