सर्लाहीमा बज्जिका साहित्य समाज गठन

इनेप्लिज २०८० कार्तिक ११ गते १:३६ मा प्रकाशित

रौतहट

सर्लाहीमा बज्जिका साहित्य समाज गठन गरिएको छ । बज्जिका भाषाको साहित्यको विकासको लागि सर्लाही सदरमुकाम मलङवामा भएको भेलाले समाजको तदर्थ समिति गठन गरेको हो । मलङवास्थित पब्लिक माध्यमिक विद्यालयमा रहेको नेपाल मिथिला प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा साहित्यकार रामचन्द्र महतो कुशवाहाको सभापतित्वमा भएको साहित्यकार तथा भाषासेवीहरुको भेलाले कुशवाहाकै अध्यक्षतामा नौ सदस्यीय बज्जिका साहित्य समाज सर्लाही तदर्थ समिति गठन गरेको हो ।

समितिमा श्रीमती शैलियादेवी ठाकुर उपाध्यक्ष, मुकेशकुमार मिश्र सचिव, चन्द्रशेखर प्रसाद रस्तोगी कोषाध्यक्ष, मनमोहन सिंह मनोहर, राजेन्द्र ठाकुर, सञ्जयकुमार साह तथा श्रीमती ललितादेवी यादव सदस्यमा चयन भएका छन् । एक जना सहसचिव अर्को बैठकले चयन गर्ने बताइएको छ ।

भेलाले अध्यक्ष कुशवाहाको संयोजकत्वमा मुकेशकुमार मिश्र र श्रीमती ललितादेवी यादव गरी तीन सदस्यीय संस्थाको विधान निर्माण उपसमिति गठन गरेको छ । विधान बनाएर जिल्ला प्रशासन कार्यालय सर्लाहीमा दर्ता गरी सम्भव भएसम्म छिटो संस्थाले आफ्ना औपचारिक गतिविधिलाई अगाडि बढाउने अध्यक्ष कुशवाहाले प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा सर्लाहीका विभिन्न भागका भाषासेवी तथा साहित्यकारको सहभागिता रहनुका साथै रौतहटबाट साहित्यकार सञ्जय साह मित्र र बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्णको सहभागिता रहेको थियो ।

प्रतिक्रिया