” अब युद्ध राेकाैँ ” भन्ने आह्वान गर्दै टुक्का कविता लेखन कार्यक्रम सम्पन्न

इनेप्लिज २०८० असोज २७ गते १४:४१ मा प्रकाशित

काठमाडाैँ,
टुक्का साहित्य समाजकाे आयाेजनामा प्रयाेगवादी लघुत्तम काव्यिक उपविधा टुक्का कविताकाे कार्यक्रम अनन्त टुक्का यात्रा भाग-१४ “अब युद्ध राेकाैँ ” भन्ने आह्वान गर्दै टुक्का कविताहरू सिर्जना गरेर सम्पन्न भएकाे छ । 

टुक्का कविताका परिकल्पनाकार तथा टुक्का अभियन्ता ताराप्रसाद चापागाईँ र वरिष्ठ टुक्काकार/ टुक्का अभियन्ता राजेशराज गड्ताैलाकाे प्रशिक्षणमा २०८० असाेज २५ गते भर्च्युअल माध्यमबाट सञ्चालन भएकाे उक्त कार्यक्रममा नेपाल भारत लगायत विश्वका विभिन्न स्थानहरूबाट ७९ टुक्का यात्रीहरूले भाग लिएका थिए । 

उक्त कार्यक्रमका संयाेजक तथा प्रशिक्षक ताराप्रसाद चापागाईँले मानिसमा भएकाे अहमता र ईर्ष्याकाे फलस्वरुप कतै धार्मिक मतभेद, कतै वैचारिक मतभेदका कारण बलियाेले निर्धाेलाई लडाउने, मार्ने गरेका छन् । परम्परामा बलियाेले निर्धालाई दमन गरेर शुरु भएकाे राज्यकाे अवधारणा अहिले बम, बारुद, मिसाएल, क्षेप्यास्त्र र आडविक हतियार सहितकाे युद्धमा परिणत भई सकेकाे छ। संसारमा अहिले कतै गृहयुद्ध भएका छन् भने कतै दुई देश विच त कतै देश देशका समूह दुई पक्षमा मिलेर लडाइँ लडि रहेका छन् । मान्छेले मान्छे मार्नु समान्य जस्तै भई सकेकाे छ । हाल भइरहेका धर्म, विचार, जमिन, धन दाैलत आदिका सम्बन्धमा भएका विभिन्न लडाईँकाे उपलब्धि के हाे त ? भाेलि मरेर जाने मानिसले अमूल्य जीवन नै तँ बलियाे कि म बलियाे भनेर तुजुक देखाउँदै समाप्त गर्नुकाे उपलब्धि के छ त ?पछिल्लाे समय विश्वभर देखिएका दर्दनाक लडाईँहरूकाे कुनै फाइदा छैन । अब हामीले लड्ने र लडाउने सबैलाई लडाईँ छाेडेर शान्तिकाे बाटाे अपनाउनु पर्ने कुरामा जाेड दिँदै विश्व शान्तिकाे लागि समाजलाई जागरुक गराउन सबै साहित्यकारहरूलाई कलम चलाउन आव्हान गर्नु भएकाे थियाे । 

कार्यक्रममा हालै इजरायल र सिरियाकाे बीच भएकाे लडाईँमा ज्यान गुमाएका दश निर्दाेष नेपाली युवाहरू लगायत हजाराैँ मृतात्मा प्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरिएकाे थियाे । 

कार्यक्रमकाे समापन गर्दै टुक्का अभियन्ता/ प्रशिक्षकद्वय चापागाईं तथा गड्ताैलाले अनन्त टुक्का यात्रा भाग १४ मा विश्वभरिबाट सहभागी भई हाम्राे टाेल, छिमेक, समाज, देश र विश्वलाई नै सु-सूचित, सचेत र खबरदारी गर्दै ” अब युद्ध राेकाैँ ” भन्ने आव्हान गर्दै नव काव्यिक उपविधा टुक्का कविता (दुई हरफका कविता) काे अनन्त टुक्का यात्रा कार्यक्रममा सहभागी भई चाेटिला टुक्का कविताहरू सिर्जना गर्ने सम्पूर्ण टुक्का यात्रीहरू प्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे । 

टुक्का यात्रीहरूले “अब युद्ध राेकाैँ ” भन्ने आह्वानका साथ सिर्जना गर्नु भएका केही टुक्का कविताहरू 
[१]
१.
मरिजाने चाेला हाम्राे युद्ध गर्नु हुन्न यहाँ 
लडाइँगरि सुख शान्ति मिलेकाे छ र कहाँ ?
२.
मान्छे मार्न छाेडिदेउ न अब युद्ध राेकाैँ
द्वैष घमण्ड त्यागेर शान्तिकाे भार बाेकाैँ ।
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी 
[२]
बुझ्नुपर्यो लडॅाइको काम छैन ऐले
विश्व सारा हाम्रै हुन्, जान्नुपर्यो नि पैले ।
✍️ राजेशराज गड्तौला
कॅाडाघारी, काठमाण्डौ
[३]
१.
अति नै भयो रोक्नु पर्छ अब युद्धहरू
विकासका कामकाज अघि बढाऊ बरु।
२.
निष्ठुरी त्यो कालो बादल फेरि पनि मडारियो
नेपालीका छोराछोरी परदेशमा बडारियो।
✍️ मन्दिरा सेढाई 
मलेखु,धादिङ
[४]
१.
आतङ्कको अनल यो जनमा नपोखौँ
सम्झेर बुद्ध सबले अब युद्ध रोकौँ।
२.
मान्छे भएर नर-रक्त भयो नधोकौँ
निर्माणमा सब जुटौँ अब युद्ध रोकौँ।
✍️ रामशरण न्यौपाने
भक्तपुर
[५]
१. 
मारेर मान्छे कसरी हुन्छाै खुसी ?
सारा विश्व नै जकडेर हे झुसी । 
२. 
राेकेर युद्ध अब शान्तिकाे बीजक छराैँ 
विकास निर्माणले विश्व समुन्नत गराैँ ।
✍️ वसन्त अनुभव
घाेराही उपमहानगरपालिका १४ दाङ
[६]
१.
न त तिम्रो नै हो न त मेरो यो माटो हेर,
धर्ती हाम्रो हो मनवताको मायाले बेर।
२.
रोकौँ युद्ध यहाँ जित कसैको हुने छैन, 
धनजनको क्षति मानिसको धर्म हैन।
✍️ पुष्पा राई
खोटाङ।
[७]
१. 
रोकौँ युद्ध रोकौ संहार बचाउँ मानवता,
छोडौँ हिंसा छोडौँ काटमार त्यागौँ दानवता। 
२. 
कहिल्यै पनि रोज्नु हुन्न हत्याहिंसा युद्ध,
शान्ति फैलाउँ विश्वभर बनौँ सबै बुद्ध।
✍️ लक्ष्मण समीर
ठकुरबाबा नपा १, बर्दिया।
[८]
१.
अब युद्ध हैन विश्वमा शान्तिको धुन बजाउँ,
सबैलाई आफ्नो ठान्दै प्रेमका फूलले सजाउँ।
२.
किन रगतका भेल बगाउँछौ,एक अर्कोलाई आक्रमण गरेर,
एक दिन भूमि छोडेर जानुछ,शान्तिले बाँच्नु बरु शरण परेर।
✍️ शोभा आचार्य गौतम 
काठमाडौँ
[९]
१. 
मानिसले मानिसलाई मार्ने चलनलाई
अब राेक्नै पर्छ संसारका सबै दाजुभाइ।
२.
जातिकाे नाउँमा धर्मकाे नाउँमा मारामार भयाे 
मानिसकाे भित्रबाट मानवता नै निस्केर गयाे । 
✍️ सुरेश कुमार पाण्डे 
घाेराही १८, दाङ
[१०]
१.
युद्ध रोक,युद्ध रोक राक्षस अहंकारी,
पाईँदैन मानिस मार्न निर्धा सदाचारी।
२.
बाँच्न पाउने हक छ हाम्रो,गोला बारुद लुकाउ,
शान्तिप्रिय विश्व मानवको तित्त मन नदुखाउ।
✍️ होम प्रसाद नेउपाने
धरान, सुनसरी।
[११]
१.
संसार यो फर्केर हेर किन हान्नु गोली,
कर्म गर सादा जीवन मीठो बोल्नु बोली।
२.
मान्छे भई जिउने गर किन दानव बन्नुु ?
आतङ्कगरि जन जनकाे मृृत्यु किन गन्नु?
✍️ भगवती दवाडी
झापा
[१२]

रोकौं अब युद्ध हामी बनाउँन शुद्ध देश
पवित्र होस् हाम्रो तन मन भाषा अनि भेश।

एक राष्ट्र एक ध्वज भनि संकल्प गरौँ
सबैसँग मिलिजुली मनमा शान्ति भरौँ।
✍️ सरस्वती श्रेष्ठ 
इटहरी
[१३]
१.
युद्ध हैन हामीले अब गर्नुपर्छ छलफल,
विचार विमर्श साट्नमा गर्नुहुन्न अलमल ।
२.
ज्यान किन लिन्छौ र भन अपुगको के हो कुरा,
बम  बारुद  गोला  अश्रु  प्रयोग नगर  छुरा ।
✍️ जमुना आचार्य 
सिन्धुपाल्चोक
[१४]
१.
विश्व शान्ति रोजौ अब,हामी सबै मिलिकन,
अणुबमले ध्वस्त पर्यो खै, मनुष्य त किनिकन।
२.
इतिहासले नरोजोस् है, तेस्रो विश्व युद्ध अब,
शान्ति फैलाउँ चारैतिर, प्रेम फूल फूलौँ तब।
✍️ एवाइ प्रभात
सहिदभुमि धनकुटा
[१५]
युद्धले तिमीलाई मनमा के शान्ति दिलायो त खोई
त्यत्रा मानिस मार्दा परिवार बसिराखेका छन् रोई।
✍️ अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालः-अमेरिका,बोस्टन।
[१६]
१.
शान्ति राखौँ विश्वमा नै ज्ञान रोजौँ बुद्ध ,
हत्या हिंसा  गर्नुहुन्न पारौँ  मन शुद्ध ।
२.
देश विदेश मान्छे मार्न हुन्न युद्ध रोक्नु पर्छ
रिस राग छोडेर शान्ति रोजाैँ द्वैष सबै टर्छ।
✍️ बेदु न्यौपाने
काठमाडौँ
[१७]
१.
अझै अन्य नेपाली होलान् मार्ने भयो विद्रोही हमासले 
ढिलासुस्ति कतिसम्म नेपाल सरकारको तमासले ।
२.
सरकारले भ्रमण पुरा गर्न अर्बौ सक्यो बुंई बुंई भयो
नयाँ अभिलाषा बोकी अध्ययनमा जाँदा दशौंको ज्यान गयो ।
✍️ चुडामणी देबकोटा
चनपा १३ काठमाडौ
[१८]

बारम्बार  किन हत्या, हिंसा र मारकाट पृथ्विमा हुन्छ?
अझैपनि  मानिसका दिमागमा छेरौटिले किन छुन्छ ?!

हिंसाजन्य क्रियाकलाप सधैलाई हामीले निर्मूल पारौँ
सबै एक भएर वैमनष्यता मनबाट अब त  खारौँ ।
✍️ पवन कुमार बुढाथेाकी
काठमाडौँ
[१९]
१.
हत्याले निम्त्याउँछ अत्यन्तै क्षति 
अब युद्ध रोकौ,नबिगारौँ मति ।
२.
बन्धुत्व हटाएर किन बढ्छ  दुस्कर्म 
अब युद्ध रोकौं,बुझाैँ मानवीय मर्म ।
✍️ प्रेम थापा “मन”
बागलुङ
[२०]
१.
ब्रम्हाण्डकाे सुन्दर सृष्टि पृथ्वी हाे हाम्रो,
युद्ध राेकाैँ,शान्ति राेपाैँ मिलि बस्नु राम्रो।
२.
के लिइ आयाैँ, के लानु छ? मानिसको चाेला,
वुझेर नि  नवुझे  झैँ  किन  गरेको  हाेला?
✍️ मित्र उराठी गाैतम
अमरपुर गुल्मी हाल तिलाेत्तमा न पा-२,रुपन्देही
[२१]
१.
युद्धको समाप्ति गरौँ
सबैमा एकता भरौँ ।
२.
विवेकशील बनेर संसार बचाऊ
सबैलाई आफ्नो खुशीमा यहाँ नचाऊ।
✍️ नीमा छिरिङ भोटिया
जलढाका कालेबुङ
[२२]
१. 
आविष्कार भयाे संहारक मानव जगतकाे 
प्रविधिकाे दुरुपयाेग युद्ध भाे फगतकाे । 
२.
रक्तपात हत्या र हिंसाले काेही बन्दैन बुद्ध 
आपसमा मिलिजुली बाँच्नु राेक्नु सदैव युद्ध ।
✍️ कृष्णकुमार वैद्य 
बनेपा ९ काभ्रे 
[२३]
१.
हत्या हिंसाले नै ल्याउछ देशमा सबैतिर क्रान्ति
अब बाच्न देउ गरिब दुःखीलाई दिएर शान्ति ।
२.
सोझा साझाको लागि बनेको छैन यहाँ कानुन
नेता भुँडी हल्लाउदै छन् जनताले के जानुन ।
✍️ अम्विका अधिकारी
झापा बिर्तामोड
[२४]
१.
मानव मानव लडेर हित भाे कसकाे जगतमा 
सेवा नै धर्म हाे किन गर्छाै नरसंहार फगतमा ?
२.
दुनियामा मानवहित संघ खाेलाैँ यस्ताे युद्ध राेकाैँ
युद्ध गर्ने बन्दुक फालाैँ  विचार लेख्ने कलम बाेकाैँ ।
✍️ एस वि प्रगति 
प्यूठान (हाल: पाल्पा)
[२५]
१.
कति सुन्दर छ प्रकृतिले दिएकाे उपहार 
रकेट र बमले भाे अब त नगर प्रहार । 
२.
भर्खर हुर्कदै गरेका कलिलाे मुना बारुदले नछाेपाैँ
विश्वभरि माया र सद्भाव छरी भाइचाराकाे बीउ राेपाैँ ।
✍️ सुशीला थापा शिखा
कागेश्वरी मनहरा, काठमाडौँ
[२६]
१.
आविष्कार नै मानव संहारक भयाे 
आज प्रविधि दुरुपयाेग हुँदै गयाे ।
२.
सुन्दर सृष्टि हाम्राे मानव चाेला 
पाइन्न है खाेज्दा नबिर्सनु हाेला ।
✍️ दुर्गा भट्टराई 
माेरङ
[२७]

कस्तो खाले रहेछ याे हत्या हिंसाको मानव युद्ध।
यही देशका जन्मिएका भगवान गाैतम बुद्ध।

बन्द गरेर युद्ध चारैतिर शान्तिकाे नै धुन बजाउँ,
विभिन्न जात जातीलाई एउटै फूल मालामा सजाउँ।
✍️ सहयात्री शाेभा अर्याल 
बुटवल, रुपन्देही
[२८]
१.
युद्ध हैन शान्तिकाे बाल्नु पर्दछ है दियाे 
लडाइँ झगडा गर्ने अब युग सक्कियाे ।
२.
हिंसा हैन गर्नुछ आपसमा हातेमालाे 
मन भित्र राख्नु हुन्न साेचाई कहिल्यै कालाे । 
✍️ बाबुराम पाण्डे
आर्घाखाँची 
[२९]
१. 
मानवताको नाताले नि सबै मिली बस्नुपर्छ 
मित्रताको फूल फुलाउन कम्मर कस्नुपर्छ ।
२. 
बदलाको भाव राखी लड्ने बानी छोडौँ ,
हृदयमा प्रीतिको सुन्दर फूल गोडौँ ।
✍️ गंगा खड्का 
बूढानीलकण्ठ , काठमाडौँ
[३०]
१.
यो युद्धले हजुर कसैको गर्दैन नि भलाई 
युद्ध भनेको इन्धनको सामु जस्तै हो सलाई ।
२.
मान्छे भित्रको मानवता मर्छ
युद्धले केवल विनाश गर्छ।
✍️ बि.कुलुङ ´रंगबुले`
दार्जिलिङ
[३१]
१.
हिंसाचारी नीति त्यागेर शान्तिको पाठ घोकौँ
तिलाञ्जली  दिई क्लेशलाई अब युद्ध रोकौँ ।
२.
प्रतिहिंसा त्यागेर अब देखि रोक्नु पर्छ युद्ध
सबलहरू  दुर्बलसँग  बन्नु  हुदैन क्रुद्ध ।
✍️ बाबुराम गौतम
गुल्मी
[३२]
१.
घाइतेको चित्कार सुन, रणभूमिमा आई
दरवार भित्र लुक्छौ, बाहिर युद्ध गराई ।
२.
बुझ शक्ति, सत्ता, मात्र हैन सब थोक
बिन्ति छ छिट्टै लगाऊ, यो युद्धमा रोक।
✍️ पुष्पा सुवेदी
नेपालगञ्ज, बाँके ।
[३३]

काट्न मार्न छोडौँ न आजै मानिसको चोला,
थुप्रो रगत बगिसक्यो बगे जस्तै खोला ।

रोकौँ सबै झगडा अब त शान्ति चाहिन्छ,
मानव चोला अर्को पटक कहाँ पाइन्छ ?
✍️ प्रदीप के रिमाल
कोशी प्रदेश।
[३४]
१.
वैज्ञानिक परिक्षण रे! योगा साधना बिर्सेर 
अब युद्ध रोकौ तिमी बुद्ध भएर जन्मी हेर।
२.
हमास सिर्जना गर्छन् सुनियोजित आतङ्क 
तीव्रता युद्ध रोकौँ भन्छन् विश्वभरका  रङ्क।
✍️ जि.कुमार गाैतम 
भद्रपुर – १ झापा
[३५]
१.
कसका  लागी  बम  र  बारुद  किन गर्नु युद्ध,
लौन  भगवान  पठाइदेउ  शान्तिवादी  बुद्ध।
२.
नगरौँ भो  लडाइ  झगडा  मनमा  माया भरौँ,
सन्सारभरि नै शान्ति ल्याउन हातेमालो गरौँ।
✍️ नवशिला
बेलबारी-२, लालभित्ती,मोरङ।
[३६]
१.
तेराे र मेराे भावले उब्जाएको भेद ,
जगतमा युद्ध जन्माउने मुख्य फेद।
२.
विज्ञानले विश्व आधुनिक बनायो म कसरी भनाैँ,
शास्त्रकाे ज्ञान बिना अहङ्कारले भएकाे युद्ध गनाैँ ।
✍️ प्रद्युम्न चालिसे 
भक्तपुर
[३७]
१.
रोकौँ युद्ध बाँच्न देऊ डर मुक्त शान्ति देऊ 
हिंसा छोडेर कर्म गर बुद्धको ज्ञान लेऊ।  
२.
उर्वर भूमि याे सन्तुष्ट हुन्छ दिँदैन सराप 
एक हौ सब अमूल्य जीवन नपारौँ धराप। 
✍️ सुस्मिता अधिकारी
काठमाडौँ
[३८]
१.
समस्याको समाधान युद्ध हैन
रगतले तिर्खा मेटिएको छैन।
२.
युद्धले हुने गर्छ धेरै जान मालको हानी
युद्ध किन,अहिंसा परमो धर्म जानी जानी।
✍️ बिके मुखिया
दार्जीलिङ,भारत।
[३९]

सबै मिलि बढ्दाे युद्ध अब राेक्नुपर्छ ,
सर्वश्रेष्ठ प्राणीको दायित्व बोक्नुपर्छ  ।

राेजाैँ शान्ति खाेजाैँ हल विवेकशील बनाैँ,
मानव मूल्य जगेर्नाकाे गाेरेटाे त्याे खनाैँ ।
✍️ त्रिलाेचन भण्डारी 
मेचीनगर, झापा
[४०]
१.
बम, बारुद, मिसाइल, विध्वंसको कुरा छोडौँ,
‘वसुधैव कुटुम्बकम् ‘ मानवताको नाता जोडौँ ।
२. 
मानिसहरूको मुहारमा छाओस् उज्यालो कान्ति,
युद्ध  रोकी  संसार भरमा कायम  राखौँ शान्ति ।
✍️ डम्बर थामी ‘अनुपम’ 
कालिन्चोक गा.पा. – ६, दोलखा ।
[४१]
१.
युद्व हाेइन संसारमा शान्तिका विकुल बाजा बजाओैँ 
गाउँ सहरबाट सबै जनमनहरूलाई जगाओैँ ।
२.
हामी सम्पूर्णले राेक्नुपर्छ हत्या र हिंसा युद्ध 
भएर देखाउनु छ भगवान गाैतम बुद्ध ।
✍️ केसर बाेहरा ( सङ्घर्ष )
सुदूरपश्चिम अछाम, हाल भारतबाट ।
[४२]
१.
युद्ध राेकी भाइचाराकाे सदभाव गरौँ 
विश्वभरि अब शान्तिकाे त सन्देश छरौँ।
✍️ राज कुमार राजभण्डारी “खाेटाङ्गे”
मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
[४३]
१.
युद्ध रोकौँ बिन्ती छ भाइभाइ जुटौँ
मकै भुटे जसरी अब त नभुटौँ ।
२.
एकै बार पाएको मानवको चोला
के पायौ र बगाई रगतको खोला ।
✍️ सरिता सेढाई 
धादिङ
[४४]
१.
एक अर्कामा हात मिलाइ अघि बढौँ असल सोची
खराब कुरा आजैबाट फालौँ, नराखौँ मनमा कोचि।
२.
युद्ध गरे नाश हुन्छ भनि हामीले जानौँ
मिलन नै आयु हो यसलाई उच्च मानौँ ।
✍️ अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा -६ संखुवासभा ।
[४५]
१.
देश विकास गर्नु छैन गर्छन् युद्ध ,
हिजोआज मान्छेका छैन मन शुद्ध ।
२.
स्वतन्त्र भई बाँच्न पाउने हामी मानिसको अधिकार ,
हिंसा छोडी शान्तसँग बस्न देउ नचलाउ हतियार  ।
✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
[४६]
१.
बम गोला मिसाइल हानेर पृथ्वी ध्वस्त नपार,
ईर्ष्या द्वेष अहङ्कार र हुङ्कारले मान्छे नमार ।
२.
शान्तिले बाँच्न पाउने अधिकारमा कुण्ठा नठोकौँ
सुख शान्ति समृद्धि हुन्न कतै अब यो युद्ध रोकौँ ।
✍️ विवश पारदर्शी 
झापा
[४७]
१.
घमण्ड र अहम् त्यागी ज्ञानको पोको बोकौँ
विश्व शान्तिको पथ रोजी अब युद्ध रोकौँ।
२.
जताततै लडाइँ मात्र मानव मूल्य खोइ,
बल्ल पाएको  मनुष्य चोला हिंड्नु पर्छ रोइ ।
✍️ अम्बिका गिरी 
बिराटनगर
[४८]
१.
उठौँ अब सारा मानिस विश्व जोगाउन
नदिउ है त मान्छे मार्न अनि रोगाउन।
२.
युद्ध रोक्न सबैतिर पहल थाल्नुपर्छ।       
घमण्ड, ईर्ष्या त्यागेर पाइला चाल्नुपर्छ। 
✍️ शारदा चौलागाईं “चन्द्रा”
काठमाडौँ
[४९]
१.
नेपालीकाे भावना सुन्दर, शान्तिप्रेमी देश हाम्राे 
पक्ष विपक्षमा नबाँडिई सधैँ शान्ति साँचे राम्राे ।
२.
शक्तिशाली देशहरू दम्भ नछाेडी युद्ध निम्त्याउँछन् 
पीडित जनता विद्राेही बनी बम गाेला बर्साउँछन् ।
✍️ रचना शर्मा प्रतिक्षा 
इमाडाेल, ललितपुर 
[५०]
१.
लडाइँ, झगडा गर्न छोडी मिलीजुली बसौँ
कलमले  नि युद्ध हुन्छ अब कम्मर कसौँ ।
२.
बम, बारुदको र मिसाइलको अखाडा हो युद्ध 
नेपाल आमा फेरि जन्माइ देऊ शान्तिकामी बुद्ध ।
✍️ पद्मा काश्यप पाण्डे
पथरी मोरङ
[५१]
१.
समस्याको समाधान हुँदैन सधै युद्ध गरि
छलफल गरौँ  न बसेर बरु अगाडि सरि।
२.
बर्षौ युद्ध गरेर पनि आफ्नै हुन्छ खती
ध्वस्त भए त्यति सुन्दर संरचना जति ।
✍️ सञ्जना शर्मा 
दाङ लमही
[५२]
१.
उद्धार गर्ने बेलासम्म नीति बनाउने 
भ्याउ भित्र नै औँला हाल्दै आफैँ कनाउने ।
२.
सामन्ती र शासक देख्दा अब लाग्न थाल्यो घिन
जवाफ  चाहियो अरू देशमा मर्ने हामी किन ?
✍️ डिल्ली  राज घिमिरे
अर्घाखाँची
[५३]
१.
युद्ध सिर्जना होइन, शक्तिको अहङ्कार हो सिर्फ विनाश गर्ने
रोकौँ अब यो कुकर्मलाई, अझै कति गर्नु मान्छे मार्ने र मर्ने।
२.
युद्धमा कैयौँको ज्यान गयो अङ्ग भङ्ग भयो मार्नेले खुसी मनायो 
आखिर जित्यो कसले कसरी? अन्ततः संसारभरि आफैँ गनायो।
✍️ प्रमोद भट्टराई ‘प्रतीक’ 
कौशलटार, भक्तपुर
[५४]
बुद्ध जन्मथलो शान्ति भूमि देश हाम्रो 
भाइभाइ बीच हिंसा गर्दा हुन्छ नराम्रो ।
✍️ अम्बिका कोइराला
धादिङ, नौविसे
[५५]
१.
युद्ध रोकी अघि बढौँ  हे मानव जाती
आपसमा सद्भावना हट्यो बने घाती । 
२.
पशुजन्य व्यवहार मारकाट कति
बम बारुत अस्त्रशस्त्र धेर भाे खती।
✍️ कमला देवकोटा
पाल्पा
[५६]
१.
युद्ध उन्मादको चपेटामा मान्छे मरिरहेछ,
मानिस नै मानिस मार्ने उद्यम गरिरहेछ ।
२.
धर्म, वाद, जातको नाममा किन नरसंहार
धर्ती सबै प्राणीको साझा थलो याे शान्त संसार । 
✍️ भूषण जंग
ललितपुर
[५७]
१.
लड्नै पर्दैन यसै छ राम्रो,
यो शान्ति भूमि नेपाल हाम्रो ।
२.
युद्ध गरेर देश बन्दैन,
राम्रो भयो कसैले भन्दैन ।
✍️ ऋषिराम खनाल
मध्यबिन्दु -६ नवलपुर
[५८]
१.
मानवता बचाउनु धर्म हाे नि हाम्रो,
युद्ध गर्नुहुन्न जाने हुन्थ्याे झनै राम्रो ।
२.
बढ्दैछ आजभोलि हत्या हिंसा दानवता,
लघारी आेरालीमा लगातार  मानवता ।
✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
[५९]
१.
हतियार हैन चलाउनु कलम,
लगाइदिनु घाइतेलाई मलम।
२.
बम बारुद हटाई अब लागाैँ शान्ति तिर,
आपसमा मिली विश्व माझ गराैँ उच्च शिर।
✍️ कल्पना भण्डारी
सिन्धुपाल्चोक  हाल काठमाडौँ
[६०]
१.
मार्ने मर्ने खेलले अब कहाँ हुन्छ क्रान्ति 
चाहिएको छ संसारभरि सुख र शान्ति।
२.
हिंसात्मक कार्यलाई सबै मिलेर रोकौँ
भनेको नमाने दुई चार वचन ठोकौँ ।
✍️ पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा-३, काभ्रे
[६१]
१.
हत्या हिंसा आतङ्क कहिलेसम्म चल्छ
मान्छे मार्ने युद्ध देख्दा मन धेरे जल्छ । 
२.
सबै क्षति हुने मात्र कुनै फाइदा हुन्न
वार्ता गरेर युद्ध राेकाैँ लागाैँ शान्ति चुन्न ।
✍️ रश्मि रिमाल 
झापा
[६२]
१.
राेक्नु उत्तम जल, थल, नभमा युद्ध ,
त्यागेर कलुषित बनाअाैँ चित्त शुद्ध ।
२.
हत्या हिँसा लडाइँ हैन बिउँताऊँ बुद्ध,
हामी सबै एक भई जुटाैँ उठाैँ प्रबुद्ध ।
✍️ हरिगाेपाल प्रधान
बनृपा १४ साँगा
[६३]
१.
युद्धले कहिल्यै पनि हुँदैन समाधान
यसले कसरी हुन्छ जगतको कल्यान।
२.
युद्ध गर्दा कहिल्यै पनि हुॅदैन समाधान
मिलिजुली बसी गरौँ एक अर्काको सम्मान।
✍️ निता गुरुङ भाटिया
भारत।
[६४]

गर्दैछु बिन्ती आज , मिलेर राेकाैँ युद्ध ,
लिएर शुद्ध ध्येय,जुटाै सबै प्रबुद्ध ।

द्वन्द्व कदापि हुन्न शान्तिकाे मूल बाटो ,
ल्यायाे सधै यसैले मानिस बिच फाटो ।
✍️ शम्भु गजुरेल 
[६५]

युद्ध देख्न नचाहने म सुन्न त परै जावस
चलि रहेका युद्धहरू चाँडै नै सेलावस ।

नराखौँ है वैमनस्यता दिलमा कसैले
अन्तत युद्ध निम्त्याउछ हामीमा त्यसैले ।
✍️ देव मगर 
तिनाउ-१,कचल,पाल्पा
[६६]
१.
आजैबाट मिली हामी राम्रो कदम चालौँ 
अत्याचार बढ्दैछ कालो संघीयता फालौँ ।
२.
शान्ति प्रिय देश नेपाल थियो धेरै राम्रो
मुटु भित्र झाङ्गिएको साझा वारी यो हाम्रो।
✍️ शिव कुमार रेग्मी
पोखराथोक, पाल्पा
[६७]
१. 
आफ्नो पैचान बनाउन त बन्नु पर्छ राम्रो, 
तिमी मेरो मात्र नभएर बन्नु सधैँ हाम्रो।
२.
कस्ले रोक्छ कस्ले छेक्छ अगाडि जान्छु भन्दा,
बन्नु सधैँ एकनासको ज्ञानी मान्छे बन्दा ।
✍️ दुर्गा आचार्य 
मोरङ
[६८]
१.
भन्छन् गाउँघर तिर त दशैँ आयो 
सबैमा खुसियालीको लहर छायो ।
२.
नगर्नु होस् गुमाउरो कुरा
आफन्तले चलाउछन् छुरा ।
✍️ रितु बुढाथोकी

[६९]
१.
परदेश लाग्छन्  घर छाडी कमाउन धन
चट्याङ लागेँ झैँ गाउँघर सम्झि रुन्छ मन ।
२.
रम्दै घुम्दै दशै तिहार पनि आयाे
फूल फुल्दै घर आँगनी पनि छायाे ।
✍️ दीपा शाही  रावत
कैलाली  ।
[७०]
१.
शासक खराब भएको मुलुक युद्धले सकिन्छ
अरुलाई पार्न खनेको खाल्डोमा आफू नै परिन्छ।
२.
बचाउन मुलुक थालेको युद्ध जितेको नै राम्रो
नचाहेर पनि सकिदो रहेछ यो जिन्दगी हाम्रो।
✍️ दस्ता कौशिक
पाँचथर
[७१]
१.
युद्धको नतिजा केवल नाश
यसलेनै फैलाउँदछ त्रास ।
२.
युद्ध बाधक हो प्रगतिको रोकौँ आज
हुँदै जानेछ विश्वमा शान्तिमय राज ।
✍️ कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
[७२]
१.
किन गर्यौ युद्ध अचेत
अब हुनु सबै सचेत ।
२.
सिक्री वने जस्तै हतियारहरू लाम
सायद लडाइँ चल्दैछ आकाश जाम ।
✍️ शुदर्शन शर्मा
सिरानचोक ३ गोरखा
हाल दक्षिण अफ्रिका कङ्गाे
[७३]
१.
बाँचुन्जेल तेराे मेराे किन गर्नुर हामी ?
मार्ने मर्ने बन्दगरि जिन्दगी जिउँ दामी ।
२.
देशकाे विकास गर्ने भए हातमा कुटाे बाेकाैँ
लडाइँ झगडा गर्ने हाेइन आजै  युद्ध राेकाैँ।
✍️ भवानी पाेखरेल (बाबू विराज)
बाणगङ्गा १ चार नम्बर  कपिलवस्तु
[७४]
१.
युद्ध शान्ति हैन नरोजौ हिंसाको बाटो
नगरौँ  झगडा  रोकौँ  बिनाशको  पाटो ।
२.
निम्त्यायो धर्मले संकट धरापमा पर्यो मानव अस्तित्व
युद्धले भड्कियो सामाजिक सद्भाव रहेन आफ्नो स्वामित्व।
✍️ अबजस चन्द्र
कमल झापा
[७५]
नगरौँ  नरसंहार अब युद्ध रोकौँ
दुबै पक्षले साच्चै शिरमा शान्ति बोकौँ ।
✍️ जेबी खत्री
काभ्रे
[७६]
१.
विकास हो कि विनाश खै ? गोला बारुद बर्साएर
भोक रोग र चिन्ता बढ्याे मानवलाई तर्साएर ।
२.
शान्ति ल्याई विश्व मानव बनाउ अब एक,
युद्ध,द्वन्द त्रासदी नदेउ न पीडा अनेक।
✍️  इन्दु श्रेष्ठ
[७७]
संसारको भार हौ कपूत व्यर्थै आपसमा लडायौ
संहारको लार हौ तिमी सयौँ जनतालाई मरायौ।
✍️ गाेपीकृष्ण थापा
मेलबर्न, अष्ट्रेलिया
[७८]
१.
जनताले सङ्घर्ष नगरी देश नै बन्दैन
बम बारुदले आफ्नो पराई केही भन्दैन ।
२.
सम्पत्ति बाँड्नाले त्यो महाभारत मच्चियो
शक्तिको घमण्डले गर्दा को कहाँ सच्चियो ?
✍️ रिजाल विनोद
मोरङ
[७९]
१,
युद्ध लड्नुको मजा हुन्छ, मिल्यो भने टक्कर,
जिन्दगी सम्हालिन थाल्छ, खाएपछि ठक्कर।
२.
गरिबको छोरो बन्यो शालिक,
सामन्त बन्यो देशको मालिक।
✍️ चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०, राँझा एयरपोर्ट बाँके

::::: जय टुक्का! जय साहित्य !! :::::

प्रतिक्रिया