इजरायलमा हमासले गरेको आक्रमणमा कम्तीमा १,२०० जनाको मृत्यु भएको सार्वजनिक प्रसारक कानले बुधबार बिहान समाचार दिएको सिएनएनले जनाएको छ । मंगलबार, इजरायलको आर्मी(सैनिक) रेडियोले दिएको जानकारी अनुसार हमासले इजरायल क्षेत्रमा शनिबार अभूतपूर्व र क्रूर आक्रमण गरेपछि कम्तिमा १,००० व्यक्तिको मृत्यु भएको जनाएको थियो ।
यसै गरि हमासको आक्रमणमा अस्ट्रेलियाली महिलाको मृत्यु भएको सरकारले जनाएको छ । अस्ट्रेलिया सरकारले इजरायलमा भएको आक्रमणमा पहिलो पटक एक नागरिकको मृत्यु भएको पुष्टि गरेको छ ।
६६ वर्षीया गलित कार्बोन गाजा क्षेत्र सीमाबाट करिब तीन माइल (पाँच किलोमिटर) टाढा रहेको किबुट्ज बेइरीमा उनको घरबाहिर मृत फेला परेकी थिइन ।
कार्बोनको जन्म सिड्नीमा भएको थियो तर आफ्ना छोराछोरीलाई इजरायलमा हुर्काएकी थिइन् जहाँ उनले पुस्तकालय रेखदेख गर्ने (लाइब्रेरियन)को रूपमा काम गरेकी थिइन् भनि स्थानीय पत्रिकाले लेखेको छ ।
मेक्सिकोको विदेश मन्त्रालयले मंगलबार साँझ इजरायलबाट आएको सैन्य उडानमा १ सय ३५ नागरिकलाई बाहिर निकालिएको जनाएको छ।
इजरायल रक्षा बलका अनुसार दर्जनौं लडाकु विमानहरूले स्थानीय समय अनुसार बुधबार बिहान गाजा पट्टीको दाराजा तुफाह क्षेत्रमा ७० भन्दा बढी लक्ष्यहरूमा प्रहार गरेका छन ।
यसबाहेक, इस्लामिक जिहाद आतंकवादी संगठनद्वारा प्रयोग गरिएको आतंक पूर्वाधारमा पनि प्रहार गरिएको छ । इजरायलमा कम्तीमा २० अमेरिकी बेपत्ता रहेको ह्वाइट हाउसले जनाएको छ ।
इजरायलको सेना रेडियो र प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलमा १,००० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने गाजामा ९०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। अधिकारीहरुका अनुसार अरु हजारौं घाइते भएका छन् ।
प्रतिक्रिया