युरोपेली मुलुक रोमनियासँग श्रम सम्झौता, रोमानियाका नागरिकसरह नेपालीले सामाजिक सुरक्षा पाउने

इनेप्लिज २०८० असोज १९ गते १५:१२ मा प्रकाशित

वैदेशिक रोजगारीलाई र श्रम आप्रवासनलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउने नेपाल सरकारको नीति अनुरुप विभिन्न श्रम गन्तव्य मुलुकहकुसँग द्विपक्षीय श्रम सम्झौता क्रममा आज मिति २०८० असोज १९ गते तदनुसार सन् २०२३ अक्टोबर ६ तारिखका दिन नेपालका  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय शरत सिंह भण्डारी र रोमानियाका श्रम तथा सामाजिक एक्यवद्धता मन्त्री माननीय सिमोना बुकुरा ओप्केस्कू (Simona Bucura-Oprescu) बीच द्विपक्षीय श्रम समझदारीमत्रमा हस्ताक्षर भएको छ ।

नेपालको तर्फबाट प्रतिनिधिमण्डमा सहभागी मन्त्रालयका सचिव केवल प्रसाद भण्डारी, जर्मनीका महामहिम राजदूत रामकाजी खड्का, रोमानीयाका लागि अवैतनिक वाणिज्यदूत नवराज पोखरेल समेतको सहभागिता रहेको र रोमानीया पक्षबाट श्रम सँग सम्बन्धित विभिन्न निकायका उच्च तहका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त द्विपक्षीय वार्तामा माननीय मन्त्रीज्यूले नेपाली कामदारसँग सरोकारका विषयहरु र सीप, सामाजिक सुरक्षा, द्विपक्षीय श्रम समझदारीबाट तय गर्नुपर्ने विषयहरुमा नेपाली पक्षका धारणाहरु राख्नुभयो। 

रोमानियाली पक्षबाट नेपाली कामदारको हक, हित, ज्याला र सामाजिक सुरक्षा कायम गर्ने प्रतिवद्वता व्यक्त गर्दै रोमानियामा उल्लेख्य संख्यामा कामदार माग रहेको हुँदा पारदर्शी रुपमा कामदारको शिघ्र छनौट गरी छोटो अवधिमा नै कामदार रोमानिया ल्याउने प्रकृयामा समन्वय र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त भयो ।

युरोपेली मुलुक रोमानिया नेपाली श्रमिकहरुका लागि आकर्षित र सुरक्षित श्रम गन्तव्यको रुपमा रहेको र श्रम बजारको फराकिलो संभावना रहेकोले यसको विस्तार र व्यवस्थित गर्ने समेतको उद्धेश्यले गरिएको यो भ्रमणमा नेपाल र रोमानीयाबीचको कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्षको सम्झना गर्दै पछि दुई देशबीच कुटनैतिक नियोगहरुको स्थापना गर्ने बारेमा दुबै मुलुकका मन्त्रीहरुले छलफल गर्दै श्रम क्षेत्रमा समेत थप समझदारी कायम भएको छ । 

प्रतिनिधिमण्डलबीचको द्विपक्षीय वार्ताको क्रममा  आप्रवासी कामदारको माग प्रमाणीकरण, प्रवेशाज्ञा जारी गर्न लाग्ने गरेको लामो समयावधी घटाउने तथा श्रम स्वीकृतिका कार्यलाई थप सरलीकरण गर्न, रोमानियामा नेपाली श्रमिकहरुका लागि थप सिपयुक्त श्रम बजारको पहिचान गर्नका साथै महिला श्रमिकहरुलाई समेत लक्षित गरी सुरक्षित र नयाँ क्षेत्रमा श्रमिकहरु ल्याउने जस्ता कार्यलाई प्राथमिकतामा राखी आपसी सहकार्य गर्ने चाहाना रोमानीयाली पक्षले राखेको छ। 

श्रमिकको दोहोरो करारले पारेको असर, आधारभूत रोमानियाली र अंग्रेजी भाषाको ज्ञान तथा व्यावसायिक सिप जस्ता विषयहरुमा आपसी समन्वय र सहकार्यबाट व्यवस्थापन गर्न सहमती कायम भएको छ। 

मुलतः रोमानीयामा ठूलो संख्यामा आप्रवासी कामदारहरुको माग रहेको, नेपाली कामदारहरुको कार्य स्वभाव, इमान्दारिता, लगनशिलता प्रशंसनीय रहेकोले अधिकांश रोजगारदाताको विश्वास रहेको हुँदा नेपालबाट कामदार छोटो समयमा Ethical Recruitment  मार्फत रोमानीया ल्याउने कानूनी प्रावधान तथा व्यवस्थापनका वारेमा चासो व्यक्त भएको छ । 

नेपाली कामदारहरुलाई रोमानियाली कामदार सरह सामाजिक सुरक्षाको हक रहने र त्यसको उपभोग गर्न पाउने विषयमा छलफल गर्दै दुबै पक्षले श्रमसँग सम्बन्धित निकायबीच समन्वय र सहकार्य गर्ने संयन्त्र समेत स्थापना गरी सम्पन्न द्विपक्षीय श्रम समझदारीको प्रभावकारी कार्यान्वयन गर्न दुबै पक्षबाट प्रतिवद्वता व्यक्त भयो।

प्रतिक्रिया