के हौ तिमी मेरो लागि ?

- दिपेश पराजुली २०८० भदौ ९ गते १६:०६ मा प्रकाशित

चंचल ती मृगनयन, जो दौडिञ्छन चारै दिशामा
प्रदीप्त मुहार तिम्रो, जुन चम्किञ्छ हर निशामा
सुनौला ती केश, जुन पवनको उद्वेगसंगै लहरांउन्छ्न
अधरको मधुर मुस्कानले यो मन सहजै बहकांउछन
यहाँ यस्तो कुनै निमिष छैन जहाँ तिम्रो याद छैन
तिमी बाहेक हृदयमा अरु कुनै प्रसाद छैन
तिमी एक अनुभूति हौ, जुन धेरै नै विशिष्ट छ
औँशीको रातमा पनि जहाँ प्रकाशको प्रविष्ट छ
तिमी त्यो संगीत हौ, जुन म सधैं गुनगुनाउँछु
तिमी त्यो कविता हौ, जुन म आफैंलाई सुनाउँछु
तिम्रो स्पर्शको कल्पनामा मेरो रोम रोम तरंगित
किमार्थ नसोध मलाई, यो पाप हो या प्रीत
उत्कर्ष खोज्दछ प्रेम, तड़प आफैं मागी मागी
के हौ तिमी मेरो लागि ?

जीवनका उदासीहरु आफ्नै ठाँउमा होलान
संसारिक बिषादीहरु आफ्नै नावमा होलान
तर तिम्रो याद जब मनमा हुर्हुरी आउँछ
बिराट यो अस्तित्वमा बेग्लै प्रपन्च छाउँछ
ओइलाइसकेका फूलहरु फेरी जिवन्त हुन्छन
बिर्सिसकेका खुशीहरु फेरी उन्मत्त हुन्छन
धड्किन्छ यो मुटु फेरी पवनको गतिमा
कल्पनाको सागर बग्छ यौवनको मतिमा
टुट्दैन भौगोलिक दूरीले प्रेमको बलियो धागी
हर रात मेरो बित्छ सम्झनामा जागी जागी
के हौ तिमि मेरो लागि ?

त्यो प्रेम के प्रेम जहाँ हृदय छचल्किंदैन
प्रेमग्नीले जलेर जहाँ तन-मन तड्पिंदैन
तिम्रो मौन प्रेमको आफ्नै भाष्य होलान
त्यो छाती भित्र कति धेरै रहस्य होलान
तर मेरो प्रेम- त्याग जान्दैन, बरु साथ माग्दछ
दूरदराजको नजर हैन, चुम्ने माथ माग्दछ
मेरो आशा तिमी, मेरो अभिलाषा तिमी
जीवनको अभीप्सा, अनि बाच्ने जिजीबिषा तिमी
प्रेमको यो कस्तो पाठ पढायौ साथी
मृगमरीचिकामा दौडिन्छ मन सधैं भागी भागी
के हौ तिमी मेरो लागि ?
के हौ तिमी मेरो लागि ?

  • दिपेश पराजुली

प्रतिक्रिया