नेपाली डायस्पोरा र नेपालको विश्व छबि

बुद्धमणि ढकाल २०८० साउन २० गते १५:५६ मा प्रकाशित

काठमाडौँको त्रिभुवन विमानस्थल प्रस्थान कक्षमा एक दिन भर रमिता हेर्ने हो भने एउटा अनुमान आउँछ । नौलो र उन्नतिलो जीवनको खोजीमा कति नेपालीहरु उड्न तयार छन्। कथा आआफ्नै छ, तर व्यथा चाहिं देशको गिर्दो सामाजिक र आर्थिक अवस्था नै हो।

सन् २००४ मा बाह्र नेपालीको इराकमा निर्मम हत्या भएको थियो। अहिले त्यो कसैले सम्झदैन होला। देशभरी आक्रोश पोखियो । मानव तस्करी गरेर पैसा कमाउने केहि वैदेशिक रोजगार कम्पनीहरूमाथी हमला भयो र निर्दोष नेपाली मुसलमानहरुले कुटाइ खाए। खाडीका केहि देशमा जान केही समयका लागि नेपालको श्रम मन्त्रालयले बन्देज लगाएको थियो । तर त्यस पछि पनि नेपालीहरु रोजगारकै लागि लुकी छिपी इराक पसेको मलाई याद छ। त्यस निर्मम घटनापछि नेपाली सरकारको तर्फबाट जोखिममा परेका नेपालीलाई उद्धार गर्न कुनै दर्बिलो पहल चाहिं भएको थिएन र अझ पनि छैन।

नेपालको अर्थतन्त्र विदेशमा कमाएको प्रेषित पैसाबाट (रेमिटान्स) चलेको भन्ने व्याप्त बुझाइ सही कि गलत मलाई राम्रो थाहा छैन, किनभने म अर्थशास्त्री होइन। यदि सही हो भने, यो लाजलाग्दो विषय हो नेपालको लागि।

विश्वभरि नेपाली डायस्पोराको आयतन बढीरहेको छ । यो सुखद कुरा हो गुणस्तरीय जीविकोपार्जनको हिसाबले। जुनै देशमा भए पनि नेपालीहरू सङ्गठित हुन खोजेको देखिन्छ, साना(ठूला समाजका सङ्गठन बनाएर। यी सङ्गठन नेपालमा जस्तो हक(हितको लागि होइन, वा राजनीतिक प्रतिनिधि चुन्न होइन। यस्ता खुकुला सङ्गठनमा नेपालीहरू भेला हुन्छन्, खानपिनमा रमाइलो भर्छन् र नेपालका केहि समसामयिक प्रसङ्ग कोट्याउँछन्। नेपालबारे खास गम्भीर भएर विषयगत छलफल गर्ने कुनै अडिलो समूह बनेको मैले देखे सुनेको छैन। अनौपचारिक भेट वार्ता र कफी गफ भए पनि, तिनको पोयो बाटेर डोरी बनाउने काम भएको देखिदैन।

हामी नेपाली जाती जुनसुकै तरिका र बाटो अपनाएर युरोप, अमेरिका वा अस्ट्रेलिया पुगे पनि नेपाल देशप्रति हाम्रो चासो रहिरहेको छ। नेपालतिर फर्केर हेर्न सबै नेपाली जाती उत्सुक छन्। अमेरिका र क्यानाडाको नेपाली समाज चाहे भारतबाट आउन्, भुटान वा म्यानमार (बर्मा) सबैको आँखीझ्याल नेपालतिर फर्किएको छ। अझ, हाल अदालती प्रक्रियामा रहेको नक्कली शरणार्थी र ललिता निवास काण्डले चासो झन् बढाएको छ।

तर, नेपाली डायस्पोरामा देखिएका चिरा र फुटेका टुक्राहरु पनि प्रशस्तै छन्।

नेपाली डायस्पोराको चेतना उच्च छ, समाज शास्त्रीय दृस्टीकोणबाट हेर्दा। आफ्नो भाषाप्रति, संस्कृतीप्रति र सामाजिक अन्तरक्रियात्मक गतिविधिप्रति नेपाल बाहिर रहेको नेपाली समाज सक्रिय देखिन्छ, कुनै न कुनै रूपले। केहि परिणाममुखी काम पनि देखिएका छन्। यद्यपि यस्तो डायस्पोरिक चेतना प्रस्फुटन हुने अवसरहरु भजन किर्तन, दसैँ तिहार वा जन्ती मलामी र हालसालै पुराण भएका छन्, तथापि त्यो चेतनास्तर कुनै परोपकारी काममा लगाउन वा नेपालको प्राज्ञिक उन्नतिमा उपयोग हुने तर्फ कमै ढल्किएको छ।

नेपाली राहदानी बोकेर अमेरिका आइपुगेका भाग्यमानीहरुसँग बेला बखत मैले गरेको कुराकानीमा यहाँ आर्जेको ज्ञान र सीप प्रविधिलाई नेपालको सामाजिक उन्नतिमा लगाउन खासै चासो पाएको छैन। नेपालमा व्यापक कुशासन र भ्रष्ट नेतृत्वको कारण यहाँ आइसेको नेपाली मन फर्कन खोज्दैन। यहाँ जीविकोपार्जनका अनेक हरिया चौरीमा ऊ व्यस्त हुन्छ । यहाँ बस्ने अधिकारको कागजपत्र नभए पनि शनैशनै ऊ आफ्नो सन्तानको लागी किलो ठोक्छ। तर समस्यारहित जीवन यहाँ पनि छैन।

हालै नेपाल राष्ट्रको र तमाम नेपालीहरुको शीर निहुरिने गरि रचिएको नक्कली शरणार्थी प्रकरणको जालो खुलेपछि मैले केहि प्रबुद्ध नेपालीहरुसँग भलाकुसारी गर्ने जमर्को गरेको थिएँ। एउटा सानो समूहमा प्राज्ञिक सफलता हासिल गरेका केहि नेपाली भलाद्मीहरु जोडिनुभयो। तर, अमेरिकाका लागि नेपाली राजदूतमार्फत नेपालीहरुको यो स्तरको ूमान(हानीू प्रति चासो जनाउन उहाँहरु समेत अग्रसर नभएको मैले पाएँ। भर्जिनियाको डी सी क्षेत्रमा नेपालीहरुको बाक्लो बसोबास छ, तर जातीय गौरवमाथि यति घिनलाग्दो लान्छना लाग्दा पनि, आपत्ति जनाउन चाहेन त्यो समुदायले। बरु पिकनिक खान भीड भेला भयो।

देशभित्रको चासो

नेपालको राज्यले सरकारी पहलमा विदेशमा बस्ने नेपालीहरुलाई राष्ट्र निर्माणतर्फ आकर्षण नगर्नाले र उनीहरुको चासोलाई अटाउने उपाय नबनाएकाले विदेश भासिएका यी नेपालीहरु किनारा लागेका हुन् जस्तो मलाई लाग्छ। कुनै पनि राष्ट्रको अन्तर्राष्ट्रिय छविलाई टेवा दिन त्यो देश भन्दा बाहिर बसेर निरन्तर देशप्रति चासो राख्ने र विद्या, धन, ज्ञान र सीपले उन्नत बनेका नागरिक रअनागरिकले भूमिका खेल्न सक्नेरहेछन्। हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिका बस्ने भारतीय मूलका अमेरिकीसँग भेट गरे र हिन्दीमा ुजय हिन्दु बोले। यी भारतीयहरुलाई मोदीले बडो छाती बनाइदिए, टाई सुट नलगाई अमेरिकी संसदलाई जुरुक्क उठ्ने सम्बोधन गरेर ।

यो तरिका नेपाली नेताहरुले आफ्नो नैतिकता र राष्ट्रको छवि सुधार्न सिक्नुपर्छ।

कस्तो दुर्भाग्य ? नेपालको सरकारी ओहोदाका मान्छे चाहिं मानव तस्करको घिनलाग्दो धन्दामा नाङ्गो नाच गरिरहेछन । देशको झण्डा, सरकारी कार्यालय, कागजपत्र र सरकारी मर्यादाको खिल्ली उडाइरहेका छन्।

यहि बेवकुफ र घटिया काम गरे बापत मोदीको भारतले नेपाललाई हेपेको छ। प्रधानमन्त्रीलाई बोलाएर भैंसी उपहारले सुशोभन गरी खिल्ली उडाएको छ। ूमैत्री सम्वन्धको यति निम्न दर्जाको हैसियतका लागी मात्र तिमीहरु योग्य छौू भन्ने चड्कन सहितको पाठ दिएको छ।

भारतले मात्र होइन, भुटानजस्तो सानो छिमेकीले समेत नेपाललाई शरणार्थी मामिलामा हरदम तल पछारेको हो।

छिमेकको यो अपहेलना सहिरहेको नेपालले कसरी राष्ट्रको छवी अन्तरराष्ट्रिय मन्चहरुमा वा राष्ट्रसंघमा सुधार्ने हो, नेपाली सबैलाई चेतना होस्। यो राष्ट्रिय गौरवको शालीनतालाई सस्तो नाराबाजीमा परिणत भएको वीर गोर्खालीको देशू हामी वीर गोर्खालीूमा घोलेर पन्यालो चौलानी नबनाउने पो हो कि ?
उपायहरु निश्चय छन् तर अति जागरुक र शुद्ध नेपाली चित्त भएको प्रमाण सबै नेपालीले देखाउनुपर्छ। विगतको चुनावबाट उठेका केहि युवा नेताहरु यस बाटोमा हिडेको जस्तो देखिन्छ। प्रमाणित हुन बाँकी छ।

मलाई सुझेको उपाय यस्तो छ । नेपालमा जे जे वस्तु, प्रवृत्ति, संस्कार, रीतिथिति, चालचलन, लवाईखुवाइ विदेशमुखी भएका छन्, वा विश्वव्यापीकरण भएका छन् तिनलाई निरुत्साहित गर्ने राष्ट्रिय नीति कार्यान्यवन गर्ने हो भने आधा समस्या घट्छ। तर, निषेधले मात्र हुदैन। नेपाली राष्ट्रिय परिचयलाई प्रोत्साहन गर्न गतिलो निर्माण र बजार व्यवस्थापन हुनुपर्यो अनि राष्ट्रिय सीप विकास र तालिमका अनेक आयामहरु देशभरी नै स्थापना र सन्चालन गर्नुपर्यो। पुरानो र नौलो प्रविधि हाराहारी प्रयोग गरेर वस्तु उत्पादन र मूल्य निर्धारण गर्नु ठिक होला। नेपालमा उत्पादन हुने सबै वस्तु र सामग्रीका नाम नेपाली ढाँचाको हुनुपर्छ । कतै इतिहासलाई अङ्कित गर्ने, कुनै संस्कार संस्कृति झल्काउने त कुनै जातीय सीप र परिश्रमको परिचय दिने वस्तुका ब्रान्ड राखिनु पर्ला। नेपाली माटोको सुगन्ध आउनुपर्यो यी उत्पादनमा।

यहाँनिर मलाई बालकृष्ण समको एउटा पङ्क्ति राख्न मनासिव लाग्यो स्

त्यो बेला मुखमा परून बुटिहरु नेपालकै केवल

जे जेमा हिमशैलको छ मधुरो, मीठो चीसो चुम्बन।

यसो गर्न परिस्कृत नेपाली मन मुटु चाहिन्छ । नेपाली संसदमा र सरकारी काममा टाई झुन्ड्याएर स्वाङ पार्ने कलुषित नेपाली मनले त्यो गर्न देख्दैन । आँट गर्दैन। एकफेर पनि नेपाली राष्ट्रिय पहिरन नलगाउनेले संस्कृति जोगाउने काम गरेको छु भन्नु बकम्फुसे गफ सिवाय केहि होइन।

डायस्पोराको चासो

गैर आवासीय नेपालीको विश्व सङ्गठन (एनआरएन) छ, जो धेरै राजनीतिक गफमा र सस्तो नारामा भुलेको छ भन्ने मैले सुनेको छु। कुनै एक समय यो सँस्थाले नेपालको प्रधानमन्त्रीलाई देशको विकासमा गैर आवासीय नेपालीहरुले गर्नसक्ने योगदानबारे राम्रो योजना सुझाएको थियो। डा उपेन्द्र महतो यो सङ्गठनको अध्यक्ष हुँदा कामहरु सही मेसोमा गरेको आभास भएको थियो। सायद, पछिका सरकारहरुले त्यस योजनालाई रद्दीको टोकरीमा फालिदिए होला। गैरआवासीयहरुको बोली कमजोर भयो होला, त्यो म जान्दिन।

नेपालमा दुई तरिकाबाट गैर आवासीय नेपालीहरुले लगानी गर्न सक्छन् भन्ने मेरो बुझाई छ। एक, वस्तु र सेवा उत्पादनमा प्रचुर लगानी जसले गाऊँ र साना सहरका बासिन्दालाई घर नजिकै रोजगार दिन सक्छ। तर यस्तो लगानीले दिगो विकासका लक्ष्यहरुलाई कुल्चिन भएन। दुई, नेपालीहरु आफैंले जग हालेको र सन्चालन गरेको गैर नाफामुखी सँस्था जसले निजी सार्वजनिक साझेदारीको सिद्धान्तमा आधारित भएर सेवा भावनाले काम गर्न सकून्। यहाँ म नेपालमा डलरको खेती गर्ने एनजीओ र आइएनजीओ थप्ने कुरा गरिरहेको छैन। काम गर्न नसक्ने र परिणाम देखाउन नसक्ने वा सामाजिक विकृति फैल्याउने कुनै पनि गैर(सरकारी सँस्थाहरुलाई नियमन गरिनुपर्छ र उत्तरदायी बनाउनु पर्नेछ भन्ने मेरो जिकीर हो।

फेरि पनि जोड दिनुपर्ने र आत्मसात गर्नुपर्ने आचरणहरु छन् जो अहिले नेपालीहरुमा ह्रास भएको देखिन्छ। पैसाप्रतिको मोह, आत्मस्खलनको पहिरो, निस्काम कर्मप्रतिको सङ्कीर्णता, मूल्यहरुको अपचलन, राष्ट्रप्रतिको उदासीनता जस्ता नकारात्मक प्रवृत्तिलाई नेपालीहरुले जरैबाट उखेलेर फ्याँक्नु पर्ने छ। नेपाली हुनुप्रतिको हीनताभावलाई वीर गोर्खालीका असल गुणले छोपेर अब संसार जित्नेतिर होइन कि नेपाल जित्ने तर्फ बलबुता सँगाल्नु आवश्यक छ। एक नेपालीले अर्को नेपालीलाई सम्मान गर्न सिक्नुपर्ने छ, उसलाई नङग्याउने होइन, खोइरो खन्ने होइन।

के डायस्पोराका नेपालीहरुले यस्तो नेपाली राष्ट्रिय पुनर्जीवनको थालनी गर्न सक्लान् ? अथवा नेपालमै बसेर संसारलाई हामी उन्नतिशील नेपाली हौँ भन्ने गौरव दिलाउन अग्रसर होलान् ?

यहाँ सबै नेपाली नेपाल फर्किहाल्नु पर्छ भन्ने अपरिपक्व गफ हुन्छ। विकासको उत्कर्षमा पुगेका यी देशहरुमा बसेर सिकेको सीप, प्रविधि र ज्ञान पुर्याउने काम हामी सबै नेपालीले गर्न सक्छौँ । सानो ठूलो तहमा। यहाँ सिक्नु र आफुलाई योग्य बनाउनु अति आवश्यक छ , त्यसैको आधारमा हाम्रो जिविकोपार्जन चल्छ। यस्तो ज्ञानको सानो अंश पनि नेपालमा बाँड्न सकियो भने त्यो प्रेषित डलरको रकम भन्दापनि मूल्यवान हुन्छ। पैसा पठाउनु मात्रले निजी सम्पति जोडिन्छ होला र ज्ञान र सीपको प्रेषणले सामाजिक पूँजीको निर्माण गर्छ, जो नेपाली जनतालाई चाहिएको छ।

बेलायतमा बस्ने भूतपूर्व सैनिकहरुले यस दिशामा निकै राम्रा कामहरु गरेको देखेको छु मैले नेपालमा। अनि नेपालमा केही महिलाहरुले गर्दैगरेको परोपकारी कामको सरहाना गर्छु म। स्नेही काख र माया घर नेपाल परोपकारका साना उदाहरण हुन् तर उल्लेख गर्न योग्य छन्। त्यस्तै डाक्टर भगवान कोइरालाको काम र डाक्टर सन्दुक रुइतको काम विश्वमै उपल्लो दर्जाको छ।

रेमिटान्सको फजुल प्रयोग

मध्यपूर्व र दक्षिण एसियाका अन्य मुलुकमा पुगेर नेपालीहरुले पठाएको पैसा घरजग्गा जोड्ने र केही साना उद्यममा लगाउने बाहेक ठूला काम गर्न नसकिने पैसा हुन्छ। तर , युरोप, अमेरिका र अस्ट्रेलियाबाट प्रेषित पैसाले निक्कै गतिलो काम गर्न पुग्छ। यस्तो डलर पैसामा केहि क्षुद्र व्यवहार देखाएको सुनेको छु मैले।

राष्ट्रिय अन्वेषण केन्द्रका महावीर पुनलाई अमेरिका बस्ने कुनै एक भलाद्मीले पैसा उठाएर नदिएको भन्ने गुनासो एक भिडियोमा देखेको थिएँ। यस्तै नेपालमा समता स्कूल चलाउनको लागि अमेरिकामा उठेको पैसा एक व्यक्तिले रोकेर नदिएको भन्ने फेसबुकमा राखिएको एक वार्ता समेत देखेको छु। यस्तो व्यवहारले परोपकारको काम गर्न उत्साहित हुनेलाई शङ्का गर्ने ठाऊँ दिन्छ।

नेपाली कलाकारहरु आफ्नो कला प्रदर्शन गर्न विदेश घुमीरहन्छन र कला बेचेर कमाएको पैसा घर लिएर जान्छन्। तर यस्तो पैसा खास कुनै सामाजिक उन्नतिको काममा लाग्दैन।

नेपालमा सङ्गीत कलाको विकास निमित्त अनेक तवरतरिका अपनाई रियालिटी शो चलाइन्छ। यस्ता रियालिटी शो हेर्दा नेपालमा नागरिकहरु सबै सम्पन्न भैसके र कुनै आर्थिक वा सामाजिक समस्याबाट मुक्त भैसके भन्ने लाग्छ । यथार्थ यस्तो होइन। हालै यस प्रतिस्पर्धामा उत्रेको इन्ट्रा फाउन्डेसनले सबैलाई उछिनेर एक करोड नेपाली रुपियाँको पुरस्कार घोषणा गरेको छ। मेरो लागी यस्तो पैसा कुनै उत्पादनशील काममा लागेको भए, अथवा नेपालको कला, साहित्य र इतिहासको खोज अनुसन्धान गर्न लगाएको भए बढी फलदायी हुनेथ्यो।

पैसा लिएर नेपाल जानेमा भुटानी समुदायका मानिसहरुको पनि लर्को लागेको छ। उनीहरुले व्यक्तिगत खर्च गरेर भए पनि नेपालमा रेमिटान्स भित्र्याएका छन्। यो पैसा पनि फजुल खर्चमै सकिएको छ। केहिले पितृको नाम लिदैं इन्द्रेणी कार्यक्रममा दिएको देखिन्छ वा कसैले मन्दिरहरुमा साना पुण्य काम गर्न पठाएको बुझिन्छ। वास्तवमा यसले के बुझाउँछ भने, धनी देशमा बस्ने यी मानिसहरु अब दिन सक्छन् र उचित ठाऊँमा दिन खोजिरहेका छन्। तर उनीहरुले दिएर निस्केको परिणाम उनीहरुलाई पारदर्शी बुझाउन सक्नुपर्छ।

नेपालको छवि उजिल्याउन

नेपालको बारे लेखिएका धेरैजसो किताब वा गैर सरकारी सँस्थाका वार्षिक प्रतिवेदन वा प्रगति विवरण प्रतिवेदनहरुमा लेखेको हुन्छ । नेपाल एक विपन्न मुलुक हो र यहाँ धेरै मानिसहरु दैनिक एक डलरभन्दा कम ज्यालामा काम गर्छन्। यो मान्य कुरा होइन। नेपाल यी सँस्थाले देखे जस्तो विपन्न र सबै मान्छे गरीब छैनन्। मन चाहिं धेरै नेपालीहरुको गरीब छ।

नेपालका नेताहरुले देखाएको गरीब चरित्रले पनि नेपालको यो चित्र बसेको हो। अब डायस्पोरामा बस्ने नेपालीहरुले यस्तो रटानको खारेजी गर्न लाग्नु पर्छ , किनभने डायस्पोरा देशभित्रको जनशक्ति भन्दा अलिक बलियो छ मानवसंसाधनको हिसाबले। अन्तरराष्ट्रिय मन्चहरुमा बोल्न नेपाली नेता फुटेको अंग्रेजी बोकेर नजाउन्, नेपाली भेषभुषामा शोभा देखाउन्। नेपालीहरुले पहिला आफू हुन सिकून्, अरुको नक्कल गर्न होइन। नेपाललाई माग्ने देशको रूपमा प्रस्तुत नगरुन् र नभएको कुरा गरेर बकम्फुसेको परिचय नदिऊन्। सेल्फी खिच्न विदेशमा ठूलो टोली लिएर नजाउँन्। राष्ट्रिय मान मर्यादा र अदबको ख्याल गरुन्। नेपालको राज्य सत्तामा बसेर बाँदरको हातमा नरिवल जस्तो व्यवहार नगरुन्। भ्रष्ट मति त्याग्न दिन दिन संसदमा कसम खाएर मात्र संसदीय काम शुरु गरुन्।

नेपाल बलियो भएको हामी सबै देख्न चाहन्छौं। नेपाल बलियो भयो भने भारतका विभिन्न् प्रान्तमा बसेका नेपाली मूलका सबै नेपालीहरुले टाउको सोझ्याएर हिड्न सक्ने छन्। भुटानमा वा म्यानमारमा अन्यायमा परेका नेपाली भाषीहरुले नेपाल बलियो हुँदा राहत पाउने छन्। विदेशमा कमाएको पैसा लगानी गर्न नेपाल लिएर जाने छन् र आफ्नै जातीप्रतिको माया र सद्भाव बढाउनेछन्। विदेशका ठूला शहरहरुमा आफ्नो जातीय अस्तित्व हराउने सम्भावना भएकाहरुलाई नेपालसँग जोडीराख्न मौका हुनेछ। नेपालप्रतिको सद्भाव यी मान्छेहरुको बढी हुन्छ , दुइ चार दिन फिरन्ते भएर हिडेका गोरो वा कालो छालाका मानिसभन्दा।

(पत्रकार तथा लेखक ढकाल अमेरिकाको केन्टकी राज्यको लुइभेल शहरमा वसोवास गर्नुहुन्छ)

प्रतिक्रिया