“सगरमाथाको आर्तनाद”

इनेप्लिज २०८० साउन १७ गते २२:४७ मा प्रकाशित

लक्ष्मी श्रेष्ठ
सुन्दरीजल, काठमाडौं
हालः न्युयोर्क. यु. एस. ए.

हो म सगरमाथा,
विश्वको अग्लो शिखर सगरमाथा!
सदियौं देखि देशको शान बनेर
निर्भीक भएर शिर ठाडो पारी उभिरहेछु
तर हरेक पल विश्व मै माथि विजय प्राप्त गर्न खोज्छ
ता कि म उनीहरुको लागि एउटा ठुलो चुनौती हुँ!

आरोहीहरु मेरो प्रत्येक अँग अँगमा चढेर
विजय प्राप्तीको शंखनाद गर्छन्
तै पनि म चुपचाप सहिरहन्छु
मेरो छातीमा बुट बजारेर पौरख देखाउँछन्
शरिरभरी तीखा किल्लाहरु खोपेर
अँगहरु छिया छिया बनाउँछन्
तै पनि आँशु पिउँदै हाँसीहाँसी पीडा खपिदिन्छु!

मेरो पीडा देख्न नसकेर
प्रकृती मेरो मौनतालाई चिर्दै
मेरो रक्षा गर्नको खातिर,
मेरो शिरको मान राख्नको खातिर
बेमौसम नै आँधि हुरी बनेर गर्जिदिन्छिन्
त्यही आँधिबेहरीको भूमरीमा बेरीएर
कैंयौपटक थुप्रै छोरा छोरीहरुलाई
प्रकृतीले मेरो गर्भमै लुकाईदिएकीछिन्
अनि म बिबश भएर त्यो दृश्य हेर्न बाध्य बनेको छु!

अब त आरोहीहरुको चंगुलमा परेर
म पनि शहर जस्तै प्रदुशित भएको छु
भएभरका फोहरहरु थुप्रिएर आजकाल
मेरो प्रिय हिम नदिको मुहान पनि दूषित बनेको छ!

मेरो बिबशता न त अहिले सम्म कसैले बुझे
मलाई थाह छ,
न त अब पनि कसैले बुझ्ने कोशिष नै गर्नेछन्
अब फोहर थुप्रने क्रम यसरी नै बढ्दै गयो भने
केही समय पछि मेरो वरपर बग्ने चिसो हावा
लु को झैं तातो हावामा परिणत हुनेछ
अनि म हिउँको सगरमाथा हैन
फुंग उडेको एउटा ठिंग उभिएको पहाड बन्नेछु
बिश्वको मानचित्रमा मात्र एउटा पहाडमा गनिनेछु।

शदियौं देखि मेरो यो प्रश्न अनुत्तरित नै छ
अब त यस्तो लाग्छ, मान्छेहरुको लात, बुट
अनि ती फलामका किल्लाहरुको चोट
सहनु नै मेरो नियती हो
अनन्त अनन्त सम्म यसरी नै मलाई चुनौती मानेर
म माथि विजय प्राप्त गर्ने कोशिष यहाँ भैरहन्छ
मान्छेहरु निसंकोच मेरो शिरमा टेकेर
आफ्नो गौरब बढाउने दुश्प्रयास गरिरहन्छन्।

आख़िर किन? हरेक देशका मान्छेहरु
मेरो शरिरमा कुल्चिएर,शिरमा झण्डा गाढेर
विजयको शंखघोष गर्न चाहान्छन्।
आफ्नो गौरबको ईतिहाँस रच्न चाहान्छन्
ठुलो र राम्रो काम गरेर देशको गौरब राख्न
के यो संसारमा अरु कुनै त्यस्तो काम नै छैन?
प्रश्न अनुत्तरित छ र संधै अनुत्तरित नै रहिरहनेछ!!
मलाई थाहा छ,
मेरो यो प्रश्न युगौं युग सम्म पनि अनुत्तरीत नै रहिरहनेछ।

प्रतिक्रिया