अमेरिका नेपाल सहयोगी समाजले नि:शुल्क तीजभोज कार्यक्रम गर्दै

इनेप्लिज २०८० साउन १३ गते १८:५५ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको मनासस शहरमा क्रियाशील नेपालीहरुको सामाजिक संस्था अमेरिका नेपाल सहयोगी समाज (ANHS) ले यस वर्ष पनि निशुल्क तीज कार्यक्रम गर्न तयारी सुरु गरेको छ । शनिबार, सेप्टेम्बर १६, २०२३ मा हुने उक्त कार्यक्रमको पूर्व तयारीका लागि जुलाइ २३ मा कार्य समिति बैठक बसी सो निर्णय गरिएको संस्थाका अध्यक्ष जानु ओझाले जानकारी दिनु भयो ।

कार्यक्रमको व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न संस्थाका महासचिव तनुजा पोखरेल संयोजक र सदस्य काशी खड्का सहसंयोजक रहने गरी पन्ध्र सदस्यीय समिति गठन गरिएको छ ।

कार्यक्रममा निशुल्क दर खुवाइनुको साथै मनोरन्जनात्मक कार्यक्रम पनि गरिने छ । महिलाहरूको विशेष र महान चाड हरितालिका तीजको अघिल्लो दिन दरको रूपमा विशेष किसिमका मिष्ठान्न तथा स्वादिष्ट खानाहरू खाने र तीजको दिन महिलाहरूले निराहार व्रत बस्ने चलन छ ।

कार्यक्रममा स्वादिष्ट दर खाने र नाचगान गर्ने तथा अन्य सृजनात्मक क्रियाकलापहरू पनि आयोजना गरिने छ भने अमेरिकाका विभिन्न राज्यबाट जो कोही नेपालीले सहज रूपमा सहभागी हुन पाउने व्यवस्था गरिने छ साथै सहभागीहरू कसैले पनि सहभागिताको लागि कुनै किसमिसको शुल्क वा रकम तिर्नुपर्ने छैन ।
कार्यक्रममा आवश्यक आर्थिक व्यवस्थाको लागि दातृसंस्था वा सहयोगदाताहरूको सहयोग रहनेछ । जसका लागि सहयोगको अपिल पनि गरिएको छ । उक्त कार्यक्रममा सहभागी हुनको लागि सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ र आमाबुवाहरूमा हार्दिक निमन्त्रणा पनि यसै समाचारमार्फत गरिएको छ ।

मिति: १६ , सेप्टेम्बर २०२३
स्थानः 6100, Antioch Rd, Haymarket, VA, 20169
समय: दिउसो ४:०० बजेदेखि साँझ ९:०० बजेसम्म

-जगन्नाथ पौडेल

प्रतिक्रिया