साउदीमा गोली चल्दा नेपाली सुरक्षा गार्डसहित दुई जनाको ज्यान गयो

इनेप्लिज २०८० असार १४ गते २:०४ मा प्रकाशित

एजेन्सी, साउदी अरेबियाको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवन नजिकै बुधबार गोली चल्दा एक नेपालीसहित दुई जनाको ज्यान गएको छ ।

अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार गोली लागेर घाइते भएका एकजना नेपाली सुरक्षा गार्डको अस्पतालमा उपचारकै क्रममा ज्यान गएको हो ।

प्रहरीले गोली चलाउने संदिग्ध व्यक्तिलाई पनि गोली हानेर ह्त्या गरेको छ । साउदी राज्यको समाचार एजेन्सी एसपीएले मक्का सहरका प्रहरी प्रवक्ताको बयानलाई उद्धृत गर्दै जेद्दा गभर्नरेटमा रहेको अमेरिकी वाणिज्य दूतावासको भवन नजिकै कारमा सवार एक व्यक्तिले कारबाट निस्केर गोली चलाएको जनाएको छ ।

सुरक्षा बलसँगको गोली हानाहानमा उक्त व्यक्तिको तत्कालै ज्यान गएको बताइएको छ। घटनाको समयमा वाणिज्य दूतावास ताला लगाइएको थियो ।

आक्रमणमा कुनै अमेरिकीहरूलाई हानी भएको छैन । साउदी अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन्।

प्रतिक्रिया