कविता -साला पलायनबादीहरु

शिव पलाँस २०८० असार ९ गते १०:०२ मा प्रकाशित

तिमीहरुका नाकका टुप्पामा चोर औंला ठ्याउन मन लाग्छ
म पनि मर्छु भन्ने बिर्सेर
तिमीहरुलाई मर्ने गाली दिन मन लाग्छ
मिल्दैन र मात्र हो
तैपनि यत्ति त भन्छु – भन्छु
चुप लाग साला पलायनबादीहरु

मुन्टाले टेकेर मुन्टि त हाल्यौ
क्यानडा , अमेरिका , अष्ट्रेलिया , बेलायत , पोर्चुगल …
हालि त हाल्यौ खल्तिमा ग्रीनकार्ड , पि आर, सिटिजनशिप
तिमीहरुले विदेशमा हनुमान चालिसा पढेर
यहाँ मेरो देश बन्छ ?

मेरो ठेक्का हो यो देशको चिन्ता र चिन्तन गर्ने
मेरो चिन्ता र चिन्तनले
यत्रो कायापलट गरेको देखेनौ ?
तिम्रा आँखा फुटे साला भगौडाहरु ?

जहाँ जन्मिएँ त्यही किलो गाडेर बसेको छु
जंगे पिलरले जोगाउन नसकेको सिमा
मेरो ज्यानले जोगाएको छ
मेरा कविता र गीतले जोगाएका छन्

यो देशको आकाश मैले नै धानेको हो
आकाशको चन्द्र , सुर्य मैले नै धानेको हो
हुटिट्याउँले हैन

छोरी पो अष्ट्रेलिया पठाएँ त ऋण खोजेर
म त यँही छु नि
मेरो झन्डाको कविता कम भाइरल भयो त ?
तिमीहरुले थाहा पाएनौ ?
के थाहा पाउँथ्यौ
घण्टा हान्दैमा फुर्सद छैन होला तिमी मूलाहरुलाई

राष्ट्रसेवक बनेर भ्रष्टाचार गर्यौ ?
नेता बनेर देश बेच्यौ ?
नेपालीलाई भुटानी बनाएर मानव तस्करी गर्यौ ?
पत्रकार बनेर छिमेकीको धोती धोयौ ?
सार्वजनिक जग्गा हडपेर रिसोर्ट बनायौ ?
के नाप्यौ तिमी देशद्रोहीहरुले ?

के लेख्यौ ?
के पढायौ ?
कुन चित्र कोर्यौ ?
कुन गीतमा स्वर – संगीत भर्यौ ?
कुन चलचित्र खेल्यौ ?
कुन बिरामी जाँच्यौ ?
हामीलाई विदेश घुम्न स्पोन्सर गर्यौ ?
के योगदान छ तिमी जैरेहरुको ?

मैले त बाउको यत्रो सबै सम्पत्ति राज्यलाई दान दिएँ
दान दिँदा -दिंदै सर्वहारा भएको मान्छे हो म
मेरो घाँटीको यो तीन तोलाको सुनको सिक्रि त
मैले मर्निङ वाक जाँदा त्रिपुरेश्वरमा भेट्टाएको हो

तिम्रा असि बर्षका बा -आमा बिमारी हुँदा
मैले उपचार गर्दिन्छु
तिम्रा घरको दाल , चामल , बत्ति , पानी,ईन्टरनेटको बिल
मैले तिर्दिन्छु
बाँझो खेत र बारीको कर मैले तिर्दिन्छु
तिम्रो दिदीको बिराटनगर – पोखरा जहाज टिकट
मैले काटिदिन्छु
तिम्रा भाइ , भतिजको कलेज शुल्क मैले तिरीरहेको छु
दिनमा सात वटा टिकटक हाल्ने तिम्री बहिनीको आईफोन
मैले नै पठाईदिएको हो
तिमीहरु त
इम्पाएर स्टेट बिल्डिङको फेदमा सेल्फी हानेर बस्ने मात्र हो

तीस बर्ष
दैलो- पोतो , घाँस-गोबर र जुठोभाँडो गरेको भएपनि
बिहे गरेर गएपछी
माइतीघर तर्फ फर्केर हेर्ने
कुनै अधिकार हुँदैन छोरीलाई

साँच्चै भनुँ भने
टि आइ ए मा ल्यान्ड गर्न दिनै मन लाग्दैन
तिमी पलायनबादीहरु चढेर फर्किरहेको जहाज

सात फन्को आकाशमा घुमाएर
उतै फिर्ता पठाईदिन मन लाग्छ
जताबाट त्यो आएको हो ।

शिव पलाँस

प्रतिक्रिया