आमाको कथा

तारा पराजुली २०८१ वैशाख २५ गते २२:२५ मा प्रकाशित

छोरी!
कति फरक छ है!
यो भूगोलको लय पनि।

कुनै बालकले हराएको खेलौना
नभेटिएसम्म एकोहोरो खोजिरहेजस्तो
तिमी दुर माटोमा पसिनाका फूल टिप्दैगर्दा
म जीवनको अर्कै गति छाम्दै हिंड्नेरहेछु
तिमीकहाँ घाम उदाउँदैगर्दा
यता घाम उकालो लागिसक्छ
खोला र किनारको जस्तै भिन्नाभिन्नै
तिम्रो आफ्नै धन्दा
मेरो आफ्नै धन्दा।

घरानिया हजुरआमाले बीउ पलबीउ
जोहो गरेजस्तै
तिमी उता बाँच्नका लागि केके जोहो गर्ने
मेरो पनि जोहो जोहोमै बितेको हरेक दैनिकी।

तिम्रो पैतालामा चिसो नछिरोस् भनेर
मैले खाली खुट्टा हिंडेर
तिमीलाई खुट्टामा मिल्ने जुत्ता किनेको
पुसले नचिलोस् भनेर
मैले ओड्दैगरेको पछेउरीले तिमीलाई गुटुमुटु पार्दा
मेरो नाङ्गो आङ अझ न्यानो भएको
आमाले दाइजोमा दिएको कानको मुन्द्री फुकालेर
रानी सिन्काले कान छेडेर तिमीलाई लगाइदिंदा
मैले आफूलाई खुब सुहाएको देख्थेँ ऎनामा।
यी बितेका समय म पनि सम्झिइरहन्छु
तिमी पनि बिर्सन सक्दैनौ।

आज हामीसंग फरक समय छ
तिमी उता अति व्यस्त
म यता अलि फुर्सद
बुझेर पनि नबुझे झैँ गरेर पढिरहनुपरेको छ
यो भिन्नताको व्याकरण।

यस्तै नबुझ्ने वर्णविन्यास पढेर पनि
हामी मिलाईरहेछौं यसरी नै
हतार र फुर्सदको अङ्कगणित
सबैकुरा बुझेजस्तो गर्दै
र त घरीघरी लाग्छ हिसाब नमिलेजस्तो।

छोरी!यस्तै छ हाम्रो जीवनको गणित
तिमीलाई हतारले सम्झने फुर्सद छैन
मलाई एकोहोरो सम्झनाले बिर्सने फुर्सद छैन
यसरी हेर्दा त आखिर हामी दुबै बेफुर्सद नै रहेछौ।
केवल पुस्तक फरक
उही पाठशालाका विद्यार्थीजस्तै हामी।

छोरी!यति पढिसकेपछि लाग्दैछ
आखिर लाखौं हतारोहरुभन्दा पनि
अझ गर्हौ हतारो त
कसैलाई हरपल सम्झिन पो हुनेरहेछ।

प्रतिक्रिया