ग्रीसमा पानी जहाज पल्टिँदा ७९ जनाको मृत्यु, तीन सय भन्दा धेरै वेपत्ता, राष्ट्रिय शोकको घोषणा

इनेप्लिज २०८० जेठ ३२ गते ३:०० मा प्रकाशित

एजेन्सी, दक्षिणी ग्रीसको तटमा पानी जहाज पल्टिँदा कम्तीमा ७९ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढीको उद्धार गरिएको छ ।

तर बाँचेका र ग्रीक अधिकारीहरूले जहाजमा सयौं आप्रवासीहरू रहेको र उनीहरु वेपत्ता भएको हुनसक्ने बताएका छन्। केहीले जहाजमा ५ सय देखि सात सय जनासम्म रहेको बताएका छन् ।

सरकारले यो ग्रीसको सबैभन्दा ठूलो आप्रवासी त्रासदी मध्ये एक भएको भन्दै तीन दिनको शोकको घोषणा गरेको छ।

डुङ्गा लिबियाबाट इटाली जाँदै थियो, जसमा सवार अधिकांश २० वर्ष उमेर समूहका पुरुष थिए। डुंगामा थुप्रै अवैध आप्रवासी रहेकामा उनीहरु कसैले पनि लाइफ ज्याकेट नलगाएको खबरमा उल्लेख छ ।

जहाज डुब्न लाग्दा टेलिफोन गरेर मद्दत मागेपनि कतैबाट सहयोग प्राप्त नभएको जिवितहरुले गुनासो गरेका छन् । जहाजका चालकले पनि आफूहरु इटलीबाहेक अन्त जान नसक्ने भन्दै जोखिम मोलेका थिए ।

केही समय पछि डुङ्गा पल्टियो र पूर्ण रूपमा डुब्न मात्र दश देखि पन्ध्र मिनेट लागेको थियो । खोजी र उद्धार कार्य सुरु भएपनि तिव्र हावाका कारण जटिल भएको थियो।

प्रत्येक वर्ष सयौं मानिसहरूले भूमध्यसागर पार गर्ने प्रयासमा ज्यान गुमाउने गरेका छन् । फेब्रुअरीमा, दक्षिणी इटालीको क्यालाब्रिया क्षेत्रको कट्रो नजिक आप्रवासीहरू बोकेको डुङ्गा पल्टिँदा कम्तिमा ९४ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया