बंगलादेशसम्म निर्बाध आवागमन नेपालको अधिकार हो: प्रा. सुवेदी 

इनेप्लिज २०८० जेठ २५ गते १०:२८ मा प्रकाशित

लण्डन (जीएनएन ) – बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक, डा सूर्य प्रसाद सुवेदी, ले बंगलादेशको बन्दरगाहसम्म निर्बाध आवागमन नेपालको अधिकार भएको बताएका छन्।

प्राध्यापक सुवेदीले भारतको बाटो हुँदै बंगलादेशको कुनै पनि बन्दरगाहसम्म निर्बाध आवागमन गर्ने कुरा भूपरिवेष्ठित राष्ट्रको नाताले अन्तर्राष्ट्रिय कानूनले नै प्रत्याभूत गरेको नेपालको अधिकारको कुरा भएको बताए।  यसका लागि नेपालले कुनै ठूलो मूल्य चुकाउनु आवश्यक छैन, उनले भने।

प्रा सुवेदीले नेपालका प्रधानमन्त्रीको हालै सम्पन्न भारत भ्रमणको प्रसंगमा नेपालको सिमा विवाद जस्तो संवेदनशील बिषयमा विभिन्न पक्षले हचुवाको भरमा  बोलेको देखियो भन्दै नेपालको सिमा सम्बन्धि विषयमा क्षणिक श्रेय लिनका लागि  हचुवाको भरमा बोल्ने प्रवृत्तिको अन्त्य गर्नु आवश्यक भएको बताए ।

नेपाल-भारत सम्बन्धका अन्तर्राष्ट्रिय कानूनी मामलामा लामो समयदेखि कलम चलाई आएका र नेपाल सरकारलाई कानूनी सल्लाह दिंदै आएका प्राध्यापक सुवेदीले भारत र बंगलादेशको स्थल सिमाबारे गरिएको सट्टा-पट्टा एउटा उदाहरण मात्र भएको बताए ।  “यी दुवै देशले सामुद्रिक स्थल वा जल सिमा विवाद निराकरण गर्न अन्तर्राष्ट्रिय  प्राधिकरणमा गएको अर्को उदाहरण छ।  बंगलादेश र म्यानमार पनि यसैगरी सामुद्रिक स्थल वा जल सिमा विवाद निराकरण गर्न अन्तर्राष्ट्रिय अदालत गएका थिए।  भारत र पाकिस्तान पनि सिमा विवादबारे अन्तर्राष्ट्रिय अदालत गएको उदाहरण  पनि छ।“

“नेपालको आफनै परराष्ट्र संयन्त्र छ, इपीजीको प्रतिवेदन छ, नेपाल सरकारले गठन गरेको सिमा सम्बन्धि विज्ञ समूहको प्रतिवेदन छ। यस्ता परराष्ट्र मन्त्रालयमा भएका संस्थागत प्रतिवेदन हेरेर, अन्तर्राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय अभ्यासको अध्ययन गरेर, राम्रोसंग गृहकार्य गरेर,  दीर्घकालिन नीति बनाएर कूटनीतिक स्तरमा बोलिनु पर्ने बिषयमा विभिन्न पक्षले हचुवाको भरमा राजनीतिक श्रेय लिने हेतुले बोल्नु उपयुक्त होइन,” उनले भने। 

 “हचुवाको भरमा बोल्ने, राजनीतिक स्वार्थका लागि राष्ट्रिय मुद्दालाई उपयोग गर्ने, पर्याप्त गृह कार्य नगर्ने र संस्थागत सम्झनामा भएका प्रतिबेदन वा दस्तावेजलाई वास्ता नगर्ने प्रवृत्तिका कारण नेपाल परम्परागत रूपले द्विपक्षीय सन्धि गर्दा चिप्लिदै आएका प्रशस्त उदाहरण छन्। विदेशीका चिप्ला भाषण र लटरपटर खालका आश्वासनमा बहकिएर विभिन्न बिषयमा नेपाली नेताहरु चिप्लिएको मार नेपालले अहिलेसम्म खेपी रहेको छ।  यसैगरी सिमा विवादमा नेपाल फेरि चिप्लिन सक्ने डर देखिएको छ,”  प्रा. सुवेदीले भने।

प्रतिक्रिया