विस्कन्सिन, जुलाई ३ । अमेरिकी राज्य विस्कन्सिन सर्वोच्च अदालतको उदारवादी बहुमतले राज्यको १७६ वर्ष पुरानो गर्भपतन प्रतिबन्ध खारेज गरेको छ । ऐतिहासिक निर्णय ४-३ को मतले पारित गरिएको हो।
सन् १८४९ मा लागू गरिएको उक्त कानुन अनुसार *मातृ बाहेक अन्य व्यक्तिले भ्रूण नष्ट गरेमा त्यो आपराधिक अपराध मानिन्थ्यो। तर अब अदालतले यो पुरानो प्रतिबन्ध पछिल्लो कानुनद्वारा प्रतिस्थापित भइसकेको छ भन्दै निर्णय सुनाएको छ । जसले भ्रूण गर्भबाहिर बाँच्न सक्ने क्षमतापछि मात्रै गर्भपतनलाई गैरकानुनी ठान्दछ।
सन् १९७३ मा अमेरिकी सर्वोच्च अदालतको रो बिरुद्ध वेड फैसलाले देशभर गर्भपतनलाई वैध ठहर गरेपछि उक्त प्रतिबन्ध निष्क्रिय बनेको थियो। तर सन् २०२२ मा रो उल्टिएपछि केही कट्टरपन्थीहरूले पुरानो प्रतिबन्ध पुनः लागु भएको दाबी गरेका थिए।
राज्यका डेमोक्र्याट महान्यायधिवक्ता जोश कौलले अदालतमा मुद्दा दायर गर्दै १९८५ को नयाँ कानुन अनुसार भ्रूण बाँच्न सक्ने अवस्थामा मात्रै गर्भपतनमा रोक लगाइएको छ भनेर तर्क गरे। केही शिशुहरू २१ हप्तापछि चिकित्सकीय सहयोगमा बाँच्न सक्छन्।
अब सर्वोच्च अदालतको निर्णयले राज्यभरका चिकित्सक र महिलालाई गर्भपतनको अधिकार सुरक्षित रहने प्रत्याभुती दिएको छ। यो निर्णयले अमेरिका भरको गर्भपतन अधिकारको बहसमा पुन नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया