अमेरिकी र्‍यापर डिडी कम्सलाई वेश्यावृत्तिको आरोपमा दोषी ठहर, मानव बेचबिखन र ठगीबाट मुक्ति

इनेप्लिज २०८२ असार १८ गते १४:४६ मा प्रकाशित

प्रसिद्ध संगीतकार तथा निर्माता सीन “डिडी” कम्सलाई न्यूयोर्कको संघीय अदालतमा भएको मुद्दामा वेश्यावृत्तिको लागि मानिसहरूलाई एक ठाउँबाट अर्को ठाउँमा लगेकोआरोपमा दोषी ठहर गरिएको छ।

यद्यपि उनलाई मानव बेचबिखन र संगठित अपराधमा संलग्नता जस्ता गम्भीर आरोपहरूबाट भने सफाइ मिलेको छ।

सिबिएसन्यूजका अनुसार कम्सलाई वेश्यावृत्तिसँग सम्बन्धित दुईवटा आरोपमा दोषी पाइएको छ। यी प्रत्येक आरोपमा अधिकतम १० वर्षसम्मको कारागार सजाय हुन सक्छ।

यो फैसला मंगलबार आएको घटनाक्रमपछि आएको हो । निर्णायकहरूले कम्सविरुद्धका पाँचवटा आरोपमध्ये चारवटामा सहमति जनाएका थिए, तर संगठित अपराधमा संलग्नताको आरोपमा भने उनीहरूबीच मतभेद थियो। बुधबार बिहान उनीहरूले सबै पाँचवटै आरोपमा आफ्नो अन्तिम फैसला सुनाएका हुन्।

निर्णायकहरूले तल्लोम्यानह्याटन स्थित अमेरिकी जिल्ला अदालतमा सोमबारदेखि छलफल सुरु गरेका थिए। मंगलबार उनीहरूले आंशिक फैसलामा पुगेको बताएका थिए, तर न्यायाधीश अरुण सुब्रमण्यनले उनीहरूलाई बाँकी रहेको एउटा आरोपमा छलफल जारी राख्न पठाएका थिए।

डिडी कम्सलाई लागेका सबैभन्दा गम्भीर आरोपहरूबाट सफाइ मिले पनि वेश्यावृत्तिसँग सम्बन्धित आरोपमा दोषी ठहर भएकाले उनलाई जेल सजाय हुन सक्ने सम्भावना कायमै छ। यो फैसलाले उनको लामो र सफल करियरमा ठूलो असर पार्ने देखिएको छ।

सिन “डिडी” कम्स एक अमेरिकी र्‍यापर, गायक, रेकर्ड निर्माता, गीतकार, र व्यवसायी हुन्।

प्रतिक्रिया