राष्ट्रपति रामचन्द्र पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण, अध्यक्ष आचार्यले गरे स्वागत

इनेप्लिज २०८० जेठ १७ गते ११:०५ मा प्रकाशित

काठमाडौँ (जीएनएन)- निवर्तमान राष्ट्रपति विद्या देवी भण्डारीले प्रमाणीकरण नगरेको नागरिकता विधेयक रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । बुधबार बिहान उनले उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

संघीय संसदले गत साउन २०७९ मै नागरिकता विधेयक पास गरेको थियो । तर तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाइदिइन् । त्यस पछि दुवै सदनले नागरिकता विधेयक हुबहु पारित गरेर २० भदौमा फेरि राष्ट्रपतिससमक्ष पठाए । संविधानको धारा ११३ (४) अनुसार राष्ट्रपति भण्डारीले उक्त विधेयक १५ दिन अर्थात ५ असोजभित्र प्रमाणीकरण गर्नुपर्ने थियो । तर उनले प्रमाणीकरण नगरेपछि उक्त विधेयक अलपत्र परेको थियो ।

२५ फागुन २०७९ मा नेपाली कांग्रेसका रामचन्द्र पौडेल नयाँ राष्ट्रपति निर्वाचित भए पछि प्रचण्ड नेतृत्वको सरकारले नागरिकता विधेयक अगाडि बढाउन खोज्यो । गत १२ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेपछि संविधानविद्हरुसंग सरसल्लाह गरेर राष्ट्रपति पौडेलले संविधानको धारा ६१ र ६६ बमोजिम विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

अध्यक्ष आचार्यले गरे स्वागत

यसैबीच गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुल आचार्यले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा खुसी व्यक्त गरेका छन्।

एक वक्तव्यमा उनले नेपालको संविधान जारी भएको झन्डै आठ वर्ष पछि अब गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन गर्ने बाटो खुला भएको जनाएका छन् ।

‘गत वर्ष नयाँ कार्यसमिति गठन भए यता हामीहरुले गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनका लागि सक्दो प्रयास गरेको सबै साथीहरुलाई अवगत नै छ। अब विना कुनै वाधा अवरोध यो कानून कार्यान्वयनका लागि आआफ्नो ठाउंबाट सकारात्मक भूमिका निर्वाह गर्न म सबै मित्रहरुलाई आग्रह गर्दछु,’ आचार्यले भनेका छन्।

प्रतिक्रिया