कविता- तिमी जन्मिएको दिन – नीलम कार्की निहारिका

इनेप्लिज २०८० जेठ ७ गते २३:१७ मा प्रकाशित

यदाकदा म यसरी पनि सोच्ने गर्छु –
तिम्रो जन्म दिन
तिमी म संग छुट्टीएको दिन थियो

छुट्टिएको दिनको कैफियतमा –
दर्के झरीमा ओत लागेको छाता
बर्सात बिदो भए संगै कतै छुटे जस्तो छुटाई होइन

उर्लेको खोला तर्दाको , अनकन्टार पहाड उक्लादाको
दह्रो भर -भरोसा बनेको हातको लौरो
पल्लो किनार छोए पछि या
टाकुरामा कदम भए पछि छुट्नु जस्तो पनि होइन

दगुरेर पुग्दा पुग्दै , हत्केलाको इसाराले रोक्दा रोक्दै
संगै गन्तब्यमा पुग्ने साथ ओझेल परे जस्तो
या लयमा गुनगुनाउदै रमाउदै अविराम हिडीरहेको नदी
अचानक भंगालोमा छुटे जस्तो छुटाईं पनि होइन

छुटनु-
तिमी आमाको कोखबाट
आमाको काखमा पुग्नु
आमाले आफ्नै हत्केलामा हार्दिकता साथ
साक्षात सुकोमल जुनको दर्शन पाउनु
सितलता बनि आमाको आखाको नानीमा समाहित हुनु हो

छुट्नु-

फरक शरीर बग्ने फरक रक्त संचार , फरक मुटु भएर पनि
आमा कै छातीमा उसै आमा कै प्राण बनि धड्किरहुनु
आफ्ना सारा सपनालाई अध्यारो छिड़ी तिर थन्काएर
तिम्रा सफल पाइलामा
तिमी भन्दा एक कदम अघि हर्ष गर्दै तिम्रा ख़ुशी बाच्नु हो

यसरी पनि सोच्ने गर्छु –

तिम्रो पहिलो बास थलोबाट
तिमी बहिरिए पछि
नालकाटेर तिमी र मलाई अलग पारियो
काख, कोक्रो हुदै चरणबद्द –
बामे अनि ताते ताते गर्दै तिमी पर पर हुदै गयौ
विद्यालय ,कलेज ,जागिर ,ब्यापार यस्तै त्यस्तै
अनेक थरि शिर्सक उप -शिर्षकले
तिमी र म मा लामो क्षितिजिय दुरी तानिदियो
दुरीले साथ छुटे जस्तो ह्र्दयत कहिले टाढा भयौ र हामी ?
म सरलक्कै आमाकै एक अंग मासपिण्ड हु भन्ने आभासले
कहिले छोड्यो र तिमीलाई ?
तिमी म मै धड्की रहेकि छौ भनि
आफ्नै मुटुमा तिमी सुन्न कहिले भुलाएर मैले ?

तिमी जन्मदा
म आफ्नै रगतको आहालमा
अचेत हुदै बौरिने गर्थे

अब यति त् हो भेट भन्दै
हेर्न आएका आफन्त
आफ्ना सहानुभूति आखा मजेत्रोंले पुछ्दै फ़र्क़िन्थे

सुत्केरी ब्यथामा म पराजित भए भने
नभनी तिम्रो दुख र नबोली तिम्रो भोक बुझीदिने
यो दुनियामा कहिल्यौ कोही हुने छैन भन्ने ठूलो भयले
म मा वात्सल्यको शक्तिसाली ऊर्जा प्रज्वलित भयो
र त पिडाको उत्कर्ष पुगेर
सम्मुखको मृत्युलाई हाक दिदै
तिमीलाई जन्माएको कीर्तिमान दिन पो हो आज

हो ,तिमी जन्मदा
जीबन मृत्युको गम्भीर संघारमा घनघोर युद्ध लडेकी थिए मैले
तिमी जन्मजात टुहुरी हुन् लेखेको रहेनछ
त्यसैले बाबै , तिम्रै भाग्य बाचेकि हु म !
यहिबाट सुरु भएको हो जीवनका महत्वपूर्ण बाकि अध्यायहरु
संसारमा सर्वपूज्य, सर्वमान्य
आमाको परिचय लहरमा तिमीले मलाई पनि उभ्याई दिएकि थियौ
यो सम्पूर्णता त्यसै दिन तिमीबाट पाएकी हु मैले

जन्मदा जन्मदै तिमी रोएकी थियौ
तिमीलाई हेरेर म भने मुस्कुराई रहेकी थिए
तिम्रो रुवाइ आफनो जन्म
यो लोकलाई सुसुचित गर्ने ओजस्वी संखघोष थियो
या
तिमी आमाको न्यानो गर्भबाट टाढा हुनुको बिद्रोह रोएकि थियौ
म भने
यो संसार तिमीलाई देखाउनु
यो धर्ती तिमीलाई टेकाउनुको गौरब
दीप्तिमान मुस्कुराएकी थीए

म यसरी पनि सोच्छु –
तिमि सन्तान भएर जन्मिएको दिन
म जननी, म आमा भएर जन्मिएकी थिए !

यदाकदा म यसरी पनि सोच्ने गर्छु –
निसन्देह
तिमीले जीवन पाऊदा
मैले पुनरजीवन पाएकी थीए
हेर्दा फरक शरीर
देखदा पृथक अस्तित्व
तर म
तिमी भएर पनि जन्मिएकी थिए ।

प्रतिक्रिया