नेपाली कथानक चलचित्र ‘द सेक्रेट अफ राधा’ क्यालिफोर्नियाको लसएन्जल्स शहरमा प्रदर्शन हुने

इनेप्लिज २०८० जेठ ३ गते १:१४ मा प्रकाशित

क्यालिफोर्निया। नेपाली कथानक चलचित्र ‘द सेक्रेट अफ राधा’ क्यालिफोर्नियाको लसएन्जल्स शहरमा आगामी मे २० शनिवारको दिन Whittier स्थित सिनेमा हलमा प्रदर्शन हुन गईरहेको छ ।

यस चलचित्रको निर्देशक सुवर्ण थापाले दिनुभएको जानकारी अनुसार राधा’ सामाजिक मुद्दामा बनेको नारी प्रधान चलचित्र हो । चलचित्र ‘राधा’ ले नारी पात्रको प्रतिनिधित्व गर्दै हाम्रो नेपाली समाजमा घटेको घटनामा आधारित रहेको छ।
थापाद्वारा निर्देशित चलचित्रमा श्रृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, सौगात मल्ल, दयाहाङ राई, मेनुका प्रधान, बुद्धि तामाङलगायत कलाकारको अभिनय रहेको छ ।

राधा पात्रले एक नारि पतिको खोजीमा एउटी महिलाले संघर्षका कस्ता आरोह–अवरोह छिचोल्छिन् ? राधाको कथामार्फत निर्देशक थापाले महिला सहनशीलता, समर्पण, लगनशीलता र पर्खाइलाई शसक्त ढंगले जोडेका छन् । दुःखको पहाड उक्लेर मुस्कुराउन खोज्ने महिलाको कथा हो– राधा । पितृसतात्मक समाजमा आत्मविश्वास र आत्मसम्मानसहित बाँच्ने महिलाका प्रतिनिधि हो– राधा । सुन्दरको सहयोगमा सहर पस्दा समाजले राधाको चरित्रलाई गलत देखाइदिन्छ।

नेपाली परिवेशमा एक गर्भवती महिलाले श्रीमानको पर्खाइमा भोग्नु परेको सङ्घर्षको कथालाई चलचित्रले समेटेको छ । कामको खोजीमा सहर पसेका श्रीमान्को प्रतीक्षामा रहेकी एउटी महिलाले गाउँलेहरूबाट खेप्नु परेको दुःख र श्रीमानलाई खोज्न गरेको सङ्घर्षलाई चलचित्रमा उजागर गर्न खोजिएको छ ।

द सेक्रेट अफ राधा चलचित्र ११ औं नेफ्टा फिल्म अवार्डको उत्कृष्ट पाँचमा मनोनयन भएको छ । आइतबार सोल्टी होटलमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले २५ विधामा मनोनितलाई प्रमाणपत्र वितरण गर्दा १० वटा विधामा “द सेक्रेट अफ राधा” मनोनित भएको छ ।

यसको वाँकी अवार्ड संस्करण आगामी साउन ६ गते अमेरिकाको टेक्सासमा हुनेछ । चलचित्रका निर्देशक सुवर्ण थापा द सेक्रेट अफ राधाको विशेष प्रदर्शनको क्रममा अमेरिकाका नेपाली डायस्पोरामा राधा चलचित्र प्रदर्शन गर्ने क्रममा आफै प्रदर्शनमा जुटेका छन् ।

चलचित्र प्रदर्शन हुने मिति/समय र स्थान :मिति:
मे २०,२०२३समय : बेलुकी :८ बजेदेखी शुरु
स्थान: Whittier Theatre 11612 Whittier Boulevard, Whittier, CA 90601

प्रतिक्रिया