प्रेरणाको पहिलो उपन्यास ‘उत्खनन’ ३४ वर्षपछि दोश्रो संस्करण प्रकाशित

इनेप्लिज २०७९ चैत १२ गते २३:५८ मा प्रकाशित

१३ चैत, काठमाडौँ,

बहुविधाका चर्चित लेखक गोविन्द गिरी प्रेरणाको पहिलो उपन्यास ‘उत्खनन’ पहिलो संस्करण प्रकाशित भएको ३४ वर्षपछि साझा प्रकाशनले दोश्रो संस्करण प्रकाशित गरेको छ । पहिलो संस्करण पनि साझा प्रकाशनले नै प्रकाशनमा ल्याएको थियो ।

लामो समयदेखि बजारमा उपलब्ध नभएको यो उनको उपन्यास साझा प्रकाशनले झण्डै एक दशकअघिबाट दोश्रो संस्करण प्रकाशन गर्न निर्णय गरेता पनि साझा प्रकाशन आफैं गम्भिर आर्थक तथा व्यबस्थापन सङ्कटमा परेर पुस्तक प्रकाशनमा निकै सुस्तता आएको थियो ।

वरिष्ठ समालोचक कृष्णचन्द्र सिंह प्रधानको महत्वपूर्ण भूमिका रहेको यो उपन्यास विसं २०४५ सालमा प्रकाशन हुने वित्तिकै चर्चामा आएको थियो । उपन्यासमा उत्खनन काठमाडौं, उत्खनन हेटौंडा र उत्खनन भैरहवा गरि तीन खण्ड रहेको छ । उपन्यासले विसं २०३६ सालदेखि करिव एक दशकसम्मको कालखण्डको नेपालको स्थितलाई चित्रण गरेको छ ।

साझा प्रकाशनले यो उपन्यास आफ्ना शाखा परशाखा र बिक्रेता एजेण्टहरु मार्फत देशभर उपलब्ध हुने जनाएको छ ।

कृतिका लेखक गोविन्द गिरी प्रेरणाले ढिलै भए पनि दोश्रो संस्करणको प्रकाशनपछि लामो समयदेखी यस उपन्यास खोजी गर्ने तथा चासो लिने पाठकहरुलाई सहज उपलब्ध हुने खवरले खुशी लागेको बताएका छन् । डिमाई साइजमा २०८ पृष्ठको यस कृतिको मूल्य रु ४५०।– रहेको छ ।

प्रतिक्रिया