पत्रकारिता क्षेत्रले अल्पायुमै गुमाएको एक नक्षत्र

टंक पन्त २०७९ चैत ११ गते २१:२४ मा प्रकाशित

टंक पन्त

जनता प्रसारण तथा प्रकाशन लिमिटेडका ग्रुप एडिटर, रेडियो जनताका स्टेशन मेनेजर अनन्य मित्र दिपेन्द्र दोङ तामाङ हामीवीच रहनुभएन भन्दा पनि आफैलाई पत्यार लागेको छैन तर सत्य हो उहां रहनुभएन भन्नु परेको छ । १५ दिन अगाडि अफिसमा संगै चिया खाएको तर अर्को दिन ब्रेन हेम्रेज भएको पीडादायी खबर मित्र दोङको श्रीमती चांदनी मेडमले सुनाउंदा पनि पत्याउन गाह्रो भएको थियो किनकि अघिल्लो दिन जनता टेलिभिजन नजिकै कर्नरमा चिया खांदा सम्म कुनै संकेत पनि थिएन । बिहान घरमा खाने बेला भयो खाना पस्किदै गर म बाथरुम गएर आउंछु भनी बाथरुम पस्नुभएका दीपेन्द्र २० मिनेट सम्म ननिस्किएपछि चांदनी मेडम बाथ रुमको ढोका ढकढक्याउन जानुभयो तर्सिएलान् भनी ढीलो ढीलो गरी ढोका बजाउंदै गर्दा पनि रेस्पोन्स नभए पछि ढोका निकै ढकढक्यानु प¥यो । दीपेन्द्रले पटक्ककै रेस्पोन्स गर्नुभएन अनि ढोका फोरियो । दीपेन्द्र ढोका बाहिर निस्किने बेला ढोका खोल्न नसकेर मोवाइल गर्न खोज्दा खोज्दै थचक्क बस्न पुग्नुभएछ ।बाथ रुमको एक साइडमा कक्रक्क परेर बसेको जस्तो पुरै बेहोस अबस्थामा । शरीर पछारिएको पनि छैन । मोवाइल पनि केही नभएको किनकि गाह्रो भएर परिवारलाई मोवाइल गर्न खोज्दा खोज्दै नसकेको अबस्था जस्तो देखिएको चादनी मेडमको भनाई थियो ।

बेहोस अबस्थामा रहनुभएका पत्रकार दोङलाई दिर्घायु अस्पताल हुंदै मेडिसिटी लगियो १४ दिन उपचार गरियो चिकित्सकले कहिले रेस्पोन्स गर्न थालेको बताउने त कहिले केही भन्न सकिन्न भन्दै समय बित्यो हामीले चिकित्सकलाई पनि पटक पटक भेट्यौ , चांदनी मेडमले पनि वास्तविक कुरा बताइदिनुस पनि भन्नुभयो तर चिकित्सकले केही भन्न सकिन्न रोग खतरा हो भनी नै रहे आखिर शुरुकै दिन ब्रेन डेथ भैसकेको भन्ने कुरा जानकारीमा आएको छ । १४ दिनका दिन बिहान सम्म पनि मुटु चल्दैछ भन्दै थियो अस्पताल । एक जना चिकित्सकसंग मोवाइलमा संपर्क गर्दा अस्पतालले जे भनेपनि पर्सन्नल्ली भन्नुपर्दा दीपेन्द्रको ब्रेन डेथ भैसकेको छ अब रिकवर हुदैन भेण्टिलेटर पाइप निकाल्न भन्नुभए हुन्छ त्यसपछि ,,,,,, ।म पनि चादनी मेडमले फोन गर्दा बिहानै काभ्रे पुगिसकेको थिए फर्किन केही समय लाग्यो , अफिसबाट अध्यक्ष डा बिजय पौडेल एवं अन्य साथीहरु , चलचित्र पत्रकार साथीहरु , पहिले सिटीजन रेडियोमा संगै काम गरेका साथीहरु र दोङ परिवार सबै जम्मा भएर अस्पतालबाट प्रक्रिया पु¥याएर निकाल्ने काम भयो । अनि तामाङ संस्कार अनुसार बौद्ध पिपलबोट भित्र तामाङ गुम्वामा मित्र दीपेन्द्रको शब राखिएको छ । लामा गुरुहरुले पाठ गर्ने काम १३ गते सम्म हुने रहेछ । तीन दिन सम्म मुटु चलेकै हुन्छ भन्ने मान्यताका आधारमा तीन दिन सम्म अन्त्यष्टि नगरिदो रहेछ । भर्खर ४४ बर्षको लक्का जवानको शरीर बोल्दै नबोल्ने गरी कपडामा बेरिएर अस्पतालबाट निस्किन्छन भन्ने एक रत्ति पनि सोचिएको थिएन । परिवारको असैह्य पीडा , साथीहरु सबै भाबविह्ल तर के गर्ने जस्तो पनि सहनुपर्दो रहेछ । चांदनी मेडम ११ बर्षको छोरालाई भन्नै सकिएको छैन कसरी भन्ने होला भन्दै छटपटाइरहनु भएको छ । १३ गते बिहान ११ बजे राष्ट्रिय नाचघरमा श्रद्धाञ्जलिका लागि राखेर सोही दिन स्वयम्भूघाटमा अन्तिम दाहसंस्कार कार्यक्रम तय गरिएको जानकारी गराइएको छ । दुई दशक अगाडि नै म नेपाल समाचारपत्र दैनिकको समाचार महाशाखाको नेतृत्वदायी जिम्मेवारीमा रहंदा रहंदै नागरिक समाजका अगुवा डा अर्जुन कार्की , डा नेत्र तिम्सिना , शर्मिला कार्कीले ब्यबस्थापन हेर्नुभएको सिटीजन रेडियोमा उहांहरुको आग्रहमा हप्ताको केही दिन बिहान कार्यक्रम दृष्टिकोण चलाउने गर्थे (हाल म्यानेजमेण्ट परिवर्तन भएपछि सो रेडियोको नाम अन्नपुर्ण भएको छ )त्यतिखेर देखि नै दिपेन्द्रसंग राम्रो दोस्ती गांसिएको थियो । दोङ त्यतिखेरै स्टेशन मेनेजर । पछि समाचारपत्रमा पनि संगै भयौ । अनि बिगत दुई बर्ष यता देखि जनता प्रसारण तथा प्रकाशन लिमिटेडमा म समाचार प्रमुख , मित्र दिपेन्द्र ग्रुप एडिटर एवं रेडियो जनताको स्टेशन मेनेजर । हामी अफिसलाई कसरी राम्रो बनाउन सकिन्छ भन्नेकुरामा निकै घोत्लिन्थ्योै । प्राय अध्यक्षज्यूसंग एक साथ सल्लाह गथ्र्यौ । मित्र दिपेन्द्रलाई चिया निकै मन पर्ने । दिनको जति पटक चिया खान पनि तयार हुने । दैनिक सात आठ पटक त नभई नहुने । म धेरै चिया नखाने तर साथ दिने । जब चिया खान मन लाग्छ मित्र दिपेन्द्रले ए टंक दाई म रेडियो(चारतलामाथि)बाट ओर्लिदै छु चिया जाउं भन्ने । अनि हामी अफिसमै कहिले कर्नरमा जान्थ्यौ । मैले धेरै पटक नखाएपनि संगै जाने गथ्र्यौ । अर्थात अफिसमा मित्र दिपेन्द्र बिना चिया खाइएन नै भन्दा पनि हुन्छ । कहिले अशेष घिमिरे कहिले माधब कार्की समेत साथमा हुन्थ्यौ । पछिल्लो समय मित्र दिपेन्द्रसंग जनता प्रसारण तथा प्रकाशन लिमिटेडमा बिहानको सिफ्टमा मात्र भेट हुन्थ्यो र पनि दिपेन्द्र बाहिर निस्किने बेला चिया खान जाउं भनी हाल्नुहुन्थ्यो । (उहां ढाइ महिना यता देखि सांझको सिफ्ट मध्यान्ह दैनिकको कार्यकारी सम्पादक एवं सिइअओको महत्वपुर्ण भुमिकामा पनि हुनुहुन्थ्या)े कामको लोड बढेको कुराले उहांले केही असहज जस्तो भएको महसुस त गर्नुभएको थियो । फागुनको दोस्रो हप्ता पछि मैले चिया खादै गर्दा धेरै लोड खेप्नुहुंदैन है भन्दा उहांले ठीक छ सल्लाह गरौला दाई भन्नुभएको थियो । यति सम्मकि न्यूज रुममा काम गरिरहेको अबस्थामा दीपेन्द्र अफिस गेटमा आइपुग्दा न्यूज रुमका सहकर्मी साथीहरुले ऊ तपाईको परममित्र आइपुग्नुभो भन्ने पनि गर्नुहुन्थ्यो ।जसरी भनेपनि त्यो वास्तविकता थियो । त्यो मित्रता र सामिप्यता नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल इन्जामा पनि थियो । म इन्जा ग्लोवलको उपाध्यक्ष एवं एशियाको अध्यक्ष छु भने उहां महासचिब हुनुहुन्थ्यो । तीन हप्ता अगाडि मात्रै उहां सहित साथीहरुको सक्रियतामा भब्य रुपमा इन्जा डे सम्पन्न गरिएको थियो । आज त्यो साथी हामी विच हुनुहुन्न भन्न पनि मनले मानेकै छैन । उहांले अन्तिम चिया गफमा यस पटक इन्जा डे कार्यक्रम चार बर्ष यताकै भब्य भयो बसेर समीक्षा गर्ने होइन र भन्नुपनि भएको थियो तर इन्जा डे कार्यक्रमको समीक्षा पनि गर्न नपाउंदै मित्रलाई गुमाउनु परेको छ ।

कोही पनि अजीव त छैन एक पटक जाने नै हो तर त्यो उमेरमा जाने कुरा यति अकल्पनीय भएको छ कि त्यसको कुनै सीमा नै छैन । कुनै रोग लागेर लामो समय देखि थलिएको भए वा उमेर पुगेको भए के गर्ने त भनेर मनले मान्न पनि सक्ने थियो होला । वास्तबमा मित्र दिपेन्द्रको निधनले पत्रकारिता क्षेत्रले एक कर्मठ लगनशील र सक्रिय ब्यबसायिक पत्रकार गुमाएको छ । रेडियो क्षेत्रसंगै चलचित्र पत्रकारितामा उहांको सक्रियता उत्तिकै थियो । पत्रकारितामा बहुआयामिक मित्र दिपेन्द्रको अकल्पनीय निधनले परिवारका लागि त असैह्य र बज्रपात नै भएको छ भने हामी जस्ता साथीहरुलाई पनि स्तब्ध बनाएको छ ।हामीले अति असल मित्र गुमाएका छौ । जनता प्रसारण तथा प्रकाशन लिमिटेडले एक कर्मठ सहयात्री गुमाएको छ ।

यो दुखद एवं अति असैह्य पीडामा रहनुभएका चांदनी मेडम , छोरी र सानो छोरा एवं उहांको परिवारलाई शोकलाई शक्तिमा रुपान्तरण गर्ने शक्ति मिलोस भनी प्राथना गर्दछु । मित्र दीपेन्द्र प्रति हार्दिक श्रद्धासुमन । परिवारजनमा समवेदना । १४ दिनमा २० लाख बढी मेडिसिटीलाई बुझाएर कपडामा बेरेर मित्र दिपेन्द्रलाई शबको रुपमा देख्नुपरेको छ । सरकारी अस्पतालमा बेड खोज्दा पाइदैन । सरकारी अस्पतालकै चिकित्सक पनि निजीमा काम गर्छन् उनीहरुले पनि सरकारीमा पुग्दा यहां गाह्रो छ फलानो अस्पताल लैजानुस भन्न गाह्रो मान्दैनन् । किनकि त्यहां जांदा तिनै चिकित्सक हुन्छन् । त्यो कुरा राज्यलाइ थाहा छ र पनि थाहा नपाए जस्तो गरिएको छ किनकि राज्य संचालकहरुले नै शिक्षा र स्वास्थ्यमा लगानी गरेका छन र सबै भन्दा नाफामुलक ब्यापार नै शिक्षा र स्वास्थ्य भएको छ । आज मित्र दीपेन्द्रको परिवारले बचाउन सकिन्छ कि भनेर आफन्त र सहयोगी मार्फत १४ दिनमा त्यति ठुलो धनराशी खर्च ग¥यो । मेडिसिटीको इक्यूपमेण्ट प्रयोग गरी अप्रेशन गरेपछि त्यसपछिको उपचार शिक्षण अस्पताल र वीर अस्पतालमा पनि हुन्छ भन्ने कुरा भएपछि शिक्षण अस्पतालमा प्रयास गर्दा आइसियुको वेड छैन तर नेताहरु वा उच्चपदस्थ अधिकारीको सोर्स लगाए वेड पाइन्छ भन्ने कुरा अस्पतालकै जिम्मेवार अधिकारीले भने । आर्थिक अबस्था कमजोर भएका र पहुंच नभएकालाई उपचार पाउन पनि गाह्रो हुने मुलुकमा हामी छौ । आर्थिक हिसाबले सम्पन्न भएपनि नेता र उच्च पदस्थ अधिकारी भए राज्यले नै खर्च गरेर पनि उपचार गर्न बिदेश लैजाने गरिन्छ । बिदेश नगइहाले सरकारीमा होइन तिनै ब्यापारिक अस्पतालमा लगेर राज्यको खर्च भरिन्छ ।

अन्त्यमा ,सबैका लागि सर्बसुलभ शिक्षा र स्वास्थ्य भन्ने आवाज मिडिया मार्फत बुलन्द गर्दा गर्देै मित्र दिपेन्द्रको अल्पायुमै निधन भएको छ यदि राज्यका जिम्मेवार निकायले दोङ जस्ता जो कोही नेपाली अकालमा मृत्यु हुंदा उपस्थिति देखाएर वा शब्द मार्फत सच्चा श्रद्धाञ्दलि दिने हो भने नेपाली नागरिकले सर्बसुलभ रुपमा उपचार पाउने ब्यबस्था गर्नुपर्छ । तब मात्र मृतात्मा प्रति सच्चा श्रद्धाञ्जलि हुने छ र पदमा बसेको आफनो जिम्मेवारी पनि पुरा हुने छ त्यहि छ कामना । पुन मित्र दीपेन्द्र तपाईको शरीर हामीवीच नरहेपनि हाम्रो मानसपटलमा सधै अमर रहनुहुने छ ।

बरिष्ठ पत्रकार टंक पन्त जनता टेलिभिजनका समाचार प्रमुख एवं नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल इन्जा एशियाका अध्यक्ष हुनुहुन्छ ।

[email protected]

प्रतिक्रिया